नेपालको प्रशंसामा धानिएको सैद्धान्तिक तथा नीतिगत पक्षहरु –प्रकाश के.सी.

नेपालको प्रशंसामा धानिएको सैद्धान्तिक तथा नीतिगत पक्षहरु –प्रकाश के.सी.


award-mahat02द व्यांकर म्यागाजिनमार्फत विश्व तथा एसिया प्यासिफिक वर्ष अर्थ मन्त्री २०१६: पूर्वअर्थ मन्त्री डा. रामशरण महत
महेन्द्र महर्जनको काठमाण्डौ टोखास्थित दुई तले घर जस्ताको त्यस्तै छ । पल्लो घरको भित्तालाई आड पारेर खडा गरेको उनको घरको उनको आफ्नो भागको भित्ता चर्किएको छ, बाहिरबाट नदेखिएको सो चिराले भने महर्जन परिवारलाई धेरै सताएको छ । भित्रबाट सिमेन्टले दुरुस्तै पारेको भए तापनि घर बलियो भने पक्कै नै भएको छैन र सो घरलाई भत्काएर अर्को बनाउने खासगरी उनले त सपनामा पनि चिताएका छैनन् । काठमाण्डौ नगरपालिकामा भत्काउनु परेको सूचीमा नपरेको आफ्नो घरलाई मर्मत सम्भारको सहयोग मिल्नेमा उनलाई त्यसैले विश्वासै छैन । तथ्यांकअनुसार, गत अप्रिलमा गएको भूकम्पले नेपालमा ५०५,००० भन्दा बढी घरहरु पूर्ण रुपले ध्वस्त भएकाछन् भने २७९,००० भन्दा बढी घरहरु भत्किएका छन् । ८,७०० जना मानिसहरुको जीवन लिएर गएको सो भूकम्पले लगभग २२,००० जनालाई घाइते पनि पारेको छ । शारीरिक घाउ मात्र नभई मानसिक तथा भावनामा पारेको घाउहरुको त कतै गणना नै छैन ।

earthquake-ktmगोर्खाका बलबीर तामांगको बेलायतस्थित परिवारले वृद्ध आमाबाबालगायत कान्छो भाइ र भर्खरै विवाह गरेर भित्र्याइएकी कान्छी बुहारीलाई पुख्र्यौली घरसहित गुमाएका छन् । नेपालमा खिँच्ने धागो नै पूर्ण रुपमा चुँडिएको थियो बेलायतस्थित बलबीर परिवारको । भत्किएर खण्डहर बनेको घरको तस्वीरहरु फेशबुकमा अपलोड गरेर फगतको सहानुभूति होइन, सायद आफूले गुमाएका परिवारसँग अदृश्य रुपको सम्वन्धलाई कायम राख्ने धोको राख्दा हुन् । चिराचिरा परेको गाउँको जग्गाहरु बेचेर आउने उनको प्रयासले मूर्त रुप लिएको छैन । चिरा परेको जग्गामा पैसा हाल्न सक्ने व्यक्तिको अभावमा उनको खण्डहर बनेको घर, जग्गा अनि जमीनले समाजिक सञ्जालमा तस्वीरको रुप मात्र पाएको छ र त्यसैको फलस्वरुप मन र मस्तिष्कभरि चहराउने घाउ भएको छ, बलबीरको परिवारलाई ।

काठमाण्डौकी सुमिता सिंह आफ्ना केही सँगीहरुसँग मिलेर भर्खरै सिन्धुपाल्चोकबाट भारततिर बेच्नको लागि लगिएका ९ जना बालिकाहरुलाई उद्द्धार गरेर काठमाण्डौमा भाडामा लिइएको एक घरमा राखेकी छिन् । बेलायतको सानो भ्रमणमा आएकी सुमिता, आफ्नो लगेजभरि उनै बालिकाहरुका लागि न्यानो लुगाहरु तह लगाएर राख्दै गरेकिछिन् । अर्को हप्ता, बेलायतको आफ्नो छोटो बसाइ सकेर जाँदै गरेकी सुमिता र उनका सँगीहरुलाई कुनै सरकारी वा विदेशी सहयोग छैन, समस्यामा परेकाहरुलाई सहयोग गर्न सक्ने आफ्नो हालात दिने भगवानलाई आफूले सँधै विश्वास गर्दै कर्म गर्दै जाने सुमिता आफ्नो दृढता बताउँछिन् ।

bhookampaनब्बे सालको महाभूकम्प पछिको सबैभन्दा ठूलो भएको गत सालको अप्रिलमा गएको भूकम्प हुन त धनमाल तथा ज्यान तथा रेक्टर स्केलको मापमा संसारमा बितेका समयहरुमा गएको भन्दा ठूलो होइन, तथापि यही महाभूकम्पपछि नेपाललाई सहयोग अन्य देशहरुलाई भन्दा ज्यादा गरिएको छ विदेश तथा विदेशी संघसंस्थाहरुबाट । संसारभरि भूकम्पपछि नेपाललाई सहयोग गर्ने, एक किसिमको होड नै चलेको थियो । यही क्रममा, धेरै संघसंस्थालगायतका सांस्कृतिक अनि साँगीतिक कार्यक्रमका आयोजकहरुले भूकम्प पीडितहरुका लागि भनी कार्यक्रम गर्दै आफ्नै ढुकुटी पनि भरेका छन् र त्यो क्रम एकातिर कायमै छ । पूर्व अर्थमन्त्री रामसरण महतको विशेष अगुवाइमा गत सालको जुन पच्चीसमा काठमाण्डौमा लगभग तीन सय विदेशी प्रतिनिधिहरुका सहभागितामा सम्पन्न भएको अन्र्तराष्ट्रिय डोनर्स कन्फेरेन्समा ४.१ बिलियन अमेरिकी डलर बराबरको सहयोगको कबोल गरिएको थियो, जुन निक्कै नै सराहनीय थियो । सो सहयोगबाट लगभग १४ प्रतिशत मात्र नेपाल सरकारले हासिल गरेको छ । एक विवरणअनुसार, ६.७ विलियन अमेरिकी डलर बराबरको खर्च लाग्ने बताइएको नेपाल पुनर्निर्माणमा देश विदेशका संघसंस्थालगायत राष्ट्रहरुबाट प्राप्त भएको रकमलाई सही ठाउँमा लानको लागि सरकारले कुनै प्रकृया बाँकी नराख्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट नेपाल सरकारप्रमुखको हैसियतले गरिएको दृढताको बावजुद दाताहरुबाट कबोल गरिएको रकमहरु उपलब्ध नगराइनुमा नेपालको वर्तमान अस्थीर राजनीतिक अनि सामाजिक अवस्था रहेको छ । बितेको चार महिनाबाट नेपालको दक्षिणी भाग अशान्त छ । तराईकाे विषम राजनीतिक अवस्थालाई छिमेकी राष्ट्र भारतबाट एक खेलको रुपमा खेलिएको छ, जसको चर्चा सार्वजनिक रुपमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले गरिसकेका छन् । लगातारले नेपालका दक्षिणका नाकाहरुमा भएको व्यवधान र नाकावन्दीले गर्दा मुलुकमा इन्धन तथा दैनिक उपभोग्यका वस्तुहरुलगायत औषधिहरुको अभावले समस्याको सुजना भएकाे छ । इन्धनको अभावमा यातायातमा परेको समस्या एकातिर व्यापक छ भने ग्यास तथा मट्टीतेलको अभावमा सर्वसाधारणहरुका घरमा एक छाक मात्र पाक्ने गरेको महिनौं भएको छ । तर हुनेखानेहरुका लागि कालो बजारीयामार्फत उपलब्ध हुने ती वस्तुहरुका उपयोगले गर्दा नेपालमा देख्न सकिने गरी समस्या नभएको देखिएको छ । यसैलाई उद्धृत गर्दै पूर्व अर्थमन्त्री रामशरण महतले बेलायतमा भनेका छन् — “….हेर्नुस्, चार महिना भइसक्यो, नेपालमा इन्धन, ग्यासलगायतका वस्तुहरुको उपलब्धतामा नाकाबन्दी भएको, यस्तो अवस्था यहाँ हुँदो हो त, कल्पना गर्नुहोस्, बेलायतको आर्थिक अवस्था के होला ? नेपालको आर्थिक अवस्थामा अनि सामाजिक अवस्थामा केही खासै फरक परेको छैन । हामीमा सार्मथ्य छ ।”

sindhuगत महिना, सिन्धुपाल्चोक जिल्लाका छ जनाको ज्यान गएको छ, जाडोले गर्दा, ती मृतकहरु उही भूकम्प पीडितहरु थिए । गाँस र बासको व्यवस्था मिलाउन नसकी, भूकम्पका ती पीडितहरुका ज्यान गएको छ । मानवीयतामा हनन गरिने गरी अघोषित रुपमा गराइएको भारतद्वाराको नाकावन्दीलाई औपचारिकरुपमा अन्तर्राष्ट्रियकरण गर्न नसक्नु नेपालको निरीहता एकातिर देखिएको छ भने अर्कोतिर, आन्तरिक राज्य व्यवस्थामा न्यायीकरण गर्न नसक्नु सरकारको लाचारी भेटिएको छ । एक क्षेत्रको समस्याले अर्को क्षेत्रका नागरिकहरुलाई भुक्तभोगी बनाउन नदिन सरकार समर्थवान रहेन । देशको विषम परिस्थितिमा आफ्नो जातीय तथा क्षेत्रीय हक र हितको लागि आन्दोलन गर्नेहरु र तिनका त्यही अभीष्टलाई आफ्नो राजनीतिक लक्ष बनाउने राजनैतिक पार्टीहरुका अमानवीय व्यवहारले गर्दा भूकम्प पीडितहरु झन् ज्यादा पीडित हुने अवस्था रहेको छ । यसै क्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महत बेलायतमा फाइनान्सियल टाइम्सको द व्यांकर माषिक पत्रिकाबाट हरेक वर्ष प्रदान गरिने विश्व वर्ष अर्थमन्त्रीको अवार्ड, यही मंगलबार, फाइनान्सियल टाइम्सको लण्डनस्थित कार्यालयमा पत्रिका सम्पादक लायोनल बार्बर र द ब्यांकरको एसिया सम्पादक स्टेफानीया पाल्माको हातबाट प्राप्त गरेका छन् । — “..अर्थमन्त्रीको काम, मुलुकमा आर्थिक संकलनको राम्रो तर्जुमा गर्नु, त्यसको राम्रो सदुपयोग गर्नु, आर्थिक वृद्धि गर्नु र त्यसको सही समायोजन गर्नु पर्दछ । छोटो समयमा विदेशी कुटनीतिज्ञहरुको असहमतिबिना नेपालमा नै अन्तर्राष्ट्रिय सहयोग दाताहरुको कन्फरेन्स गराएर कबोलित सहयोग जुटाउनुलाई अन्तर्राष्ट्रिय बडीबाट सराहनीएकोलाई म नेपालको लागि पनि निक्कै उपलब्धीमुलक भएको मान्दछु” भनेका छन् ।

award-rsmनेपालमा ती सहयोगहरुको वितरणमा भइरहेको ढिलाइ, र त्यही ढिलाइमा पीडितहरुले पाएको अथाह पीडालगायत सांस्कृतिक तथा सामाजिक रुपमा भएको अव्यावहारिकतालाई सम्झने हो भने तपाईँ उक्त अवार्ड वास्तवमै सही मूल्यांकन हो भन्ने ठान्नुहुन्छ ?” भन्ने प्रश्नमा अगाडि भन्दछन् — “….हेर्नुस्, आर्थिक सहयोग जुटाउने काममा मबाट कमी भएको होइन, मेरो पालाको सरकारबाट कमी कमजोरी भएको होइन, तर यो सरकारले सो संकलनको वितरण गर्ने वातावरण बनाउन सकेन, रकमको सही सदुपयोग गर्न सकेन । यो अवस्थामा पनि नेपालले नयाँ संविधान पाएको छ तर दुर्भाग्य हो, त्यसैको प्राप्तिमा तराई बितेको चार महिनाबाट आन्दोलनरत छ, त्यसको समाधानमा यो सरकार सफल भइरहेको छैन । तर मेरो टिम र उपलब्ध साधन र श्रोतको सही उपयोग गरी जुन किसिमले हामी तदारुकता देखाएका थियौं र जुन परिमाणमा हामीले आर्थिक सहयोगहरु हासिल गरेकाथियौं, त्यसको अन्तर्राष्ट्रिय समुदायबाट मूल्यांकन भएकोलाई म सही मान्दछु ।” सन् १८८४मा बेलायतबाट छापिन लागेको फाइनान्सियल टाइम्सले मुख्य रुपमा अन्तर्राष्ट्रिय आर्थिक गतिविधिहरुलाई आधार बनाएर सन् १९२४बाट द व्यांकर नामको माषिक पत्रिकाको प्रकाशन लण्डनबाट गर्न थालेको हो, जसको पाठकहरु १८० देशहरुमा रहेको बताइएको छ । हरेक वर्ष जनवरीमा प्रदान गरिने विश्व अर्थ मन्त्री अवार्ड एक विश्वसनीय र प्रशंसनीय अवार्ड मानिन्छ । भारत सरकारको छात्रवृत्तिमा गएर सन् १९७९मा भारतको पुनेस्थित गोख्ले इन्स्टिच्युट अफ इकोनोमिक्सबाट पीएचडी गरेका महतले नेपाली काँग्रेसको तर्फबाट सन् १९९१मा नुवाकोटबाट चुनाव लडेका थिए । हार हासिल भए तापनि तब प्रधानमन्त्री चुनिएका गिरिजा प्रसाद कोइरालाको आर्थिक सल्लाहकारमा नियुक्त भएका महतले अर्कोपटक चुनावमा नुवाकोटबाटै सफलता प्राप्त गरी पहिलोपटक शेरबहादुर देउपाको प्रधानमन्त्रीत्वमा अर्थ मन्त्री पद सम्हालेका थिए । लगातार पाँचपटक अर्थमन्त्री बनेका डा.महतले पछिल्लोपटक सुशील कोइरालाको प्रधानमन्त्रीत्वमा गरेको लगभग एक वर्ष अवधिको अर्थमन्त्रीको कार्यकालमा गएको महाभूकम्प र तिनको कार्यालयले निभाएको कार्यकुशलताको अन्तर्राष्ट्रिय दृष्टिकोणमा उत्कृष्ट देखिएको हो ।

award-ceremonyप्राकृतिक विपतको समयमा समाज तथा देशलाई व्यवस्थित गर्नु भनेको तत्कालीन सरकार तथा व्यवस्थापकहरुको शक्ति परीक्षणको समय हुनु हो भनिन्छ । गत वर्ष, नेपालमा आएको ७.८ रेक्टर स्केलको महाभूकम्प मात्र एक परीक्षणको घडीको रुपमा मुलुकमा थिएन, देशलाई बाह्रौं वर्षदेखिको अन्यौलतालाई नयाँ संविधानको आधारले व्यवस्थित गर्नु पनि अर्को सायद सशक्त खालको परीक्षणको अवस्था रहेको थियो । जनताहरु र तिनका प्रतिनिधिहरुको उपस्थितिमा तिनीहरुले नै मुलुकको लागि, मुलुकलाई संवैधानिक रुपमा व्यवस्थित गर्नको लागि संविधानको निर्माण गर्ने हो, जुन एकपटक बनाइएपछि त्यसमा संशोधन नहुने वा अर्को पंक्तिहरु थप्न नमिल्ने होइन, तर आफ्नो नितान्त सुविधा तथा चासोहरुलाई पासोको रुपमा थापेर खेल खेल्न उद्दत्त राजनैतिक, क्षेत्रीय तथा जातीय नेताहरुका हठका कारण, नेपाल अहिले ठप्प भएको छ । संयमित नेपाली जनताहरु भनिने गरिएको भए तापनि लाचार हालातमा रहेका नेपालीहरु दिनको पन्ध्रौं घण्टा लोड सेडिंग सहेर, दर्जनौं किलोमीटर हिँडेर, एक छाक खाना पकाएर पनि समयलाई थेगिरहेका छन् । लाखौं घरहरु पुननिर्माण भई आफ्नो स्वामित्वमा ग्रहण गर्ने आशा तथा पुन व्यवस्थित भई दैनिक जीवन गुजार्ने चाहानाका साथ रहेको लाखौं नेपालीहरुका लागि यसै हालातमा पनि अन्तर्राष्ट्रिय दृष्टिकोणमा नेपाली अर्थमन्त्रीको कार्यकुशलताको सराह्रना हुनु स्वागतयोग्य हो ।
award-receiving
तस्वीर श्राेतः मिलन शर्मा, रेडियाे राइनाे र केही तस्वीरहरू नेटबाट
—लण्डनबाट