गगनलाई पनि सभापतिको उम्मेदवार बन्न दबाब

गगनलाई पनि सभापतिको उम्मेदवार बन्न दबाब


Gagan 22
नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या दश पुगेको छ । सम्भावित उम्मेदवारको सूचीमा सर्वाधिक थोत्रो नेता सुशील कोइरालादेखि नयाँ नेता गगन थापासम्म छन् । पार्टीका प्रमुख नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच हुने सम्भावित प्रतिस्पर्धालाई उच्च चासोका साथ हेरिएकोमा युवा नेता गगन थापालाई समेत एकथरी नेता–कार्यकर्ताले पार्टी सभापतिमा उम्मेदवार बन्न सुझाव र दबाब दिइरहेको बुझिएको छ ।

गत सोमबार धुलिखेलमा सम्पन्न कांग्रेसका केही नेता तथा कार्यकर्ताहरूको प्रतिनिधिमूलक भेलाले थापालाई सभापतिको उम्मेदवार बनाउने निष्कर्ष निकालेको छ । यसअघि थापा महामन्त्री पदमा उम्मेदवारी दिने सोचमा रहेका भए पनि शुभचिन्तक एवम् समर्थकहरूको दबाबका कारण उनी सभापतिको उम्मेदवार बन्ने निश्चित मानिएको छ । थापासमेत कांग्रेसको संस्थापन पक्षबाट उम्मेदवार बन्नेहरूको सङ्ख्या कम्तीमा तीन पुगेको छ । यसअघि नै सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले सभापतिको उम्मेदवार बन्ने जानकारी सार्वजनिक गरिसकेका छन् । त्यसो त डा. रामशरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालाई पनि सभापतिमा उम्मेदवारी दिन इच्छुक नेताका रूपमा लिइन्छ । गिरिजापुत्री सुजाता जोष्टले समेत आफू कांग्रेसको सभापति बन्न तयार रहेको जनाएकी छिन् । बाह्रौँ महाधिवेशनमा सुशील कोइरालाको खास सहयोगी रहेका अर्जुननरसिंह केसी पनि आवश्यक परे सभापतिमै उम्मेदवारी दिने सोचमा रहेको बताइन्छ । तर, गगन थापाले सभापतिमा उम्मेदवारी दिएको अवस्थामा केसीले के गर्ने हुन् सो भने स्पष्ट हुन सकेको छैन ।

उता वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीलाई एकजुट बनाएर लैजाने प्रतिबद्धताका साथ सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । कोइराला, पौडेल र देउवामध्ये सर्वाधिक बलिया उम्मेदवारका रूपमा देउवालाई लिइन्छ । तर, सुशील कोइराला पौडेललाई उम्मेदवार बनाउन राजी भए भने देउवा र पौडेलबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको छ । देउवाको प्रतिस्पर्धा सुशील कोइरालासँग भएमा कोइरालाले बढीमा पैंतीस प्रतिशतसम्म मत प्राप्त गर्ने अनुमान छ । गगनले समेत उम्मेदवारी दिए भने त्यसले बेग्लै परिणाम दिनसक्ने सम्भावना रहेको छ ।