बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु


बेलायतमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरसका कारण निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार (२६ मे) निधन भएको मृतकका आफन्त बलु राईलाई उद्धृत गर्दै राससले जनाएको छ ।

बताइएअनुसार पुर्ख्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए ।

शुरुमा कोरोनाको लक्षण देखिएपछि अस्पतालले जीतेन्द्रलाई घरमै आइसोलेसनमा बस्न सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।

घरनजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन । उनका श्रीमती नेपालमा र तीन छोरा बेलायतमामै छन् ।

हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ ।