शिक्षण अस्पताल द्वन्द्व भूमिमा परिणत हुनसक्ने

शिक्षण अस्पताल द्वन्द्व भूमिमा परिणत हुनसक्ने


अनशनविरुद्ध अनशनको तयारी

स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विभिन्न माग राखी डा. गोविन्द केसी आमरण अनशनमा बस्न लाग्नुभएको खबर सार्वजनिक भएलगत्तै मनमोहन अस्पतालले विशेष साधारणसभा आयोजना गर्‍यो । सहकारी स्वास्थ्य संस्थाको रूपमा रहेको सो अस्पतालका दुई हजार चार सय सेयर सदस्यमध्ये करिब सात सय जनाले सोमबार (माघ ११ गते) आयोजित साधारणसभामा सहभागिता जनाएका थिए । डा. केसीविरुद्ध पर्चासमेत वितरण गरिएको सो सभामा स्त्रीरोग विशेषज्ञ डा. उमाकान्त भट्टराईले आफू गोविन्द केसीको अनशनका विरुद्ध अनशन बस्ने तयारीमा रहेको जानकारी गराएका थिए । त्यसरी केसीविरुद्ध अनशन बस्ने घोषणा हुँदा सहभागीले ताली बजाएर भट्टराईको समर्थन गरेका थिए ।
शिक्षण अस्पताल
डा. भट्टराईलाई अनशनमा राख्नका लागि सोमबार साँझ मनमोहन अस्पतालका सेयर सदस्यहरू शिक्षण अस्पताल पनि पुगेका थिए । त्यहाँ पुगेपछि उनीहरूले डा. केसी आमरण अनशनमा बस्ने मिति सरेको थाहा पाएका थिए र जुन दिन केसी अनशनमा बस्नेछन् सोही दिनदेखि डा. भट्टराईले पनि केसीविरुद्ध शिक्षण अस्पतालमै अनशन बस्ने जानकारी अस्पताल प्रशासनलाई उनीहरूले गराएका छन् । यसले निकट भविष्यमा द्वन्द्व भूमिमा परिणत हुनसक्ने सम्भावना बढाएको छ । काठमाडौं उपत्यकाबाहिर मेडिकल कलेज विस्तार गर्ने उद्देश्यप्रेरित माग लिएर आमरण अनशनमा बस्दै आएका डा. गोविन्द केसीको आन्दोलनका कारण मनमोहन मेडिकल कलेजले स्वीकृति पाउन सकेको छैन । करिब दुई अर्ब ऋण रहेको सो अस्पतालले मेडिकल कलेज सञ्चालन गर्न नपाएका कारण करोडौँ घाटा व्यहोर्नु परिरहेको छ ।