यसरी ‘ढुङ्गा’ बन्दै थिए मानिस

(प्रलय प्रारम्भ–९)

■ देवप्रकाश त्रिपाठी



मानिस मर्ने कुरा कति सामान्य, ओहो ! कसैको मृत्युले कसैलाई नछुने, संवेदनहीन भएका सबै । कसैको मृत्युमा कोही नरूने । रोएर, देवीदेवता छोएर, कराएर केही गरेर पृथ्वीमा बढिरहेको ताप घट्नेवाला पनि थिएन, त्यसैले आउँदो निमेष मेरो मृत्युको क्षण भन्ने ठानेर बाँचिरहेका थिए बाँकी हरेक मान्छे ।

समयक्रममा धर्ती गिद्धहरूको बस्तीमा रूपान्तरित हुन पुग्यो । लासका दुर्गन्धले गिद्धको संसारलाई भने रोमाञ्चित र उल्लासमय बनाइरहेको थियो । मृत्युको पालो कुरेर बस्नेहरूको संसार साँघुरिदै जाँदा संसारबाट देशका सीमाहरू मेटिइसकेका थिए । केही वर्षअघिसम्म सबै मानिसका निमित्त प्रमुख चासो बनेको धन–सम्पत्ति यति उपेक्षित भइसकेका थिए कि त्यसको आर्जन र सङ्ग्रहको इच्छा सबैबाट मेटिइसकेको थियो ।

उतिबेला देशहरू अस्तित्वमा रहँदा सबैभन्दा कान्छो उमेरमा राष्ट्रपति बनेका चिरागको पनि ‘रोलक्रम’मा नै मृत्युको पालो आयो । बिहानै भएको हुँदा तापक्रम चवन्न डिग्री सेल्सियस मात्र थियो । मानिसले समय र तिथिमितिको हेक्का राख्न छोडिसकेकोले यहाँ राति, दिउँसो, बिहान र बेलुका शब्दले मात्र समयको प्रतिनिधित्व गर्न थालेको थियो ।

मानिसमा आफूप्रतिको मोह समाप्त भएपछि कसैका प्रति पनि मोह हुँदोरहेनछ । ईश्वर र पिताप्रति समेत आस्था टुटेपछि मानिस सम्पूर्ण रूपले टुट्दोरहेछ, कसैको कसैसँग कुनै सरोकार र साइनो हुँदोरहेनछ ।

चिराग बगैँचाको एउटा छेउमा ढलिरहेका थिए । सायद उनमा शब्दोच्चारण शक्ति पूर्णतः समाप्त भएको थियो, उनी कसैलाई आफूतिर आउन आँखाले सङ्केत गर्दै थिए । तर, उनको समीप कोही पुगिरहेको थिएन । पर्खालमा चारवटा गिद्ध ‘राष्ट्रपति’लाई लुछ्न प्रतीक्षारत देखिए । चिराग सायद सोह्र वर्ष लामो प्रेम–सम्बन्धपछि वैवाहिक बन्धनमा बाँधिएकी पत्नी सरगमलाई आफ्नो छेउमा खोज्दै थिए । तर, सरगम आफ्नै आँखाअगाडि एक समयको सबैभन्दा प्रिय, अर्थात् आफूभन्दा पनि प्रिय मानिस सधैंको निम्ति ढलिरहँदा संवेदनाहीन भावमा टुलुटुलु हेर्दै थिइन्, त्यो पनि टाढा घरको ढोकाको छेल पारेर ।

मानिसमा आफूप्रतिको मोह समाप्त भएपछि कसैका प्रति पनि मोह हुँदोरहेनछ । मृत्युको पालो कुरिरहनेमध्येकी एक सरगममा जीवन र जगतप्रतिको मोह सिद्धिएछ, अर्थात् उनी निर्मोही भइछन् । आफ्नो मृत्यु बोध भएकी उनलाई आफ्नो प्रियतमको मृत्युको पीडाले किञ्चित छोइरहेको थिएन ।

एक समय, धर्तीमा हरियाली छँदा उनको आफ्नो देश थियो । प्राकृतिक छटाले भरिपूर्ण उनको देशमा सबै मानिस वैभवशाली थिए । वैभवपूर्ण मुलुकको राष्ट्रपतिकी पत्नीको रूपमा सरगमको शान र मान देवीदेवताको भन्दा कम नरहेको ठानिन्थ्यो । उनी आफ्ना प्रेमी, पति चिरागप्रति यति समर्पित थिइन् कि चिराग आफूलाई संसारकै सबैभन्दा खुसी र भाग्यमानी ठान्थे । एउटा आत्मघाती आक्रमणबाट जोगिएका चिरागबारे मन्तव्य दिँदै सार्वजनिक समारोहमा एक दिन सरगमले भनेकी थिइन्, ‘मेरो परमेश्वर (पति) लाई मेरै उपस्थितिमा कसैले खोस्न सक्दैन । सतीसावित्रीले त मरिसकेका सत्यवानलाई फिर्ता ल्याएकी हुन्, म मेरो सत्यवानलाई मर्नबाट कसैगरी पनि जोगाउनेछु ।’

आफ्नो पिता, माता र अर्को दिन छोरी, ज्वाइँ हुँदै कुनै दिन आफ्ना दुवै छोराको मृत्युको खबर पाइन् । उनले मृत्यु आफ्नो पनि निकै निकट आइसकेको महसुस गरिरहँदा कुनै समय आफूले सबैभन्दा माया गरेको मान्छे मृत्युपञ्जामा परेर ढलिरहेको थियो । तर, सरगम संवेदनाहीन भइसकेकी थिइन्, आफ्ना प्राणप्याराको मृत्युले पनि उनलाई छोएन ।

यो त्यसबेलाको कुरा थियो, जब मानिसहरू जगत् र जीवनप्रति मोहित थिए । जीवन ठुल्ठूला अभिलाषाहरूमा जेलिएको थियो । तर, अहिले जगत् फेरिएको छ ।

पृथ्वी तात्दै जाँदा सुरूमा कीटपतङ्गहरू सबै मरे, त्यसलाई उनले बडो दुःखका साथ सहेकी थिइन् । त्यसपछि जनावरहरू सकिए, त्यसलाई पनि उनले सहँदै थिइन् । मानिस मरेको खबर आउन थाल्दा उनले त्यसलाई पनि कतै कोही मरेको ठानिन् र सहिन् । समय बित्दै जाँदा आफैले चिनेजानेका र आफन्तहरूसमेत मरेको खबर आउन थाल्यो, यसलाई पनि सगरमले कष्टसाथ सहने कोसिस गरिन् । यस्तैमा एक दिन आफ्नो पिता, माता र अर्को दिन छोरी, ज्वाइँ हुँदै कुनै दिन आफ्ना दुवै छोराको मृत्युको खबर पाइन् । उनले मृत्यु आफ्नो पनि निकै निकट आइसकेको महसुस गरिरहँदा कुनै समय आफूले सबैभन्दा माया गरेको मान्छे मृत्युपञ्जामा परेर ढलिरहेको थियो । तर, सरगम संवेदनाहीन भइसकेकी थिइन्, आफ्ना प्राणप्याराको मृत्युले पनि उनलाई छोएन, त्यसैले चिराग भएतिर उनको एक पाइला सरेन ।

केही क्षणपछि नै चिरागको शरीर निर्जीव वस्तुमा रूपान्तरित भयो । सरगमले चुपचाप हेरिरहिन् । पर्खालबाट गिद्धहरू ओर्लिए र ‘राष्ट्रपति’लाई लुछ्न थाले ।

गिद्धहरूले लुछिरहे, सरगम हेरिरहिन् । एकैछिनमा चिराग कंकालमा परिणत भए, सरगम घरभित्र पसिन् र तामाको ठूलो घ्याम्पोबाट आफूले मुस्किलले जोगाएर राखेको दुई गिलास पानी निकालेर पिइन् । यो पानी मर्दै गरेको मानिसलाई पिलाएर सायद उनी आफ्नो काल चाँडै निम्त्याउने पक्षमा थिइनन् । पानीका विकल्पमा तयार पारिएको क्याप्सुलको प्राविधिक कारणवश उत्पादन बन्द भएकोले यसरी पानीको व्यवस्था गर्नुपर्ने भएको थियो । कुनै बेला देशकै सबभन्दा शक्तिशाली र अगुवा पुरूषको परिचय बनाएका चिरागले जसरी देहत्याग गरे साधारण नागरिकको हरेक घरमा त्यो दिन–दिनको घटना थियो । ईश्वर र पिताप्रति समेत आस्था टुटेपछि मानिस सम्पूर्ण रूपले टुट्दोरहेछ, कसैको कसैसँग कुनै सरोकार र साइनो हुँदोरहेनछ । मृत्युको समीप हाजिर हुनुपरेपछि मानिस कसरी पाषाण बन्दोरहेछ भन्ने तथ्यको जीवित तस्बिर मानव इतिहासको यो कालखण्डमा प्रकट भइरहेको थियो । एक नमुना मात्र बनेकी थिइन् सरगम ।
(क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–

प्राणीविहीन बन्ने तीव्रतामा पृथ्वी

प्रतिक्रिया