बेलायतको उम्मेदवार छनोट बोर्डमा नेपाली

बेलायतको उम्मेदवार छनोट बोर्डमा नेपाली


20 Shivaji Pic
विदेशमा नेपालीको बढ्दो उपस्थितिसँगसँगै विभिन्न पेसामा त्यहाँ स्थापित हुने क्रममा विभिन्न देशको स्थानीय राजनीतिमा पनि नेपालीको बलियो उपस्थिति देखिन थालेको छ । यस परिवेशमा बेलायतमा पनि अहिले स्थानीय राजनीतिमा नेपालीले निर्वाचन नै जितेर अगाडि आइसकेका छन् । सन् २००७ मा पूर्वगोर्खा सैनिक धन गुरुङ लिब डेम पार्टीबाट काउन्सिलरमा निर्वाचित भएपछि सुरु भएको यो अभियानमा अहिलेसम्म नेपालीहरू डेपुटी मेयरसम्म बनिसकेका छन् । विगतमा आफ्नै नेपाली सङ्घ तथा नेपाली राजनीतिक संस्थामा मात्रै सीमित नेपाली डायस्पोरा फरक सोचका साथ अगाडि आउनुलाई सकारात्मक रूपमा लिइएको पाइन्छ । यसैक्रममा अझ एक कदम अघि बढेर नेपाली पनि उम्मेदवार छनोट बोर्डमै छानिएका छन् ।

विगत सन् २०१० देखि बेलायतको लेबोर पार्टीमा संलग्न शिवजी श्रेष्ठ भर्खरै बेजिङस्टोक लेबोर पार्टीको स्थानीय काउन्सिलरका उम्मेदवार छान्ने छनोट बोर्ड सदस्यमा मनोनीत भएका हुन् । वेल्समा हुँदा स्थानीय लेबोर पार्टीको मेम्बरसिप सेक्रेटरी रहेका शिवजी हाल बेजिङस्टोक लेबोर पार्टीको ब्लाक एसियन एथ्निक माइनोरिटी अफिसर (Black Asian Ethnic Minority Officer) प्रमुखको रूपमा कार्यरत छन् भने सोही BAEM प्रमुखको हैसियतले उनी छनोट बोर्डमा छानिएका हुन्, जसको मुख्य काम आगामी स्थानीय निर्वाचनमा लेबोर पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने हो ।