सुशील छोडी शेरबहादुरतिर जानेको लर्को

सुशील छोडी शेरबहादुरतिर जानेको लर्को


कष्टमा कोइराला परिवार
susil 5

एक महिनापछि सुरु हुने नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनको लागि प्रतिनिधि चयन कार्य यसै साताबाट प्रारम्भ हुँदै छ । माघ १५ गते शुक्रबार गाउँ र नगरस्तरको सम्मेलनबाट क्षेत्रीय प्रतिनिधि चुनिएपछि माघ २२ गते हुने क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको छनोट गर्नेछ । महाधिवेशनमा करिब तीन हजार तीन सय प्रतिनिधिको सहभागिता रहनेछ ।

माघ २२ गते देशव्यापी रूपमा हुने क्षेत्रीय अधिवेशनले प्रतिनिधिहरूको टुङ्गो लगाइसकेपछि केन्द्रीय सभापतिमा को विजयी बन्नसक्छ भन्ने कुराको अनुमान गर्न सकिने स्थिति छ । अहिले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सुशील कोइरालाले डा. सशाङ्क कोइरालाको निम्ति सभापतिमा पुन: उम्मेदवारी दिनुपर्ने आवश्यकता बोध गरेका भए पनि उनले महाधिवेशन प्रतिनिधिहरूको सङ्ख्यात्मक अवस्थाको अध्ययन गरेपछि मात्र निर्णय लिने सोच बनाएका छन् । आफ्नो पक्षमा प्रतिनिधि सङ्ख्या बढी देखिए वा प्रतिस्पर्धा गर्न सकिने स्तरको सङ्ख्या पुगे कोइराला पुन: सभापतिमा उम्मेदवारी दिन तयार हुने भएका छन् । देउवा र पौडेलसँगको प्रतिस्पर्धामा आफू दोस्रो बन्ने विश्लेषण गरेर बसेका कोइरालाले रामचन्द्र पौडेल तेस्रो हुने ठानेका छन् । तर, वास्तविकता कोइरालाले सोचेभन्दा केही भिन्न देखिएको छ । तीनजना उम्मेदवार बनेको अवस्थामा पनि दोस्रो पौडेल र तेस्रो स्थान सुशील कोइरालालाई मिल्ने सम्भावना छ ।
deuba-koirala-

कोइरालाले रामचन्द्र पौडेललाई संसदीय दलको नेता र त्यस्तै कतिपय प्रलोभन दिएर सभापतिमा उम्मेदवारी दिनबाट पछि हटाउने योजना बनाएका छन् । कुनै ‘अफर’ले पनि पौडेललाई प्रभावित गर्न सकिएन र उनी सभापतिको उम्मेदवार बनिछाड्ने भए भने उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यजस्ता पदहरूमा आफ्ना मानिसलाई चयन गर्ने र पौडेललाई एक्लो तथा कमजोर सभापति बनाएर राख्ने विकल्पमा पनि कोइरालाहरूले सोचिराखेका छन् । कोइराला परिवारका सदस्यहरूमध्ये सुशील कोइराला सभापतिका दाबेदार छन् भने डा. सशाङ्क कोइराला उपसभापति पदका, डा. शेखर कोइराला महामन्त्री र सुजाता जोष्ट पनि महामन्त्री पदकै दाबेदारका रूपमा अगाडि आएका छन् । नेता डा. रामशरण महत र गणेशमानपुत्र प्रकाशमान सिंहलाई उपसभापति या महामन्त्रीको जिम्मेवारी प्राप्त नभएको अवस्थामा उनीहरूको साथ कोइरालाहरूलाई हुनसक्ने सम्भावना कमै मात्र छ । त्यस्तै कृष्ण सिटौला, गगन थापा, नरहरि आचार्य र महेश आचार्यलगायतलाई कोइरालाले कसरी व्यवस्थापन गर्ने हुन्, त्यो पनि चुनौतीको रूपमा देखिएको छ ।
sher_bahadur_deuba_
महामन्त्री कृष्ण सिटौला सुशील कोइरालासँग टाढिएको, शेरबहादुर देउवासँग निकटतम् सम्बन्ध कायम भइनसकेको र रामचन्द्र पौडेलसँग पनि विश्वासपूर्ण सम्बन्ध नरहेकोले यसपटक उनले कसैको साथ लिएर पदाधिकारी बन्न पाउने स्थिति छैन । आफ्नो ‘प्रतिष्ठा’ रक्षाका निम्ति सभापति पदमै उम्मेदवारी दिनुपर्ने बाध्यतामा सिटौला रहेका छन् । सिटौलाको उम्मेदवारीले कोइरालालाई केही हदसम्म क्षति पुर्‍याउने अनुमान गर्न सकिन्छ । यसरी सिटौला आफैँ सभापतिको उम्मेदवार बन्नुपर्ने अवस्थामा रहे पनि पौडेलसमेत सभापतिको उम्मेदवार भएको अवस्थामा हालको संस्थापन पक्षका केही नेताहरू पौडेलको टिममा ‘एडजस्ट’ हुन सक्नेछन् । पदीय जिम्मेवारी बाँडफाँडका दृष्टिले कोइरालाभन्दा देउवा निकै सहज स्थितिमा छन् । महामन्त्री पदका दाबेदार रहँदै आएका विमलेन्द्र निधिले ‘देउवा सभापति बन्ने अवस्थामा आफू कुनै पनि मूल्य चुकाउन तयार रहेको प्रतिबद्धता जाहेर गरेपछि उपसभापति र महामन्त्री पदमा व्यक्तिहरूको छनोट गर्न देउवालाई सजिलो भएको छ । देउवाको महामन्त्रीमा डा. रामशरण महत या अर्जुननरसिंह केसीमध्ये एकले उम्मेदवारी दिनसक्ने सम्भावना छ । पछिल्लो चरणमा नेता केसी देउवासँग विशेष निकट पुगेको बुझिएको छ ।

सुशील कोइरालालाई उनको विगतका समर्थकहरूमध्ये अधिकांशले साथ छोडेको या छोड्ने स्थितिमा रहेको बुझिन्छ । कोइराला आफैँले टिममा राखेर जिताएका या मनोनीत गरेका कतिपय केन्द्रीय सदस्यहरूले उनको साथ छोडिसकेका छन् । कोइरालाले मनोनीत गरेका महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, केशवकुमार बुढाथोकी, चन्द्र भण्डारी, श्याम घिमिरेलगायतले कोइरालाको साथ छोडिसकेका छन् । नेता लक्ष्मणप्रसाद घिमिरे कोइराला परिवारको निकटतम् सहयोगीका रूपमा चिनिन्छन् । यसपटक घिमिरे पनि कोइरालालाई सघाउन सक्ने अवस्थामा छैनन् । घिमिरेको साथ पनि देउवालाई नै हुन सक्ने सम्भावना बढेको छ । त्यस्तै युवानेता डा. अमरेशकुमार सिंहले पनि यो महाधिवेशनमा सुशील कोइरालालाई समर्थन नगर्ने निश्चित छ । डा. सिंहले कोइरालालाई हराउन सक्ने नेतालाई सभापतिमा सहयोग गर्ने सोच बनाएका छन् । सिटौलाले के गर्छन् भन्ने टुङ्गो नभए पनि अन्य नेताहरूले देउवालाई साथ दिने भएका छन् । अन्य केही कोइराला समर्थकहरूले पनि देउवासँग नजिकिने प्रयास गरिरहेका छन् । समग्रमा तेह्रौँ महाधिवेशन वरिष्ठ नेता देउवाको निम्ति अनुकूल रहने देखिएको छ । पदाधिकारी चयनमा उनले साठी र चालीस प्रतिशत भागबन्डाको परम्परालाई चिर्ने विश्वास गरिएको छ । यदि त्यसो गरे भने देउवा कांग्रेसको एकछत्र नेता बन्नेमा शङ्का गरिरहनुपर्ने छैन ।

कसको टिम कस्तो ?

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा सभापति पदका सम्भावित प्रमुख उम्मेदवारहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल र सुशील कोइरालाले आफ्नो महामन्त्री, उपसभापति, कोषाध्यक्ष र सहमहामन्त्रीमा कसलाई चयन गर्लान् भन्ने जिज्ञाशा सर्वत्र पैदा भएको छ । उपसभापति र महामन्त्री बन्ने योग्यता पुगेका कुल एक दर्जन नेतामध्ये कसको कोसँग गठबन्धन बन्ने हो अहिले नै भन्न सकिने स्थिति छैन । तथापि अहिलेको अवस्थामा निम्नानुसारको टिम बन्न सक्ने सम्भावना प्रबल रहेको छ ।

शेरबहादुर देउवा :
शेरबहादुर देउवा (सभापति), खुमबहादुर खड्का (उपसभापति), अर्जुननरसिंह केसी (महामन्त्री), विमलेन्द्र निधि (महामन्त्री), लक्ष्मणप्रसाद घिमिरे वा पुष्पा भुसाल (कोषाध्यक्ष), पूर्णबहादुर खड्का वा लक्ष्मणप्रसाद घिमिरे (सहमहामन्त्री),

रामचन्द्र पौडेल :
रामचन्द्र पौडेल (सभापति), डा. रामशरण महत (उपसभापति), डा. शेखर कोइराला (महामन्त्री), नरहरि आचार्य (महामन्त्री), नवीन्द्रराज जोशी (कोषाध्यक्ष), दिलेन्द्र बडू वा पद्मनारायण चौधरी (सहमहामन्त्री)

सुशील कोइराला :
सुशील कोइराला (सभापति), डा. सशाक कोइराला (उपसभापति), प्रकाशमान सिंह (महामन्त्री), सुजाता जोष्ट (महामन्त्री), फर्मुल्लाह मन्सुर/महेश आचार्य (कोषाध्यक्ष),