बन्दुक समाउने हातले गाउँलेको उपचार

बन्दुक समाउने हातले गाउँलेको उपचार


SAMSUNG CAMERA PICTURES
लमजुङ/ पूर्वीलमजुङस्थित ढोडेनी– ५ का ८० वर्षीय बीबहादुर घले भेडीगोठाला हुन् । उनी प्रेसरको बिरामीले विगत सात वर्षदेखि थला पर्दै आएका छन् । औषधिको अभावमा कहिले त मरेतुल्यजस्तै हुन्छन् । ‘परिवारमा दुई बूढाबूढी मात्रै छौँ । हाम्रो हेरचाह गर्ने कोही छैनन् । उनले भने, ‘म प्रेसरको दीर्घरोगी । सकी–नसकी खोरमा हुलेका भेडा चराउन बारीको पाटामा पुग्छु । तर, प्रेसरका कारण भेडाको फालमा भने कुद्न सक्दिनँ । हिँड्यो कि प्रेसरले धकेलिदिन्छ ।’

जिल्लास्थित पशुपतिप्रसाद गणले ढोडेनीको कीर्तिपुरमा आयोजना गरेको स्वास्थ्य शिविरमा ८० वर्षीय घले चार हातखुट्टा टेकेर प्रेसरको औषधि लिन आइपुगेका थिए । उनले आउनेबित्तिकै प्रेसरको औषधि मागे तर सेनाले जाँच गराएर मात्रै औषधि सेवन गर्न सुझाव दिए । ‘प्रेसरको औषधि मैले चिनेको छु साप †’ घले भन्छन्, ‘मैले विगत सात वर्षदेखि औषधि खाँदै आएको छु । मलाई जाँच्नुपर्दैन ।’

बिबहादुर घले मात्रै होइन, फलेनीका सताराम गुरुङ, ढोडेनीका तुलबहादुर गुरुङको पनि समस्या उस्तै थियो । उनीहरू नेपाली सेनाले गाउँमै अस्पताल ल्याइदिएकोप्रति निकै खुसी भएका छन् । ‘सेनाले दुर्गममा स्वास्थ्य शिविर सञ्चालन गरेकाले हामी गाउँलेलाई निकै सुविधा मिलेको छ,’ फलेनीका सीताराम गुरुङले भने, ‘गाउँमा शिविर आएर समय र पैसा बचेको छ । यसका साथै सबै गाउँलेले राहतको महसुस गर्न पाएका छन् ।’
SAMSUNG CAMERA PICTURES
वैशाख १२ गते गएको भूकम्प, भारतीय नाकाबन्दीका कारण आवतजावतमा समस्या परेको भन्दै पूर्वीलमजुङको ढोडेनी, फलेनी, बन्सारलगायत गाविसका चार सय बढी नागरिकहलाई सेनाले विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको हो । सेनाले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सबाट १८ जना विभिन्न रोगका डाक्टरहरू ल्याएर दुर्गम बस्तीका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको पशुपतिप्रसाद गणका गणपति शुभाङ्गद कटुवालले बताए । ‘गाउँ निकै दुर्गममा भएकोले उपचारका लागि सदरमुकाम बेसीसहर, काठमाडौं, पोखरा, चितवनलगायतका ठाउँमा जान मुस्किल भएकाले शिविरको आयोजना गरिएको हो,’ गणपति कटुवाल भन्छन्, ‘हामीले आगामी दिनहरूमा पनि शिविर सञ्चालन गर्नेछौँ ।’ असहाय र गरिबीको रेखामुनि रहेका बिरामीहरूले नेपाली सेनाले गाउँमै अस्पताल ल्याइदिएकोप्रति खुसी व्यक्त गरेका छन् ।

१० वर्षे माओवादी जनयुद्धकालमा नेपाली सेनाको डरले भाग्ने गाउँलेहरू शान्ति स्थापनासँगै एक–अर्कामा हातेमालो गर्दै अघि बढिरहेका छन् । ‘द्वन्द्वकालमा सेनाको नाम सुन्नेबित्तिकै गाउँलेहरू लल्याङलुलुक भएर घरभित्र लुक्ने कि त जङ्गलतिर भाग्ने गथ्र्यौं,’ ढोडेनी–५ कीर्तिपुरका जितबहादुर घलेले भने, ‘त्यही सेना अहिले बिरामी गाउँलेका लागि औषधि र डाक्टर बोकेर आउँदा अचम्म लागेको छ ।’ विगतमा माओवादी र नेपाली सेना दुवैको दोहोरो मारमा परेका हामीहरू सेनाले औषधि बोकेर ल्याउँदा छक्क परेको गाउँलेहरूको भनाइ छ ।

द्वन्द्वकालीन समयमा बिग्रिएको सम्बन्धलाई पनि स्वास्थ्य शिविरले सुधारेको नेपाली सेनाको भनाइ छ । शिविरमा आएका बिरामीको स्वास्थ्य परीक्षणपछि नि:शुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविरमा ग्यास्ट्रिक, चिसोका कारण हाडजोर्नी दुख्ने बिरामी, आँखा नदेख्ने, महिलाको पाठेघर खस्ने, दाँतसम्बन्धी रोग भएका र प्रेसरका बिरामीका साथै चिसोका एलर्जीका बिरामीहरू अत्यधिक रहेको कलेज अफ मेडिकल साइन्स भरतपुरका डेपुटी डाइरेक्टर डाक्टर राजेशकुमार यादवको भनाइ छ । शिविरमा पशुपतिप्रसाद गणका गणपति शुभाङ्गद कटवाल, सेनानीहरू मनबहादुर लामा, मोहनकाजी श्रेष्ठ, सुनिल घिमिरेलगायतको सक्रिय सहभागिता रहेको थियो ।

– छविलाल बगाले