कमजोर भौतिक पूर्वाधार, फितलो व्यवस्थापन

कमजोर भौतिक पूर्वाधार, फितलो व्यवस्थापन


राष्ट्रपति रामवरण यादवले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरेपछि औपचारिक रूपमा राष्ट्रिय प्रतियोगिताको शुभारम्भ भएको थियो । धनगढी रंगशालामा आयोजित उद्घाटन समारोहमा राष्ट्रपति यादवले ‘म छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुभारम्भ भएको घोषणा गर्छर्भने लगत्तै राष्ट्रिय प्रतियोगिताको छैटौँ संस्करण मोहर लागेको थियो । सो अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई र्सार्थक पार्न सम्पूर्ण खेलाडीहरूलाई आह्वान गर्दै राष्ट्रपतिले शुभकामना प्रकट गर्नुभएको थियो । साथै उहाँले सुदूरपश्चिमले अनुशासन, एकता र आपसी भाइचारा कायम गरेर प्रतियोगितालाई सफल पार्न अनुरोध पनि गर्नुभएको थियो ।
त्यस्तै छैटौँ राष्ट्रिय प्रतियोगिताको झण्डा झण्डोत्तोलन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको विषम परिस्थितिमा पनि तीन महिनामै भौतिक पूर्वाधारलगायत अन्य कार्य गरेर सुदूरपश्चिमले आफ्नो क्षमता प्रदर्शन गरेकोमा खुसी प्रकट गर्नुभएको थियो । राष्ट्रको विकास निर्माण र एकताको सूत्रमा बाध्न खेलकुद महत्त्वपूर्ण माध्यम भएको बताउँदै यो प्रतियोगिताको आयोजनाले नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता ? साग) मा दरिलो उपस्थिति जनाउने बताउनुभएको थियो । प्रधानमन्त्री भट्टराईले वर्तमान अवस्थामा राष्ट्रिय खेलकुद प्रतियोगिताले सङ्ख्यात्मक र गुणात्मक हिसाबले निकै फड्को मारेको चर्चा गर्दै खेलाडीले खेलकुदको नियमलाई आत्मसात् गर्दै आपसी भाइचारा वृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
आखिर प्रतीक्षाको घडी सकिएको छ । सुदूरपश्चिममा पहिलोपटक राष्ट्रिय प्रतियोगिताको आयोजना भइरहेको छ । लामो प्रतीक्षा र सङ्घर्षका बाबजुद सुदूरपश्चिमले यो सफलता हात पारेको हो । सुदूरपश्चिमका लागि ऐतिहासिक मानिएको छैटौँ राष्ट्रिय प्रतियोगिताको आयोजन गर्न र सफलताको मर्ूतरूप दिन अहिले कुनै कसुर बाँकी राखिएको छैन । त्यसका लागि विभिन्न राजनीतिक दलका नेतादेखि लिएर समाजसेवी, व्यापारी र स्थानीय बासिन्दाको सहयोग-सुझाव अविष्मणीय रहेको छ । उनीहरूले प्रतियोगिताको हरेक कोणबाट निरीक्षण अनुगमन गरिरहेका छन् । सुदूरपश्चिमको मान-सम्मान र प्रतिष्ठासँग जोडिएको छैटौँ राष्ट्रिय प्रतियोगिता अहिले उनीहरूका लागि चुनौती बनेको छ । जसका लागि उनीहरू दिनरात एउटै बनाएर खटेर लागेका छन् ।
खेलकुदमा नयाँ ‘हिरो’ जन्माउने उद्देश्यअनुरूप ०३८ सालमा राष्ट्रिय प्रतियोगिताको अवधारणा अघि ल्याइएको थियो । खेलकुदको विकास र स्तरीय खेलाडीको उत्पादनका लागि अहम् मानिएको राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करण सोही सालदेखि शुभारम्भ भएको थियो । तीन दशकको ऐतिहासिक पृष्ठभूमि बोकेको राष्ट्रिय खेलकुदको अवधारणा आफैंमा उत्कृष्ट भए पनि समयको झटारोले यसको हर्ुमत लिने कार्य गरेको थियो । फलस्वरूप अहिलेसम्म पन्ध्रवटा राष्ट्रिय प्रतियोगिताको हुनुपर्नेमा ६ वटैमा खुम्चिन पुगेको छ । जुन नेपाली खेलकुदका लागि दुर्भाग्यसमेत बन्न पुगेको छ । सो यथार्थलाई आत्मसात् गर्दै युवा तथा खेलकुदमन्त्री कमला रोक्काले मुलुकको सङ्क्रमणकालीन अवस्थामा र विभिन्न चुनौतीका पहाडहरूलाई पन्छाउँदै छैटौँ राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिमको माटोमा सफलतापूर्वक गर्न पाएकोमा गौरव प्रकट गरेकी थिइन् । मन्त्री रोक्काले तत्कालीन र दीर्घकालीन कार्य विभाजनको परिणामको उपज राष्ट्रिय प्रतियोगिताको सफल आयोजना भएको प्रस्ट पारेकी थिइन् ।
हाल सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, टीकापुर, वीरगञ्ज र काडमाडौंमा राष्ट्रिय प्रतियोगिताका ३१ खेल सञ्चालन भइरहेका छन् । जसमा ३१ खेलका लागि दुई हजार दुई सय ३४ पुरुष र एक हजार तीन सय ८५ महिला प्रतिस्पर्धा गरिरहेका छन् । त्यसको साथै प्रतियोगितामा तीन सय ९० प्रशिक्षक, दुई सय ६७ व्यवस्थापक एक हजार एक सय ७७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक, ९६ राष्ट्रिय सङ्घका पदाधिकारीहरू, २० विभागीय टोलीका प्रतिनिधिहरू, १५ क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी गरी कुल पाँच हजार पाँच सय ४९ जनाको सहभागिता रहेको छ । जसमा नेपाल ओलम्पिक कमिटीका पदाधिकारी र सञ्चारकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ । छैटौँमा सेनाको अनुपस्थितिले गर्दा दुई सय ५७ जना खेलाडीको सङ्ख्या घटेको छ ।
सुदूरपश्चिमको धनगढीमा निर्माणाधीन अवस्थामा रहेको रंगशालाबारे विभिन्न चर्चा-परिचर्चा चले पनि जुन प्रयोजनका लागि त्यसको निर्माण गरिएको थियो त्यसमा आयोजक कमिटी सफल भएको छ । मैदानको पूर्व र पश्चिमतर्फ निर्माण गरिएका दुईवटा प्याराफिट समयमै तयार भएका छन् । तीन हजार दर्शकको क्षमता भएका ती प्याराफिटमा सुरक्षा र अप्रिय घटना सन्त्रासले आयोजक कमिटीले उद्घाटन समारोहमा पाँच सयजना अतिथि र मुख्य अतिथिलाई मात्रै राखेको थियो । सोबारेमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले भौतिक पूर्वाधारको निर्माणप्रति सन्तुष्टि जाहेर गरेका छन् । सङ्घर्ष र रूपान्तरणबाट भौतिक पूर्वाधारको चुनौती सम्भव भएको बताउँदै लामाले यो अभिप्राय पूर्ण भएको प्रस्ट पारेका थिए । त्यस्तै ओलम्पिक मुभमेन्ट र राष्ट्रिय प्रतियोगिताको संलग्नताका बारेमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले यसलाई भौतिक पूर्वाधार र खेलसँग मात्रै जोडेर हेर्न नहुने बताए । प्रधानले ओलम्पिकको सम्बन्ध संस्कृतिसँग पनि जोडिएको हुन्छ भन्दै अहिले जुन बन्ने प्रयास भएको छ त्यसलाई सम्मान गरिनुपर्ने बताएका थिए । उनले छैटौँमा ओसीएको प्रतिनिधि आउने भनिए पनि पछिल्लो समयमा समय-तालिका नमिलेको कारणले आउन नसकेको प्रस्ट पारेका थिए ।
कमजोर भौतिक पूर्वाधार र अव्यवस्थित व्यवस्थापनबीच आयोजना भइरहेको छैटौँले आफ्नो औचित्य पुष्टि गर्न सक्छ या सक्तैन त्यो भविष्यकै गर्भमा रहेको छ । आर्थिक हिनामिनाको आरोप र फितलो आयोजनाको मारमा परेको छैटौँ यतिबेला राजनीतिक दलदलमा पनि त्यत्तिकै भासिएको छ । राष्ट्रिय प्रतियोगिताभन्दा पनि माओवादीको प्रतियोगिताको रूपमा चर्चा पाएको छैटौँले सफलताको मर्ूतरूप लिन सकेमा यो नै ठूलो उपलब्धि हुने विश्वास गरिएको छ । छैटौँमा तीन सय दुई स्वर्ण पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्न लागेका छन् । सरकारले राष्ट्रिय प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई दश हजार र समूहतर्फ स्वर्ण पदक जित्नेलाई पाँच हजार प्रदान गर्ने निर्णय गरेको छ ।

काम गर्नेकै विरोध हुन्छ -दीपक साउद (संयोजक, छैटौँ राष्ट्रिय खेलकुद तयारी सचिवालय)
० छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको सन्दर्भमा व्यक्तिगत रूपमा भन्दा पनि सुदूरपश्चिममा हुन लागेकोमा म ज्यादै खुसी छु । यर्सथमा कि यो प्रतियोगिता विगतमा विभिन्न कारणले दुईपटक सुदूरपश्चिम आयोजना गर्नबाट वञ्चित हुनुपरेको थियो । तर, अहिले मुलुकको विषम परिस्थिति र चुनौतीका बाबजुद पनि आज हामी छैटौँको आयोजना गर्न सफल भएका छौँ । यो सुदूरपश्चिमका लागि गौरवको कुरो बनेको छ ।
० पहिलोपटक सुदूरपश्चिममा राष्ट्रिय प्रतियोगिता हुँदै छ, यसलाई कसरी हेर्नुभएको छ ?
– मैले यसलाई सम्भावना र चुनौतीको रूपमा हेरेको छु । मुख्य कुरा अहिलेसम्म राष्ट्रियस्तरको यति ठूलो प्रतियोगिता सुदूरपश्चिममा आयोजना भएको छैन । अब उद्घाटन र समापनसम्म प्रतियोगितालाई हरेक दृष्टिकोणले अगाडि बढाउन सके त्यो सफलताको कडी बन्ने मेरो विश्वास छ ।
० भौतिक पूर्वाधारको निर्माण र खेल आयोजनाबारे तपाईंको के धारणा छ ?
– छैटौँको आयोजनाबाट सुदूरपश्चिमले केही पायो भने त्यो काठमाडौंपछि सुदूरपश्चिम यही भौतिक पूर्वाधार हो । अहिले भौतिक पूर्वाधारको तुलना गर्दा काठमाडौंपछि सुदूरपश्चिम दोस्रो नम्बरमा परेको छ । यहाँ रंगशाला, कभर्डहल, ट्रयाक एन्ड फिल्डलगायत विभिन्न भौतिक संरचनाहरूको निर्माण भएको छ । जसको प्रत्यक्ष फाइदा सुदूरपश्चिमका खेलाडीहरूलाई भएको छ । उनीहरूले छैटौँपछि पनि यसको सहज रूपमा उपभोग गर्न पाउने छन् । जसले गर्दा भोलि सुदूरपश्चिमका खेलाडीको स्तरमा वृद्धि हुने मेरो विश्वास छ ।
० भौतिक पूर्वाधारको निर्माणका लागि सरकारले कति बजेट उपलब्ध गराएको छ ?
– रातो किताबमा उल्लेख भएबमोजिम छैटौँ राष्ट्रिय खेलकुदका लागि १३ करोड हो । त्यसमा भौतिक पूर्वाधारको निर्माणका लागि तीन करोड र खेल आयोजनाका लागि दश करोड दिएको थियो । पछि त्यसलाई राष्ट्रिय खेलकुद परिषद्ले बजेटिङ गरिसकेपछि २१ करोड ९४ लाख पुगेको थियो । तर, सरकारले अहिले छैटौँका लागि २१ करोड बजेट मात्र दिएको छ । जसलाई जिल्ला, क्षेत्र र राष्ट्रिय प्रतियोगिताको आयोजना खर्च गरिएको छ ।
० सुदूरपश्चिममा छैटौँ हुनै सक्तैन र यसको समय सारणी गर्नुपर्छ भन्नेहरूलाई यतिबेला तपाईं के भन्न चाहनुहुन्छ ?
– मलाई तिथिमिति हेराएर केही काम गर्नुपर्छ जस्तो लाग्दैन । मानवशक्ति जुट्यो भने संसारमा केही काम असम्भवजस्तो छ मलाई लाग्दैन । यदि अहिले छैटौँको आयोजना गर्न नसकिएको भए फेरि पनि सुदूरपश्चिमबाट विभिन्न कारणले प्रतियोगिता र्सन सक्थ्यो । तर्सथ हामीले पाएको अवसरलाई गुम्न नदिन दृढ इच्छाशक्तिको प्रदर्शन गर्दै तोकिएकै समयमा छैटौँको आयोजना गर्न सफल भएका छौँ । जुन सुदूरपश्चिमको गौरव र प्रतिष्ठाको विषयसमेत बनेको छ ।
० छैटौँमा माओवादीको बिगबिगी र आर्थिक अनियमितताबारे थुप्रै विरोधका स्वरहरू आएका छन् यसको वास्तविकता के हो ?
– हामीले जे गरेका छौँ, जस्तो रूपमा गरेका छौँ त्यो खुला रूपमा र पारदर्शी रूपमा नै गरेका छौँ । पहिले यहाँ भौतिक पूर्वाधारको नाममा एउटा भूगोलको रूपमा खाली मैदान मात्र थियो । तर, हामीले विगत तीन महिनामा युद्धस्तरमा काम गरेर यो स्वरूपमा ल्याउन सफल भएका हौँ । जहाँसम्म आर्थिक अनियमितताको कुरा उठेको छ त्यो चामलमा देखिएको सानो बियाँजस्तै हो । संस्थागत विरोध नभई सामान्य विरोधको स्वर मात्रै हो । यदि त्यसमा पनि कसैलाई शङ्का लाग्छ भने त्यसको छानबिन गर्दा पनि हुन्छ । हामीले गुणस्तरीय कार्य गरेका छौँ ।
० त्यसो भए विभिन्न विद्यार्थी सङ्गठनहरूले माओवादीको र तपाईंहरूको कार्यशैलीको विरोध गर्नुको कारण के हो त ?
– यसलाई मैले विरोधको रूपमा नभई सुझावको रूपमा लिएको छु । यदि हामीले त्यति पनि काम गरेका थिएनौँ भने यति सुझाव पनि पक्कै आउने थिएन । किनकि विगतका वर्षमा यसको सुरुवात नै गरिएको थिएन । सुरुवात नगरेका कारण विरोध पनि आएन । अहिले हामीले सुरुवात मात्र नभई काम पनि गरेका छौँ तर्सथ मैले यसलाई मार्गदर्शनको रूपमा लिएको छु । कहीँ कमी-कमजोरी भए त्यसलाई अझ गुणस्तरीय रूपमा अगाडि बढाउने छौँ । यतिबेला मैले विरोधी भन्दा पनि सुझाव दिने र शुभचिन्तकहरूको बढी सङ्ख्या मैले देखेको छु ।
० सुदूरपश्चिममा छैटौँको आयोजनापश्चात् नयाँ काँचुली फेरिने विश्वास गरिएको छ, यसमा कत्तिको सत्यता छ ?
– यसले स्वाभाविक रूपमा नयाँ काँचुली फर्ेर्ने मेरो विश्वास छ । यसले खेलाडीको जोश, जाँगर र हौसलामा वृद्धि गर्छ । हिजोसम्म अर्काको भूगोलमा गएर खेल्ने सुदूरपश्चिमका खेलाडीले भविष्यमा आफ्नै भूमिमा विभिन्न खेल-सामग्रीका साथ टे्रनिङ गर्न पाउने भएकाले पनि यो सुदूरपश्चिमका लागि कोसेढुङ्गा सावित हुनेछ । साथै यो प्रतियोगिताको आयोजना सुदूरपश्चिममा लुकेर रहेका पर्यटकीय क्षेत्रको चिनारी र पहिचानका लागि र्सार्थक सावित हुने मेरो विश्वास छ ।
० राष्ट्रिय प्रतियोगिता भनेकोे नयाँ हिरो जन्माउने खेल हो, के छैटौँले आफ्नो औचित्य पुष्टि गर्ला ? यसबारेमा के भन्नुहुन्छ ?
– सक्छ, निश्चित रूपमा सक्छ । किन सक्छ भने अहिलेसम्म लुकेर रहेका प्रतिभाको जो मुलुकका विभिन्न कुना छरिएर रहेका थिए त्यसलाई समेट्ने काम हामीले गरेका छौँ । जिल्ला छनोटमा देखिएको उत्साहबर्द्धक सहभागिता पनि त्यसको उदारहण हो । तर्सथ मलाई विश्वास छ, यो राष्ट्रिय प्रतियोगितामा थुपै्र हिरो जन्मिने छन् ।
राष्ट्रिय कि वीरेन्द्र सिल्ड प्रतियोगिता ?
२१ करोडको बजेटमा सञ्चालन भइरहेको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फितलो आयोजनाले गर्दा २१ लाखको जस्तो देखिएको थियो । अपूर्ण र कमजोर भौतिक पूर्वाधारले अझ यसमा जलप लगाउने कार्य गरेको छ । लथालिङ्ग र भताभुङ्गको अवस्थामा रहेका भौतिक पूर्वाधारलाई नियाल्ने हो भने यसलाई कुनै कोणबाट राष्ट्रिय प्रतियोगिता भन्न मिल्दैन । आयोजक कमिटीले छैटौँको बारेमा जति फूर्ति र बढाइचढाइ गरे पनि वास्तविक रूपमा भन्नुपर्दा यो प्रतियोगिता सुदूरपश्चिममा आयोजना गर्नका लागि मात्र गरिएकोजस्तो देखिएको थियो । अझ उद्घाटन समारोहमा देखिएको दृश्य र भएको भाँडभैलोले छैटौँलाई नराम्रोसँग नङ्ग्याउने कार्य गरेको थियो । व्यवस्थितको नाममा कुनै पनि व्यवस्था नभएको र सास्ती दिने कार्य मात्रै भएको थियो । यसरी यो प्रतियोगिता वीरेन्द्र सिल्ड प्रतियोगिता हो कि राष्ट्रिय त्यो सञ्चारकर्मीहरूलाई छुट्याउनसमेत हम्मेहम्मे परेको थियो ।

खेलाडी र सञ्चारकर्मीको हरिविजोग !
छैटौँमा प्रतिस्पर्धा गर्न गएका खेलाडी र केन्द्रबाट समाचार सङ्कलन गर्न आएका सञ्चारकर्मीहरूको यहाँ हरिविजोग भएको छ । मार्चपासको वाहनामा घण्टौँसम्म तातो घाममा पिरोलिएका खेलाडीले रंगशालामा उडेको धुलोको स्वाद राम्रोसँग चाखेका थिए । आँखा, मुख र नाक नै टालिनेगरी उडेको धुलोले खेलाडी निसास्सिन पुगेका थिए । अझ तोकिएको समयभन्दा एक घण्टा ढिलो सुरु भएको उद्घाटन समारोह खेलाडीका लागि खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहारजस्तै बनेको थियो ।
त्यस्तै उद्घाटन समारोहमा समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीहरूले पनि नराम्रो सास्ती भोग्नुपरेको छ । अस्तव्यस्त, कुनै पनि दृश्य नदेखिने र धुलोले भरिएको खाली ठाउँमा सञ्चारकर्मीहरूलाई आयोजक कमिटीले राखेर ठूलो बदला लिने कार्य गरेको थियो । केन्द्रबाट बोलाएर घामले सुकाउने कार्य आयोजकले गरेपछि एक सञ्चारकर्मी भन्दै थिए, ‘यो त अति भो, घर फर्किनुपर्छ कि क्या हो ।’ प्राप्त जानकारीका अनुसार स्थानीय सञ्चारकर्मीहरूले छैटौँबारे नकारात्मक समाचार प्रेषित गरेका कारणले उनीहरूलाई सबक सिकाउन आयोजकले यस्तो हर्कत गरेको बुझिएको छ ।

सुरक्षाकर्मीको पसिना छुटायो नक्कली पासले
माओवादीले जथाभावी बाँडेको हजारौँ पास र नक्कली पासले उद्घाटन समारोहमा खैलाबैला मच्चिएको थियो । रंगशालाको क्षमताभन्दा पनि बढी पास वितरण भएका कारणले दर्शकहरूलाई खुला चौरमा बसाउन पनि सुरक्षाकर्मीको पसिना छुटेको थियो । अझ राष्ट्रपति र प्रधानमन्त्रीको सवारीले गर्दा स्थानीय बासिन्दाले समेत सास्ती भोग्नुपरेको थियो । आयोजक कमिटीले पहेँलो रंगको सक्कली पास दिए पनि त्यसलाई रातारात कलर प्रिन्टमा फोटोकपी गरेर माओवादीका कार्यकर्ता उद्घाटन समारोह हेर्न पुगेका थिए । ती नक्कली पास स्वयम् माओवादीका स्थानीय नेताहरूले बाँडेका थिए । त्यस्ता पासहरूमा आयोजक कमिटीका संयोजकको हस्ताक्षर नदेखे पनि स्वयम् कार्यकर्ताहरूले नै नक्कली हस्ताक्षर गरेका थिए ।

आखिर सेनाले नखेल्ने नै भो
राष्ट्रिय खेलाडीहरू उत्पादन गर्नमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको नेपाली सेनाले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता नजनाउने पक्का भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले उद्घाटन एक दिनअघिसम्म सेनाले सहभागिता जनाउने विश्वास लिए पनि त्यसमा तुराषापात भएको छ । राखेपले चार विभागीय टिमको सहभागितामा अन्तिम समयसम्म पनि सेनाको नाम हटाएको थिएन । तर, सेनाले अन्तिम दिनसम्म आफ्नो सहभागिताबारे परिषद्लाई कुनै जानकारी नदिएपछि राखेपले सेनाले राष्ट्रिय प्रतियोगिता नखेल्ने जानकारी गराएको हो । सेनाले छैटौँमा १८ खेलमा प्रतिस्पर्धा गर्दै थियो । माओवादीको पीएलए क्लबलाई अन्य विभागीय टोलीसरह राखेपले मान्यता दिएपछि असन्तुष्ट बनेको सेनाले त्यसपछि छैटौँ नखेल्ने निर्णय गरेको थियो । स्मरण छ, सेनाले पाँचौँ राष्ट्रिय प्रतियोगितामा पनि पीएलएले सहभागिता जनाएका ६ वटा खेलमा सहभागिता जनाएको थिएन । यसपटक पनि सेनाले त्यस्तै निर्णय गर्ने कुरामा राखेप विश्वस्त रहे पनि त्यस्तो हुन सकेन । सेना आफ्नो नखेल्ने निर्णयमा अडिग रह्यो । सेनाको यो निर्णय व्यक्तिगत रूपमा स्वागतयोग्य भए पनि छैटौँमा भने यसको प्रभाव नकारात्मक परेको छ ।