एक्लिँदै प्रधानमन्त्री ओली

एक्लिँदै प्रधानमन्त्री ओली


oli
प्रधानमन्त्री बनेपछि देशलाई सङ्कटमुक्त बनाउनभन्दा हावादारी योजना सुनाएर देशवासीलाई रुच्चेहाँसो हँसाउने काममा सीमित हुँदै आएका केपी शर्मा ओली राजनीतिक रूपमा एक्लिँदै गएका छन् । ओलीको आफ्नो क्रियाकलापका कारण यतिबेला उनी आफ्नै पार्टीभित्र आलोचित बनेका छन् । माधवकुमार नेपाल र झलनाथ खनालसँग समन्वय नगरीकन हरेक विषयमा एक्लै निर्णय गर्ने गरेकाले ओलीसँग नेपाल र खनाललगायतका अधिकांश नेताहरू हैरान भएका छन् । मन्त्रीहरूको नियुक्ति, सल्लाहकारहरूको चयन र अन्य राजनीतिक नियुक्तिहरूमा ओलीले मनोमानी गरेकोले एमालेभित्र ओलीप्रतिको असन्तुष्टि बढेको छ । विगतमा ओलीको सहयोगी भूमिकामा रहेका नेता तथा कर्याकर्तासमेत उनीप्रति असन्तुष्ट बनेका छन् । अब कुनै पनि दिन एमालेभित्रैबाट सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठ्यो भने आश्चर्य नमाने हुन भएको छ ।

त्यस्तै, सरकारमा सहभागी उपप्रधानमन्त्री तथा कतिपय मन्त्रीहरू पनि ओलीको कार्यशैलीका कारण असन्तुष्ट बनेका छ्न । हरेक मन्त्रालयका खास–खास काममा हस्तक्षेप गरेका कारण सरकारभित्रै असन्तोष बढेको हो । अहिले भित्रभित्रै गुम्सिएको असन्तोष कुनै पनि बेला सार्वजनिक हुनसक्ने सम्भावना देखिएको छ । सरकारको प्रमुख साझेदार दल एमाओवादीका अध्यक्ष प्रचण्ड पनि ओलीको क्रियाकलापप्रति असहमत छन् । आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको या बहुमतीय सरकार गठन हुने स्थिति आएमा प्रचण्ड तत्कालै ओलीलाई बिदा गर्ने सोचमा रहेका छन् । उपप्रधानमन्त्री चित्रबहादुर केसीले ओलीको व्यवहारलाई लिएर आफ्ना निकटवर्तीहरूसँग टीका–टिप्पणी गर्न थालेका छन् । राष्ट्रवादको नाममा तीन महिनादेखि जनतालाई सास्ती दिँदै आएका ओलीले सरकारको आयु लम्ब्याउनकै लागि पूर्वअडानहरू छोड्दै गएकोले आफूलाई राष्ट्रवादी दाबी गर्नेहरू पनि ओलीप्रति सशङ्कित हुँदै छन् ।

जब अडान छोड्नु थियो भने चार महिनादेखि मुलुकलाई सास्ती दिनुको कारण के थियो भन्ने प्रश्न उनीहरूले उठाउन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्ेरस त ओलीको शासनशैलीप्रति असहमत छँदै छ, उनकै कित्तामा पनि असन्तुष्टि बढेपछि ओली एक्लिन पुगेका हुन् । ओली यसरी नै अघि बढिरहे भने उनलाई आफ्नी धर्मपत्नी र अञ्जान शाक्यबाहेक अरू कसले अन्तिम क्षणसम्म साथ देला भन्ने जिज्ञाशा यतिबेला उत्पन्न भएको छ ।