जासुसी क्यामेराले समात्यो रेडपाण्डा तस्कर

जासुसी क्यामेराले समात्यो रेडपाण्डा तस्कर


Red-Panda
रेडपाण्डा तस्करीका घटना वृद्धि हुँदै गएपछि रेडपाण्डा संरक्षणका लागि राखिएको ट्रापिङ क्यामेरा र पासोसहित इलाम माईझुवाबाट प्रहरीले रेडपाण्डा तस्करलाई पक्राउ गरेको छ । विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको चोरी निकासी नियन्त्रणका लागि मावुमा राखिएको आधुनिक क्यामेरा, रेडपाण्डालाई मार्न प्रयोग हुने पासोसहित माईमझुवा–८ का ४२ वर्षीय धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

रेडपाण्डाको आहारविहारका लागि रेडपाण्डा नेटवर्क नेपालले राखेको ट्रापिङ क्यामेरामा राईले पासो थाप्दै र क्यामेरा चोर्दै गरेको दृश्य अर्काे ट्रापिङ क्यामेराले कैद गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) र जिल्ला प्रहरी कार्यालयको सहयोगमा राईलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई हिरासतमा राखेर थप अनुसन्धान सुरू गरिएको बताइएको छ ।

रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्क नेपालको सहयोगमा मावु, माईमझुवा गाविसमा पाँचवटाभन्दा बढी ट्रापिङ क्यामेरा जडान गरिएको थियो । क्यामेरा राखेको थाहा नहोस् भनेर लेन्सबाहेक अन्य भागलाई रूखको टोड्को, झ्याउ आदि कुनै भागमा लुकाएर राखिए पनि तस्करहरूले क्यामेरा लुटेर लैजाने गरेको रहस्यसमेत खुल्न आएको छ । स्मरण रहोस्, इलाम जिल्लाको मावु, जमुना, नयाँबजार, माइपोखरी, माईमझुवा, पुवा मझुवालगायतका सामुदायिक वनमा रेडपाण्डा पाइन्छ ।