महामहिम श्री वान् कि मुनलाई चिठी !

महामहिम श्री वान् कि मुनलाई चिठी !


महामहिम महासचिवज्यू,
श्री वान् कि मुन
संयुक्त राष्ट्र संघको कार्यालय, न्यूओर्क, अमेरिका ।

विषय : नेपालको बहिरो सरकारमाथि कार्यवाही गराइपाउँ भन्ने बारे ।
>Ban-Ki-Moon
महोदय,

म निवेदक यसै सरहदको कोशी अञ्चल, संखुवासभा जिल्ला, वाना गाविस वडा नं. ७ खप्टुवा निवासी जिम्मावाल स्व. कुलप्रसाद उपाध्याय रेग्मी तथा स्व. कुन्तमाया रेग्मीको छोरा ऐंऐं मा जन्म भए विगत ३९ वर्षदेखि काठमाडौंका विभिन्न गल्ली र टोलहरूमा डेरा बस्दैअएको कवि, स्वतन्त्र पत्रकार, लेखक एवं महाकवि देवकोटाको एक मात्र अनन्य भक्त रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ हुँ । म निवेदकका हकमा भन्दा आम नेपाली जनताका तर्पmबाट तपाइँलाई सम्बोधन गरेर पत्र लेखिरहेंछु, आशा छ पत्रमाथि यथाशीघ्र कार्यवाही हुनेछ र नेपाली जनताले बाँच्न पाउने नैसर्गिक अधिकार प्राप्त गर्नेछन् । बाँच्न पाउने अधिकार भन्नुको अर्थ हो सामान्य रूपमा गाँस, बास र कपासको व्यवस्था । हुन त नेपालको यो आन्तरिक मामिला भए पनि नेपाल संयुक्त राष्ट्र संघको सदस्यराष्ट्र भएका नाताले तपाइँ नेपाल र नेपाली जनताको पनि महासचिव हुनुहुन्छ । नेपाली जनताको पनि अभिभावक हुनुहुन्छ । आफ्नो सदस्य राष्ट्रमाथि मानवीय भावना प्रदर्शन गर्नु तपाइँको पनि कर्तव्य हुन्छ ।

अहिले नेपालीको अवस्था अत्यन्त कष्टकर छ । कैयौंको चूह्लो बलेको छैन । कैयौंको रोजी रोटी खोसिएको छ । एकातिर महाभूकम्पको मार, अर्कोतिर वाम–मण्डले सरकारको नकचरो प्रवृत्तिले हाम्रो बाँच्न पाउने सामान्य अधिकार पनि खोसिएको अवगत गराउँछु । हुन त नेपालमा डलरको खेती गर्ने बग्रेल्ती भाडाका टट्टुसरहका कथित मानव अधिकारवादी (?) संघ, संस्थाहरू भए पनि तिनले आजसम्म डलर नआउने कुरामा बोलेका छैनन् । यिनीहरू गरिबका लागिभन्दा धनी र भ्रष्ट मानिसहरूको सुख, दुःखमा बोलिदिने र डलर पचाउने गर्छन् । त्यसो त अहिले नेपालमा पागल मानिसहरूले शासन गरेको गरिरहेका छन् भन्दा अत्युक्ति नहोला । यस्ता पागलहरूले शासन गर्नु भनेको संसारका लागि उपहास पनि हो । यस्तो उपहासपूर्ण रबैया हेरेर बस्नु तपाइँ र संयुक्त राष्ट्र संघका लागि पनि लाजमर्दो विषय हुनुपर्ने हो । पागललाई पागलखानामा राख्नुपर्नेमा सत्तामा पु¥याइएकाले नेपाली जनता खाने, लाउने र बस्ने व्यवस्थाविहीन बनेको यथार्थ निवेदन गर्दछु । कमसे कम तपाइँले नेपालको पागल सरकारलाई अथवा वाम–मण्डले सरकारलाई आफ्ना जनताको बारेमा केही गर्न दबाब दिनुहुनेछ भन्ने आशाले यो पत्र प्रकाशित गराउनु उत्तम हुन्छ भन्ने लागेको छ । साथै संसारका सबैको ध्यान नेपाली जनताको दयनीय अवस्थाप्रति जाओस् भनी एक पत्रकारका नाताले ध्यानाकर्षण गरेको हुँ ।

हुन त नेपालमा डेढ सयको हाराहारीमा पार्टीहरू भए पनि तिनीहरूमा प्रायः लुच्चा, फटाहा, पागल, शोषक तथा विदेशी दलालहरूको वर्चस्व छ । यिनीहरू विदेशीका भेडा, बाख्राभन्दा माथिल्लो हैसियत राख्तैनन् । प्रायः यिनीहरूको काम चन्दा उठाउनु, विदेशीको ईशारामा चल्नु र आरामपूर्वक जीवन चलाउनु बाहेक कतै केही देखिँदैन । अर्काथरि सधैँ सर्वहाराको खेती गर्ने र नेपाललाई ईशाईकरण गरेर जनतालाई कंगाल बनाउने बग्रैल्ती भाडाका कम्युनिष्टहरू पनि छन् । विशेष गरी पश्चिमाहरूले यिनलाई डलर प्रदान गरेर नेपाललाई धर्मविहीन, मानवताविहीन र भ्रष्ट बनाउन धेरै डलर खर्चेको हुँदा नेपाल आज राष्ट्रिय पहिचान नभएको देश बनिरहेको छ । तिनै पश्चिमाहरूले बाम–मण्डले सरकार स्थापना गराउन प्रजातन्त्रवादी शक्तिलाई पाखा लगाउँदै गरेको अवस्था छ । यही वाम–मण्डले सरकारबाट नेपाली जनता जाँतोमा घून पिसिएझैँ पिसिनु परिरहेको व्यहोरा अवगत गराउँछु । यतिबेला विगतमा डन (गुण्डका नाइके) हरूलाई पार्टीमा सामेल गराउने व्यक्तिको पहलमा १७ हजार नेपालीको रगतमा ढाडिएको ब्वाँसो पार्टी र प्रजातान्त्रिक शक्तिमाथि गुण्डागर्दी गरेर तेजोवध गर्ने मण्डलेहरूको सरकारमा वर्चस्व छ । अरु साना, मसिना झुण्ड भनेका यिनका रखेल आइमाई जस्तै हुन् । अर्थात् यिनले जता सुतायो त्यतै सुत्छन् । यस्ताको सरकार भएकाले अहिले नेपालको राजधानीमा अन्धकार छ । दैनिक दिउँसो आधा घण्टा पनि बिजुली आउँदैन । पिउने पानी छैन । कालोबजारी र महँगी आतंक डरलाग्दो छ । बजारमा कृत्रिम अभाव गराइएको छ । तेल र ग्यासको वितरण लगभग ठप्प छ । कालोबजारमा भने छ्यास्छ्यास्ती पाइन्छ ।

पैसा हुनेले १ सिलिण्डर ग्यासको कम्तीमा ५।६ हजारमा खरिद गर्नुपरेको छ । पेट्रोल पनि प्रतिलिटर ३ वा ४ सय तिरेर प्रयोग गर्नुपरेको छ । यी सबै सर्वसाधारणको पहुँचभन्दा बाहिरका कुराहरू भएका छन् । नेपाल आयल निगमले चरम तस्करी गरिरहेको आम सञ्चारले लेखिआए पनि हुट्टिट्याउँजस्तो सरकारले पटक्कै सुनेन । आमजनताले भने हप्तामा प्रायः ५।६ दिन भोकै बस्नुपरेको छ । बिजुलीबाट चल्ने हिटर, इण्डक्सन, राइसकुकर हप्तामा २ दिन पनि राम्ररी बल्न पाउँदैनन् । दाउरामा समेत कालोबजारी व्याप्त छ । भारतबाट पहिलेको तुलनामा आयात ३ दोब्बर भए पनि बजारमा सर्वत्र अभाव र हाहाकार मच्चाइएको छ । जनतालाई भोकभोकै मार्ने नियतले वितरण प्रणालीसमेत छैन । सामानको अभावमा उत्पादनसमेत ठप्पजस्तै छ । बिजुली नहुँदा कम्प्युटर चल्दैनन्, हामीजस्ता कम्प्युटरजीवी पनि बेरोजगार हुनुपरेको छ । प्रेसजगत्माथि वाम–मण्डले कालो छाया मडारिएको छ । यस्तो लाग्छ अहिले नेपालमा भूतले शासन गरिरहेको छ । जनताको अवस्था लेखिदिने वा बोलिदिने कोही पनि छैन । लबस्तरा र नकचराले शासन गरेको अनुभूति हुन्छ । सरकारमा बस्नेहरू कमिसन खाएर मस्ताराम छन् । उद्योग, कलकारखाना चलेका छैनन् । ज्याला मजदूरीमा बाँच्नेहरू भोकै सडकमा सुत्नुपरेको छ । बालबालिका पठन पाठनबाट बञ्चित हुनु परिरहेको छ । पत्रपत्रिका र सञ्चारले जति लेखे वा प्रचार गरे पनि बहिरा र अन्धाहरूको सरकारले पटक्कै सुनेन । कमसे कम तपाइँले जनतामारा सरकारलाई दबाब दिनु भए नेपालीको बाँच्न पाउने हक प्राप्त हुने थियो कि भन्ने लागेर नेपालको वर्तमान अवस्थाबारे अवगत गराएको हुँ ।

मानवताविरोधी वर्तमान वाम–मण्डले सरकारले नेपाली जनतालाई भोकभोकै मारेको विषयमा म चेतनशील नागरिकको हैसियतले संयुक्त राष्ट्र संघ र विश्व जनसमुदायको ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल र नेपालीमाथि जघन्य अपराध गर्ने वर्तमान सरकारलाई मानवताविरुद्धको अपराधमा अन्तर्राष्ट्रिय कानूनवमोजिम कार्वाही गर्न, गराउन महमहिम महासचिवको पहल होस् भन्ने अभिप्रायःले यो पत्र प्रकाशित गराउन बाध्य भएको छु । यदि सदस्य राष्ट्र माथि संयुक्त राष्ट्र संघको दायित्व हुँदैन भने माफ पाउँ । अन्यथा नेपाली जनतालाई कृत्रिम अभाव गराएर वा महँगी आतंक मच्चाएर मानवताविरोधी कार्य गर्ने वर्तमान वाम–मण्डले सरकारलाई कार्यवाही गरी प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गराउन महामहिमले आवश्यक पहल गरिदिनु हुनेछ भन्ने विश्वासले यो पत्र प्रकाशित गराएको छु । भूलचूक भए माफी पाउँ । नभए पागल सरकारमाथि कार्यवाही गराइपाउँ ।
Ratnanidhi Regmi

संयुक्त राष्ट्र संघमाथि विश्वास र भरोशा राख्ने पीडित कवि एवं ज्योतिर्विद
– रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, (हाल : बेघर)