पक्का दुलहीझैं सिँगारियो सुदूरपश्चिम

पक्का दुलहीझैं सिँगारियो सुदूरपश्चिम


यतिबेला छैटौँ राष्ट्रिय प्रतियोगिताका लागि दुलहीजस्तै सिँगारिएको छ सुदूरपश्चिम । सुदूरपश्चिमलाई ‘सुन्दरपश्चिम’ बनाउन अहिले धनगढी र महेन्द्रनगरमा सम्पूर्ण तयारी भइसकेको छ । छोटो समयको तयारीमा पनि आफूलाई उत्कृष्टताको साँचोमा ढालेको सुदूरपश्चिम अहिले दुलहीझैं सिँगारिएको छ भने खेलाडीको आतिथ्यका लागि नमन गरेर बसेको छ । भौतिक पूर्वाधारको कमी र तत्कालीन सरकारको गैरजिम्मेवारीले गर्दा पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाबाट हात धुनुपरेको सुदूरपश्चिमले छैटौँलाई भने दुलही बनाएर भित्र्याउन सफल भएको छ । प्रतियोगिताको आयोजनाबारे विभिन्न अड्कलबाजी र समय सारणीको व्यापक चर्चा चलिरहेको अवस्थामा यसपटक सुदूरपश्चिमले आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाउँदै महत्त्वपूर्ण प्रतियोगिताको आयोजना गर्न सक्छ भनेर देखाइदिएको छ ।
विभिन्न उतारचढावका बाबजुद सुदूरपश्चिममा छैटौँ राष्ट्रिय प्रतियोगिताको आयोजना हुने पक्का भएको छ । यतिबेला आयोजनास्थलको रूपमा रहेका धनगढी र महेन्द्रनगरमा पूर्वाधारको निर्माण, पुनर्निर्माणदेखि लिएर समारोह व्यवस्थापन, यातायात र आवासलगायतका अन्य व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको छ । खेलाडी, पदाधिकारी, प्रशिक्षक, पर्यवेक्षक र सञ्चारकर्मीलाई सक्दो सुविधा प्रदान गर्न दुवै सचिवालयहरूले ज्यान दिएर लागेका छन् । पहिलोपटक सुदूरपश्चिममा आयोजना हुन लागेर र सुदूरपश्चिमको मान, सम्मान र प्रतिष्ठा पनि छैटौँसँग गाँसिएकोले यो प्रतियोगितालाई सफलताको मूर्तरूप दिन सचिवालयहरूले कुनै कसुर राखेको छैन । सीमित समयका कारणले केही कमी-कमजोरी अवश्य भए पनि अन्य रूपमा सुदूरपश्चिम राष्ट्रिय प्रतियोगिताको आयोजनाका लागि पूर्णरूपमा तयारी रहेको छ ।
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ खेल समावेश गरिएको छ । जसमा धनगढीमा १३ महेन्द्रनगरमा १२, टीकापुरमा दुई र अन्य बाँकी खेल काठमाडौं र वीरगञ्जमा सञ्चालन हुनेछन् । महेन्द्रनगरमा आयोजना गरिने खेलहरूमा क्रिकेट (महिला/पुरुष), हक्की चेस (बुद्धिचाल), आर्चरी, भारोत्तोलन, शारीरिक सुगठन (बडी बिल्डिङ), कुस्ती, कबड्डी (महिला), उसु, तेक्वान्दो, टेबलटेनिस महिला/पुरुष, फुटबल र पुरुष भलिबल रहेका छन् । त्यस्तै धनगढीमा आयोजना गरिने खेलहरूमा एथलेटिक्स, फुटबल, भलिबल (महिला), लनटेनिस, सफ्ट टेनिस, ह्यान्डबल, जुडो, कबड्डी (पुरुष), बक्सिङ, कराते, ब्याडमिन्टन, बास्केटबल (महिला/पुरुष), जिम्न्यास्टिक र साइक्लिङ रहेका छन् । यसैगरी धनगढीको टीकापुरमा आईटीएफ तेक्वान्दो र कराते (फुलकन्ट्याक) आयोजना हुनेछ भने बाँकी सुटिङ, गल्फ, विलियर्ड स्नुकर, पौडी, साइकिङ र स्क्वास काठमाडौं र वीरगञ्जमा हुनेछन् ।
छैटौँ राष्ट्रिय प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पीएलए स्पोर्टस् क्लब र विश्वविद्यालय खेलकुदलाई पनि विभागीय टिमको रूपमा समावेश गरिएको छ । स्मरणीय छ, विश्वविद्यालय खेलकुदलाई विभागीय टोलीको रूपमा समावेश गरिएको यो पहिलोपटक हो । विश्वविद्यालयले छैटौँमा तीन खेल बास्केटबल (महिला पुरुष), फुटबल र भलिबलमा प्रतिस्पर्धा गर्दै छ । विभागीय टोलीको रूपमा पीएललाई अस्वीकार गर्दै नेपाली सेनाले छैटौँमा सहभागिता नजनाउने बताए पनि अहिलेसम्म नेपाली सेनाले खेल्ने/नखेल्नेबारे कुनै टुङ्गो लाग्न सकेको छैन । सेनाले छैटौँमा सहभागिता नजनाउने गरेको निर्णय अहिले प्रधानमन्त्रीसमक्ष पुगिसकेको र राखेपले पुनः सहभागिताका लागि पत्राचार गरेको अवस्था हुँदा भोलि सेनाले खेल्छ वा खेल्दैन त्यसै भन्न सकिने अवस्था छैन । स्मरण छ, पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेनाले पीएलले सहभागिता जनाएका ६ वटा खेलमा सहभागिता नजनाएर अन्य खेलमा भने अन्तिम समयमा सहभागिता जनाएको थियो । यसपटक सेनाबाट यस्तो अपेक्षा नगरिएको सेनाले सम्पूर्ण खेलमा सहभागिता जनाउने विश्वास गरिएको छ ।
छैटौँ राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि निर्माण भएका विभिन्न खेलका खेलमैदानबारे हालै राष्ट्रिय खेलकुद परिषद्को उच्चस्तरीय प्राविधिक टोलीले निरीक्षण गरेर छ । सो टोलीले पूर्वाधार र खेलमैदानहरूको निर्माण सन्तोषजनक भएको र प्रतियोगिता सञ्चालनमा कुनै कठिनाइ नहुने प्रस्ट पारेका छन् । क्रिकेटमैदान र पिचको निर्माणमा ढिलासुस्ती भएको र तोकिएको अवस्थामा निर्माण नहुने र प्रतियोगिता आयोजना गर्न नसकिने कुरा सञ्चारमाध्यममा आए पनि सचिवालयले त्यसलाई राष्ट्रिय खेलकुद प्रतियोगिता बिथोल्नेहरूको षड्यन्त्र भएको बताएको छ । वर्तमान अवस्था क्रिकेट मैदानमा रोलिङ गर्ने कार्य चलिरहेको र पिच निर्माणकार्य पूर्ण भइसकेको जानकारी गराएको छ । सचिवालयले क्रिकेटमैदान एक साताभित्रै तयारी हुने बताउँदै प्रतियोगितामा कुनै असर नपर्ने दाबी गरेको छ । स्मरणीय छ, क्रिकेटको महिला तथा पुरुष दुवै समूहको खेल महेन्द्रनगरमा आयोजना हुँदै छ । त्यस्तै धनगढी रंगशालाको प्यारापिट र एथलेटिक्स ट्रयाकको निर्माणबारे पनि विभिन्न टीकाटीप्पणी भए पनि सचिवालयका प्रमुख दीपक साउदले धनगढीमा आयोजना हुने सबै १३ खेलको निर्माण तोकिएकै समयमा हुने बताएका छन् ।
राष्ट्रिय प्रतियोगिताको आायोजना समयमै हुने निश्चित भए पनि खेलाडी र प्रशिक्षकहरूले विशेष प्रशिक्षणको समय अपुग भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्को आलोचना र विरोध गरेका छन् । उनीहरूले पाँचौँ राष्ट्रिय खेलकुदमा सात दिनको विशेष प्रशिक्षण राखिएको बताउँदै कम्तीमा पनि विशेष प्रशिक्षण सात दिनको हुनुपर्ने राखेपसँग माग गरेका छन् । तर, राखेपले यो कुरालाई नजरअन्दाज गर्दै तीन दिन अर्थात् फागुन ९, १० र ११ लाई विशेष प्रशिक्षणको समय निर्धारण गरेको छ । हालै सुदूरपश्चिमको भ्रमण सिध्याएर फर्केका राखेपका सदस्यसचिव युवराज लामाले आर्थिक अभावका कारणले विशेष प्रशिक्षणको समय तीन दिनमा सीमित पारेको बताएका छन् । लामाले प्रतियोगिताको आयोजना महत्त्वपूर्ण भएको खुलासा गर्दै थोरै समयको विशेष प्रशिक्षणले खेलाडीको प्रदर्शनमा कुनै असर नपर्ने जानकारी गराएका थिए । राखेपले तीन दिन मात्रै विशेष प्रशिक्षणको व्यवस्था गरेपछि अहिले केही खेलका खेलाडीहरू आफ्नै खर्चमा विशेष प्रशिक्षणमा जुटेका छन् ।
यसरी लामो समयदेखि चेपुवामा पर्दै आएको छैटौँ राष्ट्रिय प्रतियोगिता अन्त्यमा सुदूरपश्चिममा हुने पक्का भएको छ । भौतिक पूर्वाधारको अभाव, बजेटको अभाव, राजनीतिक विवाद र आपसी तालमेलको अभावले गर्दा सुदूरपश्चिममा प्रतियोगिता हुने/नहुने भन्नेबारे विगतदेखि विवाद उत्पन्न हुँदै आएको थियो । जसले गर्दा प्रतियोगिता अनिश्चितताको घेरामा परेको थियो । जसरी पनि राष्ट्रिय प्रतियोगिता गर्नुपर्द भन्नेहरू र प्रतियोगिताले औचित्य पुष्टि गर्नुपर्द भन्नेहरूको बीचमा ठूलो बहस नै चलेको थियो । जसका लागि सुदूरपश्चिमका राजनीतिक दलका नेता, समाजसेवी र जनताबीच बृहत् छलफल भएको थियो । राष्ट्रिय हिरो जन्माउने खेलकुद प्रतियोगिताको आयोजना गर्दा आफ्नो उद्देश्यमा सफल हुन सकेन भने त्यो औचित्यहीन हुने निष्कर्ष निकालिएको थियो । फलस्वरूप सबैले सुदूरपश्चिममा छैटौँ राष्ट्रिय प्रतियोगिता गर्ने कुरामा एकमत जाहेर गरे पनि मुलुकको सङ्क्रमणकालीन अवस्था र समयको सीमालाई मध्यनजर राख्दै यसै हुन्छ भनेर ठोकुवा गर्न सकेका थिएनन् । तर, अहिले समयले कोल्टे फेरेको छ । सुदूरपश्चिममा राष्ट्रिय प्रतियोगिता हुने निश्चित भएको छ ।

बालाजु डो प्रतिष्ठानद्वारा खेलाडी सम्मानित
हालै यूएई कराते महासङ्घको आयोजनामा अल-अहली क्लबमा सम्पन्न भएको दुबई अन्तर्राष्ट्रिय कराते ओपन च्याम्पियनसिप तथा रेफ्री सेमिनारमा बालाजु डो प्रतिष्ठान नेपालले खेलाडी, रेफ्री र अफिसियल गरी दशजनालाई सहभागिता गराएको थियो । उक्त प्रतियोगितामा नेपाली खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेकोमा महिला जुनियर एकल कातातर्फ विमला तामाङ प्रथम, ज्योति घले दोस्रो र कृपा गुरुङले तेस्रो स्थान हात पार्न सफल भएका थिए । त्यस्तै सिनियर महिला टिम काता र महिला जुनियर टिम फाइटतर्फ दोस्रो स्थान र एकल सिनियर कातातर्फ विमला तामाङले तेस्रो स्थान हासिल गरेका थिए । नेपाली खेलाडीले यो प्रतियोगितामा एक स्वर्ण तीन रजत र दुई कास्य गरी कुल ६ वटा पदक जित्न सफल भएको थियो ।
नेपाललगायत मलेसिया, कुवेत, साउदी अरेबिया, सिरिया, यमन, अमेरिका, अस्ट्रेलिया, इजिप्ट, मोरक्को, स्विडेन, यूएई, किरि्गस्तान, कतार, प्यालेस्टाइन र भारतलगायत ४२ राष्ट्रका खेलाडीले यो प्रतियोगितामा सहभागिता जनाएका थिए । सो प्रतियोगिताको अवसरमा विश्व कराते महासङ्घ (डब्लूकेएफ) रेफ्री काउन्सिलका अध्यक्ष कोन कसिस, एसियन कराते महासङ्घ रेफ्री काउन्सिलका अध्यक्ष लिम ची जीन र दक्षिण एसियाली कराते महासङ्घका रेफ्री काउन्सिल अध्यक्ष भाष्कर सिनोभासेनले विश्व कराते महासङ्घका धेरैजसो रेफ्री कमिसनका सदस्यको उपस्थितिमा हाल परिवर्तित रेफ्रीसम्बन्धी नियमबारे प्रशिक्षण गराएका थिए । उक्त करातेको परिवर्तित रेफि्रकोर्शमा धु्रवविक्रम मल्ल, बलराम मित्र, छत्रबहादुर आले, रेशम लामा, विसन सिंहले सेमिनारमा भाग लिएका थिए । प्रतियोगितामा नेपाली खेलाडी टोलीको नेतृत्व बालाजु कराते डो प्रतिष्ठान नेपालका अध्यक्ष धु्रवविक्रम मल्ल र व्यवस्थापक अयुब खानले गर्नुभएको थियो ।
विजय खेलाडीको सम्मानमा हालै बालाजु डोजोले आयोजना गरेको एक सम्मान कार्यक्रममा विमला तामाङलाई २५ हजार र ज्योति गुरुङ र कृपा घलेलाई १५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो । सो सम्मान कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्य परमतारा तुलाधरले स्पोर्टस् सामग्री तथा राजकाजी शाक्यले उपहार प्रदान गरेका थिए ।

अरनिकोद्वारा सागर सम्मानित
अरनिको आवासीय विद्यालय, भोटेबाहलले राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापालाई हालै नगदसहित सम्मान गरेको छ । नेपाली फुटबल क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई राष्ट्रको प्रतिष्ठा बढाउने कार्यमा महत्त्वपूर्ण योगादन पुर्‍याएबापत सागरलाई सम्मान गरिएको हो । आफ्नो वार्षिक खेलकुद दिवसको पुरस्कार वितरण समारोहको अवसरमा राष्ट्रिय खेलकुद परिषद् ? राखेप) को कभर्डहलमा आयोजित एक कार्यक्रमबीच अरनिकोका प्रिन्सिपल सञ्जय योञ्जनले सागरलाई १० हजार रूपैयाँसहित कदरपत्र प्रदान गरेका थिए ।
सम्मानित भएपछि सागरले खुसी व्यक्त गर्दै सम्मानले आगामी दिन अझ राम्रो गर्न प्रोत्साहन मिलेको धारणा व्यक्त गरे । गत वर्ष पनि उक्त विद्यालयले तेक्वान्दोकी संगीना वैद्य र बक्सिङका दीपक महर्जनलाई नगदसहित सम्मान गरेको थियो । आगामी दिनमा पनि खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रिन्सिपल योञ्जनले जानकारी गराएका थिए । वार्षिक खेलकुद दिवसको अवसरमा फनरेसका साथै विविध खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो । जसअन्तर्गत टेबलटेनिसको छात्रमा सौरव बज्राचार्य, ब्याडमिन्टनको छात्रमा सुमन यादव र छात्रामा रेखा सराफ, बुद्धिचालमा इभान गौचन तथा पुलमा सन्देश श्रेष्ठ पहिलो भएका थिए । समग्रमा रेडहाउसले पहिलो स्थान हासिल गरेको थियो । विजेता रेडहाउसलाई सागरलगायतले पुरस्कार वितरण गरेका थिए ।

वृहस्पतिद्वारा फुटबलको उपाधि रक्षा
दोस्रो वृहस्पति विद्यासदन रजत महोत्सव रनिङ सिल्ड अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि आयोजक वृहस्पति विद्यासदनले जितेको छ । नक्सालस्थित घरेलु मैदानमा साविक विजेता वृहस्पतिले अरूणिमालाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको थियो । विजयी टिमका लागि दुवै गोल ‘वोमन अफ द म्याच’ घोषित साधना खड्काले गरेकी थिइन् । अरूणिमाकी रञ्जना तामाङले सान्त्वना गोल गरेकी थिइन् । विजेतालाई आयोजकका प्रिन्सिपल सुमन थिङ लामाले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा सात टिम सहभागी थिए ।

कान्तिपुर हाफ म्याराथन, हरि र वृन्दा च्याम्पियन
दोस्रो कान्तिपुर हाफ म्याराथनको उपाधि पुरुषतर्फ आर्मीका हरिकुमार रिमाल र महिलातर्फ एपीएफकी वृन्दा श्रेष्ठ देशारले जितेका छन् । उपाधिसँगै दुवै खेलाडीले नगद पचास-पचास हजारसहित ट्रफी प्राप्त गरेका थिए । उक्त म्याराथनमा हरिले तीन सय ४६ खेलाडीलाई पछि पार्दै निर्धारित दूरी १ घन्टा ८ मिनेट ३५ सेकेन्डमा पूरा गरेका थिए । त्यस्तै वृन्द्राले १ घन्टा १८ मिनेट ३७ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।
कान्तिपुर पब्लिकेसन्सको २०औँ वार्षिकोत्सवका अवसरमा भएको हाफम्याराथनमा पुरुषतर्फ शीर्ष ६ मा आर्मीकै खेलाडी रहेका थिए । झिनो समयको अन्तरले दोस्रो भएका आर्मीका कल्याण बानियाँले १ घन्टा ८ मिनेट ४२ सेकेन्डको समय निकाल्दै २५ हजार प्राप्त गरेका थिए । त्यस्तै तेस्रो भएका राजन खत्रीले १ घन्टा ८ मिनेट ५१ सेकेन्डमा दौड पूरा गर्दै १० हजार रूपैयाँ जितका थिए । यस्तै, लेटरसिंह खत्री चौथो, कृष्ण बस्नेत पाँचौँ र होमलाल श्रेष्ठ छैटौँ स्थानमा रहेका थिए ।
महिलामा दोस्रो भएकी एपीएफकी कृष्णेश्वरी सिन्तकलाले १ घन्टा ३० मिनेट ४८ सेकेन्डको समय निकाल्दै २५ हजार प्राप्त गरिन् । अमेरिकी धाविका क्याथरिन हेम्सले तेस्रो स्थान प्राप्त गर्दै १० हजारमा चित्त बुझाइन् । उनले १ घन्टा ३८ मिनेटमा दूरी पूरा गरेकी थिइन् । कान्तिपुर पब्लिकेसन्सबाट प्रशान्त अर्यालले दौड पूरा गरेका थिए । नेपाल साप्ताहिकका सम्पादक अर्यालले २ घन्टा ११ मिनेटमा दूरी पूरा गरेका थिए । म्याराथन कान्तिपुर पब्लिकेसन्सबाट सुरु भएर माइतीघर, थापाथली, सुन्धारा, लैनचौर, नारायणगोपाल चोक, चाबहिल, गौशाला, कोटेश्वर हुँदै जडीबुटी पुल पुगेर कोटेश्वर हुँदै पब्लिकेसन्स अघि नै आएर सम्पन्न भएको थियो । म्याराथनको
प्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गरेका थिए ।
म्याराथनमा तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफसहित पाँच सय नौजना धावकले सहभागिता जनाएका छन् । जसमध्ये तीन सय ४६ पुरुष र एक सय ५० महिला धावक रहेका थिए । हि्वलचेयर तीन किलोमिटरमा पुरुषतर्फ कृष्णराज चौधरी र महिलातर्फ ज्योति अर्याल विजयी भएका थिए । कृष्णराजले १२ मिनेट २० सेकेन्डमा र ज्योतिले १७ मिनेट ३८ सेकेन्डमा उक्त दूरी पार गरेका थिए । त्यस्तै पुरुष तेजबहादुर धर्तीमगर १३ मिनेट ५३ सेकेन्डको समय निकाल्दै दोस्रो भए ।
त्यस्तै पुरुषमा जय कार्की तेस्रो भएका थिए । महिलातर्फ यामी मगरले १८ मिनेट ४ सेकेन्डको समय निकाल्दै दोस्रो भएकी थिइन् भने सरिता कोइराला तेस्रो । विजेता खेलाडीलाई क्रमशः ५, ३ र २ हजार प्रदान गरिएको थियो । हि्वलचेयरमा प्रतिस्पर्धा गरेका १३ खेलाडी हि्वलचेयर खेलकुद सङ्घका हुन् । पत्रिकाको प्रकाशन सुरु भएको दिन प्रजातन्त्र दिवसको अवसर पारेर गरिएको कार्यक्रममा कर्पोरेट ग्रुपका लागि वाकाथन भएको थियो । ‘समृद्ध नेपालका लागि एक हौँ’ भन्ने नारासहितको वाकाथनमा विभिन्न संस्थाका पाँच सयभन्दा बढीले सहभागिता जनाएका थिए ।

ज्ञानोदय र नेरिकलाई उपाधि
दोस्रो इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सको उपाधि ज्ञानोदयले जितेको छ । सिनियर र जुनियर ब्वाइजमा नेरिक एकेडेमी च्याम्पियन बन्यो । सिनियर गल्र्सको फाइनलमा ज्ञानोदयले महेन्द्रभवनको चुनौती ३१-२६ ले समाप्त पारेको थियो । विजेताको तर्फबाट पासाङ खान्डु शेर्पाले १६ अङ्क जोडेकी थिइन् । सिनियर ब्वाइजको उपाधि भिडन्तमा नेरिकले आयोजक इनोभेटिभ इंग्लिस स्कुललाई ४८-२९ ले निराश पारेको थियो । नेरिकको जितमा सागर बस्नेतले १५ अङ्क योगदान गरेका थिए । त्यस्तै जुनियर ब्वाइजको फाइनलमा पनि नेरिकले इनोभेटिभलाई ३१-१४ ले पाखा लगाउँदै दोहोरो उपाधि कब्जा गरेको थियो । नेरिकका अभिषेक थापाले १० स्कोर गरेका थिए । सिनियर ब्वाइजमा नेरिकका अंकित भण्डारी, सिनियर गल्र्समा ज्ञानोदयकी गौतमी भट्टचन तथा जुनियर ब्वाइजमा नेरिकका प्रमिश शेर्पा ‘मोस्ट भेलुएवल प्लेयर’ चुनिएका थिए । त्यस्तै, सिनियर ब्वाइजमा इनोभेटिभका अजय कुँवर, सिनियर गल्र्समा ज्ञानोदयकी पासाङ खान्डु शेर्पा तथा जुनियर ब्वाइजमा इनोभेटिभका अजीव रोकाया उत्कृष्ट थ्री प्वाइन्टर घोषित भएका थिए । सिनियर ब्वाइजमा नेपाल सेन्ट्रल हाइस्कुल, सिनियर गल्र्समा न्युसमिट तथा जुनियर ब्वाइजमा रोजबर्डले अनुशासित टिमको उपाधि हात पारेका थिए । साताव्यापी प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा समान १२-१२ तथा सिनियर गल्र्समा ८ टिमले सहभागिता जनाएका थिए ।