राष्ट्रिय खेलकुद छैटौँको मापदण्ड अन्तर्राष्ट्रियस्तरको हुने

राष्ट्रिय खेलकुद छैटौँको मापदण्ड अन्तर्राष्ट्रियस्तरको हुने


यतिबेला छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चटारोले खेलकुदलाई निकै प्रभावित पारेको छ । एकपटक आयोजनाबाट हात धुनुपरेको सुदूरपश्चिममा पुन: त्यस्तो स्थिति आउन नदिन अहिले खेलकुदका पदाधिकारीहरू ज्यान छोडेर लागेका छन् । क्षेत्रीय प्रतियोगिता, भौतिक पूर्वाद्धारको निर्माण, आयोजनाको तयारी र बजेटको व्यवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो जिम्मेवारी तदारुकताका साथ निभाइरहेको छ । सरकारले छैटौँ राष्ट्रिय प्रतियोगितालाई सफलताको मूर्तरूप दिन अहिलेसम्म १३ करोड प्रदान गरिसकेको छ भने बाँकी रकमको छिट्टै व्यवस्था गर्ने थाहा भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को ८४औँ बोर्ड बैठकले आगामी फागुन १४ देखि २१ गतेसम्म सुदूरपश्चिममा सञ्चालन हुने छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३१ वटा खेल समावेश गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगितामा सहभागी गराइने ३१ वटा खेलमा एथलेटिक्स, फुटबल ?पुरुष/महिला), भलिबल (पुरुष/महिला), पौडी, जुडो, कबड्डी (पुरुष/महिला), कराते, ब्याडमिन्टन, बक्सिङ (पुरुष/महिला), बास्केटबल (पुरुष/महिला), क्रिकेट (पुरुष/महिला), चेस, भारोत्तोलन ?पुरुष/महिला), शारीरिक सुगठन, हक्की, तेक्वान्दो, कुस्ती, लनटेनिस, सफ्टटेनिस, टेबुलटेनिस, आर्चरी, जिम्न्यास्टिक, उसु, गल्फ, विलियर्ड तथा स्नुकर, सुटिङ, पौडी, स्क्वास, आईटीएफ तेक्वान्दो, फुलकन्ट्याक कराते र साइक्लिन रहेका छन् । त्यस्तै तेक्वान्दो युनियनलाई प्रदर्शन खेलको रूपमा राखिएको छ ।
छैटौँको तयारीबारे राखेपका सदस्यसचिव युवराज लामाले माघ २५ गतेसम्म सम्पूर्ण तयारी भइसक्ने प्रतिक्रिया दिएका छन् । लामाले लक्ष्य माघ १५ को भए पनि प्राविधिक कठिनाइले गर्दा थप १० दिन बढी लाग्ने बताएका छन् । वर्तमान अवस्थामा रंगशाला, ट्रयाक निर्माण र रिहर्सनको कार्य तीव्ररूपमा भइरहेको बताएका छन् । लामाले छैटौँ राष्ट्रिय प्रतियोगिताको मापडण्ड अन्तर्राष्ट्रियस्तरको हुने बताउँदै पाँचौँको जसरी चौरमा प्रतियोगिता आयोजना नहुने जानकारी दिएका थिए । लामाले हरेक खेलको आयोजना निश्चित भेन्युमा व्यवस्थित रूपमा आयोजना गरिने बताएका छन् । क्षेत्रीय प्रतियोगिताबारे जानकारी गराउने क्रममा लामाले माघको अन्तिमसम्म सकिने र त्यसपछि खेलाडीहरूलाई क्लोजक्याम्पमा राखिने बताएका छन् ।
वर्तमान अवस्थामा अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधारको निर्माणका लागि सरकारले ६ करोड प्रदान गरिसकेको र बाँकी दुई करोड छिट्टै प्रदान गर्ने जानकारी सदस्यसचिव लामाले गराएका थिए । यसका लागि राखेपले विशेष पहल गरेको र फाइल अर्थ मन्त्रालयमा पुगिसकेको बताएका थिए । त्यस्तै जिल्ला, क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताका लागि सरकारले २१ करोड ९४ लाख दिनुपर्नेमा अहिलेसम्म ११ करोड ९४ लाख प्राप्त भइसकेको खुलासा गरेका थिए । अब सरकारले प्रतियोगिताको सफल आयोजनाका लागि लगभग १४ करोड दिनुपर्ने बताएका थिए । लामाले बाँकी रकम सरकारले तुरुन्तै व्यवस्था गर्नुपर्ने र त्यसो नभए प्रतियोगिता नै धरापमा पर्ने बताए । स्मरण छ, राखेपले छैटौँको आयोजनाका लागि सरकारसँग ६० करोडको बजेट माग पनि सरकारले २७ करोड मात्र दिने निर्णय गरेको थियो । सोअनुरूप सरकारले अहिलेसम्म १३ करोड दिइसकेको छ । सीमित बजेट र छोटो समयमा सोचेअनुरूप कार्य भएको बताउने लामाले सरकारले समयमै बजेट प्रदान गरेमा छैटौँ राष्ट्रिय प्रतियोगिता ऐतिहासिक बन्ने दाबी गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा सुदूरपश्चिमाञ्चल क्षेत्रमा सञ्चालन गरिने छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्न प्रधानमन्त्री बाबुराम भट्टराईको संरक्षकत्व र माननीय युवा तथा खेलकुदमन्त्री कमला रोकाको अध्यक्षतामा तीन सय ७६ सदस्यीय मूल आयोजक समिति र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको अध्यक्षतामा २५ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ । त्यस्तै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमाञ्चल क्षेत्रको लोकप्रिय जनावरका रूपमा परिचित बाह्रसिङ्गे ?जरायो) लाई मस्कटका रूपमा प्रयोग भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को ८६औँ बोर्ड बैठकले सुदूरपश्चिमाञ्चलमा हुने छैटौँ राष्ट्रिय खेलकुदलगायत विभिन्न विषयमा केन्द्रित रहेर निर्णयहरू गरेको थियो । उक्त बैठकले छैटौँ राष्ट्रिय खेलकुद उद्घाटन समारोहका लागि प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादव, विशेष अतिथिमा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा विशिष्ट अतिथिहरूमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ?प्रचण्ड), नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष्ँ झलनाथ खनाल र मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारलाई आमन्त्रण गरी राष्ट्रिय एकताको सन्देश दिने निर्णय गरेको थियो । साथै पुरस्कार वितरण तथा समापन समारोहका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने निर्णय गरिसकेको छ ।
यसरी लामो समयदेखि चेपुवामा पर्दै आएको छैटौँ राष्ट्रिय प्रतियोगिता अन्त्यमा सुदूरपश्चिममा हुने सङ्केत देखिएको छ । भौतिक पूर्वाधारको अभाव, बजेटको अभाव, राजनीतिक विवाद र आपसी तालमेलको अभावले गर्दा सुदूरपश्चिममा प्रतियोगिता हुने-नहुने भन्नेबारे विगतदेखि विवाद उत्पन्न हुँदै आएको थियो । जसले गर्दा प्रतियोगिता जहिले पनि अनिश्चितताको घेरामा परेको थियो । जसरी पनि राष्ट्रिय प्रतियोगिता गर्नुपर्छ भन्नेहरू र प्रतियोगिताले औचित्य पुष्टि गर्नुपर्छ भन्नेहरूको बीचमा ठूलो बहस नै चलेको थियो । जसका लागि सुदूरपश्चिमका राजनीतिक दलका नेता, समाजसेवी र जनताका बीचमा बृहत् छलफल भएको थियो ।
राष्ट्रिय हिरो जन्माउने खेलकुद प्रतियोगिताको आयोजना गर्दा आफ्नो उद्देश्यमा सफल हुन सकेन भने त्यो औचित्यहीन हुने निष्कर्ष निकालिएको थियो । फलस्वरूप सबैले सुदूरपश्चिममा छैटौँ राष्ट्रिय प्रतियोगिता गर्ने कुरामा एकमत जाहेर गरे पनि मुलुकको सङ्क्रणमकालीन अवस्था र समयको पावन्दीलाई मध्यनजर राख्दै यसै हुन्छ भनेर ठोकुवा गर्न सकेका थिएनन् । तर, अहिले समयले कोल्टे फेरेको छ । सुदूरपश्चिममा राष्ट्रिय प्रतियोगिता हुने निश्चित भएको छ ।
यतिबेला छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने पक्का भए पनि यो प्रतियोगिताले आफ्नो औचित्य सावित गर्न सक्छ या सक्तैन त्यो प्रतीक्षाको विषय बनेको छ । सदस्यसचिव लामाले राष्ट्रिय प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने र यसले खेलकुदमा नौलो आयाम थप्ने बताए पनि त्यसको मूल्याङ्कन भविष्यमा अवश्य हुनेछ । प्रतियोगितालाई नजिकबाट नियालिरहेका आमखेलप्रेमी र विज्ञहरूले प्रतियोगिता हुनु आफैंमा राम्रो र स्वागतयोग्य कुरा भए पनि प्रतियोगिता उद्देश्यपूरक हुनुपर्ने कुरामा जोड दिएका छन् । खेलकुदको आयोजनाले समाजको स्वरूपमा नै परिवर्तन ल्याउने र स्वस्थ समाजको निर्माणमा सकारात्मक भूमिका खेल्ने भएकाले खेलकुद प्रतियोगिता खेलकुदको भावनाअनुरूप हुनुपर्ने बताएका छन् । अर्को कुरा राष्ट्रिय प्रतियोगिताले खेलकुदमा नयाँ हिरो जन्माउने भएकाले यदि प्रतियोगिता यसमा खरो उत्रिन सकेन भने त्यो अर्थहीन हुनेसमेत दाबी गरेका छन् ।

च्याम्पियन कराते खेलाडी सम्मानित
बंगलादेशको ढाकामा भएको दोस्रो फजिलतुन्नेसा मुजिव अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत करातेतर्फ च्याम्पियन बनेको कराते टोलीलाई गत साता सम्मान गरिएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको उक्त कार्यक्रममा आईटीएफका चार स्वर्ण विजेता तथा बक्सिङमा रजत पदक जित्न सफल खेलाडीलाई पनि सम्मान गरिएको थियो । जनवरी १० देखि १३ तारिखसम्म सञ्चालन भएको उक्त च्याम्पियनसिपको करातेतर्फ कुल १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै सबै स्वर्णमाथि कब्जा जमाएको थियो । एकल काताको पुरुषमा पर्शुराम बास्तोला र महिलामा शुभद्रा श्रेष्ठले स्वर्ण जितेका थिए । टिम काताको पुरुषमा गणेशबहादुर थिङ, केदारबहादुर सिंखडा र मण्डेकाजी श्रेष्ठ तथा महिलामा शुभद्रासहित संगीता डङ्गोल र चञ्चला दनुवारले स्वर्ण चुमेका थिए । त्यस्तै कुमुतेतर्फ पुरुषको ५० केजीमुनि विजय लामा, ५५ केजीमुनि सुनील लामा, ६१ केजीमुनि विनोद महर्जन, ६८ केजीमुनि मुकुन्द महर्जन तथा ७६ केजीमुनि लेखनाथ मैनालीले पहिलो स्थान हात पारेका थिए । कुमुतेतर्फ महिलाको ४६ केजीमुनि मल्लिका थापा, ५० केजीमुनि अनु अधिकारी, ५५ केजीमुनि रोजी नगरकोटी, ६१ केजीमुनि लक्ष्मी भट्ट तथा ६८ केजीमाथि गंगादेवी अधिकारीले नेपाललाई स्वर्ण दिलाएका थिए । कराते टोलीको प्रशिक्षक दोर्जे लामा, दीपक श्रेष्ठ तथा गंगाराम महर्जन पनि सो अवसरमा सम्मानित भएका थिए ।
आईटीएफमा उमेश राजथला, विजय श्रेष्ठ, विश्व श्रेष्ठ र आकाश खनालले स्वर्ण जितेका थिए भने बक्सिङमा राजु महर्जनले रजत प्राप्त गरेका थिए । नेपाल कराते डो महासङ्घ एवम् नेपाल सितोरियो कराते डो सङ्घका संरक्षकसमेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले खेलाडीहरूलाई कदरपत्र प्रदान गरेका थिए । सो अवसरमा सदस्यसचिव लामाले नेपालमै भएको आठौँ दक्षिण एसियाली महासङ्घीय खेलकुदमा नेपालले हासिल गरेको ऐतिहासिक सफलताको स्मरण गर्दै भन्नुभयो, ‘हाम्रा खेलाडी स्वदेशी भूमिमा मात्र होइन उचित प्रशिक्षण पाए विदेशी भूमिमा पनि कीर्तिमान रच्न सक्षम छन्, यो सफलता त्यसैको परिणाम हो ।’ सदस्यसचिव लामाले उक्त सफलताले आफू परिषद्मा आएको सात महिनापछि मात्र बल्ल सदस्यसचिव भएको अनुभूति गरेको बताउँदै खेलाडीको यो सफलता नेपालका लागि अब आउने दिनमा राष्ट्रलाई गरि्वलो बनाउने सुरुवातका रूपमा लिएको धारणा व्यक्त गर्नुभयो ।
सदस्यसचिव लामाले करातेका विगतका नेतृत्वले खेलाडीको उचित व्यवस्थापनका विषयमा ध्यान नदिई व्यक्तिगत स्वार्थमा मात्र लिप्त भएकाले खेलाडीले आफ्नो क्षमताअनुसारको नतिजा दिन नसेकोको बताउनुभयो । करातेको विगतका नेतृत्व ब्ल्याकबेल्ट बेच्ने धन्दा र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित रहेकाले करातेले यस्तो सफलता आत्मसात् गर्न नसकेको हो । लामाले भन्नुभयो, ‘अहिलेको नेतृत्व त्यस्तो कार्यमा संलग्न नभई कराते खेल र खेलाडीको विकासमा मात्र केन्द्रित हुनेछ भन्नेमा म विश्वस्त छु ।’
कराते महासङ्घ एवम् सितोरियो कराते सङ्घका अध्यक्ष दावा गुरुङले खेलाडीको सफलताले कराते महासङ्घ, सितोरियो सङ्घ र राखेपको मात्र नभई सिङ्गो मुलुकको शिर ठाडो बनाएको बताउँदै यो सफलताले आसन्न दक्षिण एसियाली खेलकुदमा खेलाडीले अझ स्तरीय प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष गुरुङले आगामी दिनमा अझ व्यवस्थित ढङ्गले खेलाडीको प्रशिक्षणलाई अगाडि बढाउने वचनबद्धता प्रकट गर्नुभयो । सम्मान कार्यक्रमअघि खेलाडीहरूलाई सवारीसाधनमा राखी नगर परिक्रममा गराइएको थियो । त्रिपुरेश्वर राखेप हाताबाट सुरु भएको नगर परिक्रमा कार्यक्रम सुन्धारा, न्युरोडगेट, जुद्ध सालिक, इन्द्रचोक, असन, जमल हुँदै लैनचौरमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो । सम्मान कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्को व्यवस्थापनमा नेपाल कराते महासंघले आयोजना गरेको हो ।

शिरिषलाई दुई स्वर्ण
भारतको बेंग्लोरमा भएको अन्तर्राष्ट्रिय पौडी मिटमा नेपाली खेलाडी शिरिष गुरुङले दुई स्वर्ण जित्न सफल भएका छन् । गुरुङले दुई स्वर्णका अलावा थप एक रजत पनि हात पारेको नेपाल पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले जानकारी गराएका छन् । यू-१४ उमेर समूहअन्तर्गत शिरिषले एक सय मिटर फि्रस्टाइलमा १ मिनेट ०४.४५ सेेकेन्ड तथा दुई सय मिटर व्यक्तिगत मिड्लेमा दुई मिनेट ४०.२३ सेेकेन्डको समय निकाल्दै स्वर्ण स्वर्ण पदक जितेका थिए । त्यस्तै ५० मिटर ब्रेस्टस्ट्रोकमा ३७.३५ सेेकेन्ड समयसाथ शिरिष दोस्रो स्थानमा रहेका थिए । प्रतियोगितामा नेपाललगायत श्रीलङ्का, माल्दिभ्स र भारत गरी चार राष्ट्रको सहभागिता रहेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद महोत्सव
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा गत साता पोखरामा शुभारम्म भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद महोत्सव सम्पन्न भएको छ । उक्त महोत्सवमा १६ जिल्लाका दुई हजार ७८ खेलाडीले विभिन्न ३० खेलमा प्रतिस्पर्धा गरेका थिए । साताव्यापी महोत्सवमा दुई सय ५० स्वर्ण, दुई सय ५० रजत र तीन सय कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । महोत्सवको राष्ट्रिय खेलकुद परिषद् ?राखेप) की अध्यक्ष युवा तथा खेलकुदमन्त्री कमला रोकाले उद्घाटन गर्नुभएको थियो । महोत्सव सुदूरपश्चिमाञ्चलमा हुने छैटौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

मैत्रीपूर्ण रेस्लिङ फागुनमा
नेपलिज काउन्सिलको सहयोग तथा नेपाल-जापान सेवा सेन्टर प्रालिको आयोजनामा नेपाल-जापान मैत्रीपूर्ण अन्तर्राष्ट्रिय रेस्लिङ फागुनमा हुने भएको छ । हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका भरत विसुरालले प्रतियोगिता फागनुको ६ देखि ८ गतेसम्म पित्रुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ?राखेप) को कभर्डहलमा हुने जानकारी गराएका हुन् । प्रतियोगितामा नेपाली रेस्लरको नेतृत्व दि हिमालयन टाइगरले गर्नेछन् । सहभागी हुने अन्य नेपाली रेस्लरमा मिस्टर यती, द स्कोरपियन, अजिङ्गर, द रायनो, द कोब्रा, लिजर्ड किङलगायत छन् । त्यस्तै जापानी रेस्लरको अगुवाइ योसियुकी नाकामुराले गर्ने बताइएको छ । जापानी रेस्लर फुगो फुगो युमेजी, सुमितानी, सिनसुके वाकाताका तथा नोबोरु कुरोकावाले प्रतिस्पर्धामा सहभागिता जनाउने उक्त कार्यक्रममा बताइएको थियो । तीनदिने रेस्लिङका लागि अनुमानित बजेट २२ लाख रुपैयाँ खर्च हुने आयोजकले बताएको छ ।

साम्बोमा धनञ्जय निरि्वरोध
नेपाल साम्बो फेडेरेसनको हालै सम्पन्न पहिलो साधारणसभाले धनञ्जय श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमितिको निरि्वरोध चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षद्वयमा राजकुमार श्रेष्ठ र अमिर श्रेष्ठ, महासचिवमा भाइराजा भण्डारी, सचिवमा उत्तम श्रेष्ठ तथा कोषाध्यक्षमा रमेश पौडेल रहेका छन् । त्यस्तै सदस्यहरूमा कृष्णबहादुर राउत, भास्कर मास्के, मोहनकाजी भण्डारी, सागर थापा, कौशल आचार्य, बाबुराजा महर्जन, नारायण अधिकारी, सुनील केसी तथा मदन दाहाल छन् । सोही दिन बसेको केन्द्रीय कार्यसमितिको बैठकले संरक्षक, पाँच सल्लाहकार, तीन उपाध्यक्ष र पाँच सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । संरक्षकमा ध्रुवबहादुर प्रधान, सल्लाहकारमा प्रकाशचन्द्र घिमिरे, दानबहादुर घिसिङ, हिक्मतबहादुर माली, हरिभक्त शर्मा र प्रेमराज तिवारी, उपाध्यक्षमा प्रताप घिसिङ, रिसभदेव भट्टराई र राखेप प्रतिनिधि तथा सदस्यहरूमा इन्द्र डङ्गोल, प्रकाश श्रेष्ठ, सनोज महत, गीता राना तथा लक्ष्मी महत छन् ।

अन्तर्राष्ट्रिय सितोरियो सोबुकान चैतमा
नेपाल सितोरियो सोबुकान कराते डो सङ्घको आयोजनामा प्रथम सितोरियो सोबुकान अन्तर्राष्ट्रिय कराते प्रतियोगिता चैत पहिलो साता हुने भएको छ । चैत २ देखि ४ गतेसम्म हुने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा करिब आठ राष्ट्रको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष राजेशभक्त श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा २५ स्वर्णका लागि करिब १३० खेलाडीले प्रतिस्पर्धा गर्ने सङ्घका सदस्य संघरत्न महर्जनले बताए ।