रवीन्द्रको ‘आइडिया’ चोरे बाबुरामले

रवीन्द्रको ‘आइडिया’ चोरे बाबुरामले


Rabindra-Baburam
बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको ‘नयाँ शक्ति’ले घोषणाको पूर्वसन्ध्यामा रहेको अर्को एउटा नयाँ शक्तिको अवधारणा चोरी गरेको समाचार प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार ख्यातिप्राप्त पत्रकार एवम् समाजसेवी रवीन्द्र मिश्रले निर्माण गर्न लाग्नुभएको नयाँ पार्टीको अवधारणा बाबुराम भट्टराईको नयाँ शक्तिका लागि पूर्वमाओवादी नेता मुमाराम खनालले चोरी गरेका हुन् । मिश्र केही समयदेखि नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा हुनुहुन्छ र यस कार्यमा मिश्रलाई मुमाराम खनालले पनि सहयोग पुर्‍याउँदै आएका थिए । खनालले नयाँ पार्टीको विधान बनाउने जिम्मा मिश्रबाट लिए र उनलाई केही नयाँ ‘टिप्स’ पनि मिश्रले दिनुभएको थियो ।

मिश्रले दिनुभएको सुझावअनुसार बनाइएको विधानमा उम्मेदवारलाई अस्वीकार गर्न पाइने हक (Right to reject) र पदमा पुर्‍याइएका व्यक्तिलाई फिर्ता बोलाउने हक (Right to recall) बारे उल्लेख गरिएको थियो । त्यसैगरी कुनै पनि व्यक्ति एउटा पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने व्यवस्था पनि सो विधानमा गरिएको थियो । मुमारामलाई समेत राखेर नयाँ पार्टी गठनको तयारीमा लाग्नुभएको रवीन्द्र मिश्र त्यसबेला झस्किनुभयो जब खनाल बाबुराम भट्टराईद्वारा गठित ‘नयाँ शक्ति’मा लागेको समाचार सार्वजनिक भयो । खनालसँगै आफूले गठन गर्न लागेको दलको विधानमा उल्लिखित केही महत्त्वपूर्ण अंशहरूसमेत बाबुराम भट्टराईद्वारा गठित पार्टीको अवधारणाका रूपमा सार्वजनिक भएपछि रवीन्द्र मिश्र स्तब्ध हुनुभएको बुझिएको छ ।

प्राप्त समाचारअनुसार बाबुराम भट्टराईले रवीन्द्र मिश्रलाई आफूले गठन गर्ने भनिएको पार्टी ‘नयाँ शक्ति’मा सामेल भएर नेतृत्व लिइदिन पटकपटक आग्रह गर्दै आउनुभएको थियो । मिश्रले विभिन्न कारणवश ‘नयाँ शक्ति’मा सामेल हुन नसक्ने स्पष्ट गर्दै आफूले नयाँ पार्टी गठनको तयारी गरिरहेको जानकारी भट्टराईलाई दिनुभएको थियो । त्यसैताक भट्टराईले मुमाराम खनाललाई पनि आफ्नो पार्टीमा सामेल हुन आग्रह गर्नुभएको बताइन्छ । गत पुस महिनाको मध्यसम्म मुमाराम बाबुरामको पार्टीमा नजाने बताउँदै थिए । रवीन्द्र मिश्रसँग मिलेर नयाँ पार्टी गठनको तयारीमा लागेका खनाल रातारात बदलिन्छन् र बाबुरामको पार्टीमा जान्छन् भन्ने कसैले सोचेका थिएनन् र मिश्रले झन् कल्पनासम्म गर्नुभएको थिएन ।

तर, मुमाराम रवीन्द्र मिश्रलाई धोखा दिएर बाबुरामको पार्टी प्रवेश मात्र गरेनन्, रवीन्द्रको ‘आइडिया’समेत चोरी गरेर भट्टराईसम्म पुर्‍याए । माओवादी आन्दोलनलाई धेरै पहिले नै धोखा दिएको आरोप लागेका मुमारामलाई नजिकबाट चिन्नेहरू उनले रवीन्द्र मिश्रलाई धोखा दिनु सामान्य भएको बताउँछन् । बाबुरामको पार्टीमा मुमाराम खनालजस्ता मात्र होइनन् रामेश्वर खनालजस्ता व्यक्ति पनि सामेल हुन पुगेका छन् । पूर्वसचिव रामेश्वर खनाल तीन वर्षअघि घोषणासहित नेपाली कांग्रेस प्रवेश गरेका थिए । तर, अहिले कांग्रेस छोडेको घोषणा नगरीकन खनाल नयाँ पार्टीका नेता बनेका छन् ।

आफूले तर्जुमा गरेको ‘आइडिया’ अर्काले चोरी गरिदिएपछि रवीन्द्र मिश्रले अब आफ्नो पार्टीमा त्यस्ता नयाँ कुरा के समावेश गर्नुहोला, जिज्ञाशाको विषय बनेको छ । रवीन्द्रले आगामी ६ महिनाभित्र नयाँ चरित्रको राष्ट्रिय पार्टी गठन गर्नुहुने भएको छ ।