काठमाडौं प्रहरीको सत्प्रयासले जनतालाई राहत

काठमाडौं प्रहरीको सत्प्रयासले जनतालाई राहत


नाकाबन्दीको अवसर छोपेर कालोबजारी गरी अवैध आर्जन गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउने र पीडित जनतालाई राहत प्रदान गर्ने प्रहरीको प्रयास प्रभावकारी देखिएको छ । खाने तेलमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुगड ग्रुप (कोटेश्वर गोदाम)का प्रमोद अधिकारी र अमन जैनलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएपछि अभाव र महँगीको मारले थिचिएका जनताले राहत महसुस गरेका छन् । ‘धारा’लगायतका खाने तेलमा दुई–तीन सय प्रतिशत मूल्य वृद्धि गरेर उपभोक्तालाई ठगी गरेको अभियोगमा गत मंसिर अन्तिम साता काठमाडौं प्रहरी परिसरको विषेश टोलीले दुगडको कोटेश्वरस्थित गोदाममा छापा मारेर करिव ३ लाख लिटर खाने तल बरामद गरेको थियो ।

पुरानो स्टक तेलमा महँगो मूल्य राखेर बेचेको भन्दै महानगरीय प्रहरी प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाको विशेष तदारुकतामा प्रहरीले छापा मार्ने क्रममा तत्काल पक्राउ परेका अधिकारी र जैनलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपेन्द्रराज अधिकारीको इजलासले पुर्पक्षका लागि थुनामा पठाए पनि सो व्यापारिक समूहका कुमुद दुगडलगायत सञ्चालकहरू फरार रहेका छन् । अदालतले दुगड गु्रपका फरार सञ्चालकहरू सबैलाई पक्राउ गर्न आदेश दिएको काठमाडौं प्रहरी प्रमुख थापाले बताएका छन् । दुगड समूहका फरार सञ्चालकहरू कृष्णलाल दुगड, नरेश दुगड, विकास दुगड, कुमोद दुगडहरूलाई पक्राउ गर्न आदेश दिएको उनको भनाई छ । कालोबजारी गरेर सर्वसाधारणलाई ठगी गर्ने दुगड गु्रपका सञ्चालकहरू यतिबेला भारतमा लुकेर बसेको सूचना आफूलाई मिलेको उल्लेख गर्दै अदालतको आदेशअनुसार जसरी पनि पक्राउ गरेरै छाड्ने प्रतिबद्धता एसएसपी थापाले जनाए ।
bikram thapa ssp
यस्तै खाद्य सामग्री सञ्चय गरी कृतिम अभाव सिर्जना गर्ने धनलक्ष्मी दाल मिल प्रालिका प्रोपाइटर तेजकरण जैन पनि यतिबेला फरार रहेको बुझिएको छ । काठमाडौं प्रहरीले केही दिनअघि उनको मिलमा छापा मार्दा कार्टेलिङ गरी राखेको अवस्थामा रहर, मुग, बोडी, केराउलगायतका झण्डै पचास हजार केजी खाद्यान्न बरामद गरेको थियो । कार्टेलिङ गरेर बजारमा अभाव सिर्जना गर्ने र महँगो मूल्यमा बेच्ने गरेको प्रमाण फेला परेपछि प्रहरीले छापा मारेको थियो । प्रहरी स्रोतका अनुसार प्रतिकेजी दालमा ७० देखि १ सय ५० रुपैयाँसम्म बढी असुल गर्दै बिक्री गरिएको पाइएपछि छापा मारिएको एसएसपी थापाको कथन छ ।
प्रहरीले दाल उद्योगका लेखापाल शशीकान्त अधिकारी र कर्मचारी भारतीय नागरिक रन्जित प्रसादविरुद्ध मुद्दा चलाएको छ । संचालक तेजकिरण जैन भने फरार भएका छन् । उनी पनि भारत गएर लुकिबसेको आशङ्का गरिएको छ । नाकाबन्दीको गलत फाइदा उठाएर खाद्यान्न लगायत सामग्रीमा कालोबजारी गर्ने प्रवृत्ति मौलाएपछि खासगरी प्रहरी प्रशासनले कारवाहीमा तीव्रता देखाएको छ । राजनीतिक नेतृत्व नै तस्कर एवम् कालोबजारियालाई संरक्षण गर्न उद्यत् देखिएको परिवेशमा प्रहरी प्रशासनले जनहितमा लिएको कदमलाई सर्वत्र प्रशंसाको दृष्टिले हेरिएको छ ।