ओली सरकारका सय दिन

ओली सरकारका सय दिन


Mahendra Parajuli
:: ई. मेहन्द्र पराजुली ::

(१) नाकाबन्दी र तराई–मधेस आन्दोलनका कारण देशभरका करिब २२ सय उद्योग बन्द भएका, चार लाख कामदारले रोजगारी गुमाएका, व्यवसायीले दैनिक दुई अर्ब घाटा व्यहोर्नुपरेको तथ्याङ्क हालै उद्योग वाणिज्य महासङ्घले सार्वजनिक गरेको छ । देशको अर्थतन्त्र जर्जर र थिलथिलो अवस्थामा छ । आयात–निर्यात घटेको छ । वनफँडानी, चोरी–निकासी, कालोबजारी बढेको छ । अघिल्लो सरकारको पालामा भएको सात घन्टाको लोडसेडिङ ओली सरकारको पालामा बढेर दैनिक १३ घन्टा पुगेको छ । लोडसेडिङ १८ घन्टासम्म हुने विज्ञहरूको भनाइ छ । इन्धन, ग्यास त के सर्वसाधारणले दाउरासम्म पनि बाल्न पाएका छैनन्, जनताको चुलो बलेको छैन । महँगीले रेकर्ड कायम गरेको छ । सर्वसाधारण जनताको जनजीवन आक्रान्त, दयनीय र कहालीलाग्दो बनेको छ । इतिहासमै गम्भीर मानवीय सङ्कट उत्पन्न भएको छ । नेपाली जनताले जितेर पनि आज हारेकोजस्तो अवस्था छ । ओली सरकारको चाल हाँसको चाल न बकुल्लाको चाल भएको छ ।

(२) गाँस, बास र कपास नपाएर भूकम्पपीडितहरू तडपिरहेका छन्, दर्दनाक छ उनीहरूको दैनिकी । चिसोले कठाङ्ग्रिएर भूकम्पपीडितले ज्यान गुमाएका छन् । नुन नपाएर अलिनो खान बाध्य छन् गोरखा र दोलखाका दुर्गममा बस्ने पीडित । चिसोले कठाङ्ग्रिएर भूकम्पपीडित थरथर काम्दै गर्दा वातानुकूलित प्रधानमन्त्रीनिवासमा विराजमान प्रधानमन्त्री कमरेड केपी शर्मा ओली सिसाको महलमा बसेर पाल, खर, स्याउला तथा जस्तापाताले छाएका सर्वसाधारण गरिबका झुपडीमा ढुङ्गा प्रहार गरिरहेका छन् । गरिब जनताको पेटमा लात हानिरहेका छन् । जाडो मौसमका लागि विनियोजित न्यानो कपडाको रकम हालसम्म पनि नपाएको दुखेसो पोख्दै धादिङका पीडितले प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारीमार्फत पछ्यौरा उपहार पठाएका छन् । पीडितहरूको घाउमा मलमपट्टी गर्नुको सट्टा खाटा बस्न लागेको घाउ बाँदरले झैँ कोट्याएर बढाउँदै छन् ओली । ओलीले नेतृत्व गरेको सरकारबाट सर्वसाधारण जनता प्रताडित भएका छन्, जनताको मानमर्दन भएको छ अनि राष्ट्रको शिर निहुरिएको छ, झुकेको छ । प्रधानमन्त्री ओलीले देशको अस्मितामाथि खेलवाड गरी, देशको सतित्व लुटिरहेका छन् । माता सीताले अग्निपरीक्षा दिनुपरेझैँ, नेपाली जनताले एकपल्ट अग्निपरीक्षा दिनुपर्ने अवस्था छ ।

(३) एक वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने ओली मन्त्रिपरिषद्को पहिलो निर्णयको मसी सुक्न नपाउँदै तुइन चुँडिएर महाकालीनदीमा एकजना सर्वसाधारणले ज्यान गुमाए । ओलीको पहिलो निर्णय बेवारिसे अवस्थामा छ । तातोपानी कुण्डबाट विद्युत् उत्पादन गर्ने, हावाबाट बिजुली निकाल्ने, काठमाडौंमा विद्युतीय रेल चलाउने, मेट्रो रेल सञ्चालन गर्ने, घरका चुलाचुलामा ग्यासको पाइप फिट गरिदिने, एक वर्षभित्र सबै गाउँ विकास समितिमा मोटर बाटो पुर्‍याउनेजस्ता महत्त्वाकाङ्क्षी हावादारी योजना बुनी सर्वसाधारण जनतालाई दिउँसै सपना बाँडिरहेका छन् प्रधानमन्त्री ओली । दुई खुट्टा उचालेर हुटिट्याउँले आकाश थाम्छु भनेजस्तै हो ओलीको गफ । उखानतुक्का र चुट्किलाले देशको समस्या समाधान हुँदैन । प्रधानमन्त्रीको कार्यालय र निवासलाई क. ओलीले रङ्गमञ्चमा परिणत गरेका छन् । श्रीमान्को चितासँगै श्रीमतीले पनि सती जानुपर्नेजस्तै वातावरण सिर्जना गरेका छन् ओलीले सर्वसाधारण जनतालाई । महाभारतको दुर्याेधनले द्रौपदीको वस्त्र हरण गरी बेइज्जत गर्दै अपमानित गरेझैँ प्रधानमन्त्री ओलीले जनतालाई नाङ्गेझार बनाई अट्टहास छोड्दै प्रसन्न मुद्रामा त्यो दृश्यको पारख गरिरहेका छन् । सकुनी मामा क. पुष्पकमल दाहाल (प्रचण्ड)ले केपीलाई साथ दिइरहेका छन् सकुनी पासा फालेर । रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ बाढी, पहिरो, भूकम्प, नाकाबन्दी, तराई–मधेस आन्दोलबाट जनता तथा देश समस्याग्रस्त बन्दा निरोको बाँसुरीलाई उछिनेका छन् क. ओलीले हावादारी गफ, उखानटुक्का र चुड्किलाको माध्यमबाट मनोरञ्जन गराएर । ओलीको अगाडि निरो पनि फिक्का भएका छन् ।
kp-oli-presents
(४) भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तित्व उस्तै–उस्तै छ । उखानतुक्का, चुड्किला र हँसिमजाक गरी उटपट्याङ हर्कत गर्न दुवै माहिर छन् । उनीहरूको बढी ल्याङ्ग्योज ठ्याक्कै मिल्छ । चुनावी अभियानको प्रचार–प्रसारको क्रममा लालुप्रसाद यादव यादव बस्तीमा गए, लालुको भाषण सुन्न गएका बालबालिकालाई हेलिकोप्टर छेउ आउन भने, हेलिकोप्टरको वरिपरि झुम्मिएका बालबालिकालाई रोकिराखेको हेलिकोप्टरको एउटा ढोकाबाट छिराएर अर्काे ढोकाबाट निकाल्न सुरक्षाकर्मीलाई आदेश दिए । तल्लो जातका गुहार बालबालिकाले हेलिकोप्टर चढ्न पाएको जस लिई यादवहरूलाई लालुले बेवकुफ बनाए । केन्द्रीय सरकारले राज्य सरकारका मुख्यमन्त्रीलाई डिल्लीमा बोलाएर भन्यो– कोठाभित्र बाख्रा बाँधिएका छन्, जसले धेरै दूध दोहेर ल्याउँछ उसैले केन्द्रबाट धेरै सहयोग पाउँछ । सबैभन्दा थोरै दूध दोहेर ल्याउनेमा लालु परे, अनि गौरवका साथ ऐलान गरे– यहाँ पनि एकपल्ट केन्द्रले मलाई ठग्यो । सबैलाई बाख्रा दिएछ मलाईचाहिँ बोका, तै पनि मैले हार मानिनँ बोकै सही केही दूध बोकाकै दोहेर ल्याएको छु । लालुको हेलिकोप्टर र बोकाको हावादारी गफ र कहानीजस्तै हो प्रधानमन्त्री क. केपी शर्मा ओलीको घरका चुलाचुलामा ग्यासको पाइप फिट गर्ने, हावा र तातोपानी कुण्डबाट विद्युत् उत्पादन गर्ने, मेट्रो अनि विद्युतीय रेल चलाउने योजना ।

(५) प्रधानमन्त्री क. केपी शर्मा ओलीले नैतिक धरातल गुमाइसके । स्वेच्छाचारी, व्यक्तिवादी र पक्षपाती बन्दै गएका छन् ओली । निषेधको राजनीति गर्नमा माहिर छन् । देशको समस्या समाधान गर्न इमानदार प्रयास गरेनन् ओलीले । भ्रमको खेती गरेर देशलाई बन्धक बनाई जनताको उपहास गरे । ओलीको मार्गचित्र, अख्तियार गरेको नीति पूर्ण रूपले असफल छन् । अदूरदर्शी भए ओली । महाभारतको अहंकारी दुर्याेधन हुँदै छन् क. ओली । भाषणबाजीमा राष्ट्रियताको चर्काे डिङ हाँक्ने ओलीको व्यवहार निकृष्ट बन्दै गएको छ । ओली नायक होइन खलनायक भए । राज्यशक्ति र सत्ताको चरम दुरुपयोग गरिरहेका छन् ओली । झुटको पुलिन्दा हुन् ओली । ओलीले पुराना धेरै रेकर्ड त तोडे नै, जनताको दैनिकीमा नुन–चुक लगाउने काम पनि गरे । ओली सरकारको जग हल्लिसकेको छ । अपमानजनक अवस्थामा सरकारबाट बाहिरिनुपर्ने परिस्थिति सिर्जना हुँदै छ ।

(६) आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने, संसद्मा सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने सार्थक प्रयास गर्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षलाई चिढाउने, बिच्काउने, उत्तेजित पार्नेखालका अभिव्यक्ति दिनमै धेरै समय खर्ची राजनीतिलाई जटिल बनाए । आन्दोलनरत तराई–मधेसवादी दलहरूलाई सहमतिमा ल्याउन नेपाली काङ्ग्रेसले सरकारको भूमिका निभायो भने सरकारको नेतृत्व गरेको एमालेले प्रतिपक्षको भूमिका । सय दिनसम्म पनि संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम आउन सकेको छैन । सरकारको नीति तथा कार्यक्रम आउन नसक्नु भनेको सरकार पूर्ण रूपमा असफल हुनु हो । संसदीय व्यवस्थाको मेरुदण्डको रूपमा रहने स्थानीय निकायको निर्वाचनको मितिसम्म पनि घोषणा गर्न सकेको छैन सरकारले सबै दलहरूको माग हुँदाहुँदै पनि । मन नपरेको मानिसको सास पनि गन्हाउने, आफ्ना नजिक र मन परेका मानिसले गरेका गलत कार्यको सात खुन पनि माफ गर्ने प्रक्रियाको थालनी गरेका छन् ओलीले । ओलीले राज्यआतङ्क मच्चाइरहेका छन् ।

(७) अधिकार तथा अख्तियारको दुरुपयोग गर्दै, संविधानका धारालाई कुल्चँदै, संविधानको भावना र मर्ममाथि खेलवाड र प्रहार गरेर, मन्त्रालय घटाउने प्रशासन सुधार आयोग २०४८ र सार्वजनिक खर्च पुनरावलोकन आयोग २०५७ को सिफारिसविपरीत लाभहानीको हिसाबकिताब नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउन बहुलठ्ठीपन र सनकको भरमा मन्त्रालय फुटाउने, थप्ने काम गरी किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रालयको सङ्ख्या ३० र ६ जना उपप्रधानमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या करिब चार दर्जन पुर्‍याएर कीर्तिमान कायम गरे । ओलीको सरकारमा महिलाको सहभागिता न्यून रहेको छ । मन्त्रालयको सङ्ख्या बढाएर राज्यलाई वार्षिक ६ अर्बको भार बोकाउँदै राष्ट्रिय ढुकुटीको दोहन गर्न लागिपरेका छन् ओली । राष्ट्रिय समस्या समाधान गर्ने दायित्वबाट च्युत भए ओली । यसबीचमा केही कामचाहिँ गरेर देखाए ओलीले । ०६२/६३ को जनआन्दोलन दबाउन सक्रिय भूमिका खेली दोषी ठहरिएका दुर्जकुमार राईलाई सशस्त्र प्रहरी बलको आईजी बनाए, वन विभागका महानिर्देशक रेशमबहादुर डाँगीलाई निजामती सेवा ऐनविपरीत जनसङ्ख्या तथा वातावरण मन्त्रालयमा काजसरुवा गरे । सचिव र सहसचिवहरूको पटक–पटक सरुवा भयो यसै समयमा, कृषिविज्ञ विजय मल्लिकलाई जनसङ्ख्या, पशुविज्ञ डा. उदयचन्द्र ठाकुरलाई वन मन्त्रालय र वनका ज्ञाता कृष्ण पौडेललाई पशु मन्त्रालयमा सरुवा गरेर सरकारले राइट म्यान इन राइट प्लेस’को पहिलोपटक अनुभूति गरायो । उपसचिवस्तरको जागिर खाइरहेको मानिसलाई टपक्कै टिपेर पुनर्निर्माण प्राधिकरणको सीईओ बनाए ।

(८) देशको राष्ट्रिय ढुकुटी प्रधानमन्त्री क. केपी शर्मा ओलीका लागि लुटको धन फुपूको श्राद्ध भएको छ । प्रधानमन्त्रीको ‘जम्बो’ सल्लाहकार समूह र स्वकीय सचिवालयका पदाधिकारीलाई कानुनविपरीत राज्यको ढुकुटीबाट अस्वाभाविक सुविधा उपलब्ध गराएका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, सल्लाहकार, स्वकीय सचिव र विज्ञले देशको राष्ट्रपति र उपराष्ट्रपतिले पाउने मासिक तलबभन्दा बढी तलब पाइरहेका छन् । मन्त्रीहरूले मन्त्रिपरिषद् तथा आफ्नै मन्त्रालयबाट समेत गरी इन्धनलगायत अन्य सुविधा लिइरहेको खुलासा भएको छ । दोहोरो सुविधा लिनेमा टोपबहादुर रायमाझी, चित्रबहादुर केसी, विजयकुमार गच्छदार, सत्यनारायण मण्डल, रामजनम चौधरी, हरिबोल गजुरेल, अग्नि खरेल, सोमप्रसाद पाण्डेको नाम अग्रपङ्क्तिमा छ । यो भ्रष्टाचार हो अनि अधिकार तथा अख्तियारको दुरुपयोग हो । यसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायराभित्र ल्याउनुपर्छ । सम्पत्ति विवरण नबुझाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मन्त्रीहरू, एकनाथ ढकाल, कुन्तिकुमारी शाही, विराट विष्ट र दिनेश श्रेष्ठलाई कारबाही गर्दा पनि नैतिकताको आधारमा न मन्त्रीले राजीनामा दिएका छन् न प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त नै गरेका छन् । यो संसदीय व्यवस्थाको उपहास हो, सत्ता टिकाउने बहानामा । स्वास्थ्योपचार खर्चको नाममा मधुमासको समयभित्र क. ओलीले आफ्ना कार्यकर्ता पोस्न करोडौँ रकम बाँडेर पहिलाका प्रधानमन्त्रीलाई उछिनेका छन् ।

(९) संसदीय परम्परा र अभ्यासअनुसार संसद् अवरुद्ध भएपछि संसद्को थप कारबाही अगाडि बढ्दैन । हाम्रो संसद्को हकमा नेपालको इतिहासमै पहिलोपल्ट २०७२ मङ्सिर २९ गते बेल घेराउ भई संसद् अवरुद्ध भएकै अवस्थामा जबर्जस्ती संसद् सञ्चालन गरियो । संसदीय व्यवस्थामा यस्तो असंसदीय कारबाही शोभनीय भएन । यसको दूरगामी असर रही नजिर स्थापित भएको छ । यो कदम सभामुख र सरकारको तानाशाही कदम हो । संसद्मा असंसदीय परम्पराको सुरुवात एमालेले गरेको हो भने मलजल गर्ने काम एमाओवादीले गर्दै आएको छ । अलोकतान्त्रिक अमर्यादित, मन्त्रीलाई हात हाल्ने, संसद्–संसद्बीच घम्सा–घम्सी गर्ने आमाचकारी गाली गर्ने, ब्रिफकेस फुटाउने, माइक–कुर्सी भाँच्ने फाल्ने, कपडा च्यात्ने, पागलपन देखाउनेजस्ता कार्य गर्ने ओलीका सारथि र वैशाखी सरकारमै सामेल छन् ।

(१०) सरकारको हनिमुन पिरियडमा सामाजिक सञ्जाल, छापा, एफएम तथा टेलिभिजनमा खुव छाए प्रधानमन्त्री क. केपी शर्मा ओली । हावाबाट बिजुली निकाल्ने प्रधानमन्त्री ओलीको कथनलाई व्यङ्ग्य गर्दै एकजनाले स्टाटसमा लेखे– भटमास र मुला खाएर हावा उत्पादन गरी सर्वसाधारणले ओलीको कार्यक्रमलाई सहयोग गरौँ । ‘म केपी शर्मा ओली ग्यास लिन जाँदै छु,’ एकजना सर्वसाधारण गृहिणी महिलाको उच्चस्तरको राजनीतिक व्यङ्ग्य हो दाउरा लिन जाने क्रममा । त्यस्तै गरेर एकजना भद्र पुरुष स्टाटसमा लेख्छन्– टोल–टोलमा हवाई मैदान बनाउने, घर–घरको छतमा हेलिप्याड बनाउने, खुलामञ्चमा तेलको कुवा खन्नेजस्ता अरू महत्त्वाकाङ्क्षी योजना ल्याउन बेर छैन क. ओलीले सरकारको मधुमासको समय पछि । स्टेजमा पर्फम गर्दा हामीले धेरै सोचेर तयारी गर्नुपर्छ, तर ओलीले बिनातयारी हँसाइरहेका छन् । ओलीले हास्य टेलिशृङ्खलाको अभाव महसुस हुन दिएका छैनन् । ओलीले हामीलाई फ्लप खुवाए । ओलीका अगाडि हामी हास्य कलाकर्मी फिक्का भएका छौँ । ओली वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यभन्दा पनि अरू चर्चित कमेडियन बनेका छन् । ओलीले आधुनिक र वैज्ञानिक हास्यतत्त्वहरू जनतामाझ प्रस्तुत गरिरहेका छन् । जोकहरू गरेर ओलीले पीडितलाई अरू पीडित बनाएका छन् । ओलीका १०० दिनको मूल्याङ्कन हो हास्य कलाकारहरू दीपाश्री निरौला, दीपकराज गिरी, ज्योति काफ्ले, अर्जुन घिमिरे र पल्पसा डङ्गोलको नजरमा ।

(११) संसदीय परम्परा र अभ्यासअनुसार सरकारलाई सय दिनको मधुमासको समय (हनिमुन पिरियड) दिने चलन छ । जुन अभ्यासलाई प्रजातान्त्रिक संस्कारको रूपमा लिने गरिन्छ डेमोक्रेसीमा । ‘मर्निङ सोज द डे’ बिहानीले दिनको सङ्केत गर्दछ भनेजस्तै ओलीले नेतृत्व गरेको संयुक्त सरकारले सय दिनको मधुमासको समयको राम्रो छाप छोड्न सकेन आमजनतामाझ । राष्ट्रिय समस्या तथा चुनौतीहरू चिर्न सफल होला ओलीको सरकार भनेर सरकारलाई यस अवधिमा प्रतिपक्षलगायत आमनागरिकले बिनासर्त सहयोग गरेकै हुन् । सुशासनका बेसिक नम्र्सहरूलाई थप मजबुत गर्दै लैजानुपर्नेमा रेस्पोन्सिबिलिटी, एकाउन्टिबिलिटी, ट्रान्सपरेन्सी र रुल अफ लजस्ता सुशासनका आधारभूत नम्र्सहरूलाई नजरअन्दाज गर्दै अगाडि बढ्यो सरकार । सुशासनको सरकारले जनतालाई डेलिभरी दिन सकेन । गुड गभर्मेन्स भएन । कानुनको शासन र मानवअधिकारको ग्यारेन्टी सरकारले गर्न सकेन भने त्यसको प्रत्याभूति जनताले गर्न पाएनन् । सरकारले उत्साहको सञ्चार गर्न सकेन, सरकारको उपस्थिति देखिएन, सरकारको पर्फर्मेन्स राम्रो भएन कुनै पनि तह र तप्काका जनतामाझ । प्रधानमन्त्री केपी शर्मा ओली मंगालोमानिया स्टेरोइड इफेक्टबाट पीडित भएको बताउँछन् चिकित्सकहरू । ओलीले नेतृत्व गरेको सरकारले जनताको समर्थन र विश्वास गुमाइसकेको छ । लाचार छाया मात्र बनिरहे घोक्रेठ्याक लागेर निस्कनुभन्दा आफ्नो गुमेको साख जोगाउन प्रधानमन्त्री क. केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामाको बाटो रोज्नु नै उनका लागि अबको सहज बाटो र उत्तम विकल्प हो ।

(लेखक सहिद श्रीप्रसाद पराजुलीका पुत्र हुन्) ।