‘नागरिक वैज्ञानिक’ कसजूले पत्ता लगाए नयाँ प्रजातिको बिरुवा

‘नागरिक वैज्ञानिक’ कसजूले पत्ता लगाए नयाँ प्रजातिको बिरुवा


वनस्पतिमा रुची राख्ने वैज्ञानिक सरोजकुमार कसजूले नगरकोट क्षेत्रमा फेला पारेका बिरुवा विश्वमै नयाँ भएको पुष्टि भएको छ ।

सिन्धुपाल्चोकको चौतारामा जन्मिएका कसजूले पत्ता लगाएको बिरुवाको नाम ‘थुनबर्जिया कसजूआना’ राखिएको छ । बेलायतको रोयल बोटानिक गार्डन एडिनबरा (आइबीजीई) ले बिरुवाको नाम राखेको हो ।

वैज्ञानिक कसजूले आफूले देखेका, चिनेका बिरुवाहरुको तस्बीर खिचेर विभिन्न संस्थामा पठाउने गर्दथे । त्यसै क्रममा उनले झण्डै चार वर्षअघि एउटा नौलो तस्बीर खिचेर आइबीजीईमा पठाएका थिए ।

कसजूले पत्ता लगाएको बिरुवा नौलो भएका कारण आइबीजीईमा कार्यरत डा. भाष्कर अधिकारी र जोन उडले त्यस बिरुवाको थप अध्ययन गरेर बेलायतबाट प्रकाशित हुने ‘क्यू बुलेटिन’ नामक जर्नलमा लेख छपाएपछि बिरुवालाई औपचारिक पहिचान मिलेको हो ।

संसारका विभिन्न देशमा नागरिक वैज्ञानिकले वनस्पति शास्त्रको अध्ययनमा निकै योगदान पुर्‍याएका हुन्छन्, तर नेपालमा नागरिक वैज्ञानिकले नयाँ प्रजातिको बिरुवा भेटाउने कुरा बिरलै हो भन्दै आइबीजीईमा कार्यरत डा. अधिकारीले कसजूप्रति आभार प्रकट गरेका राससले जनाएको छ ।

वि.सं २०१४ माघ २५ गते चौताराको पुरानो बजारमा जन्मिएका कसजुले श्रीकृष्ण विद्याश्रममा प्रारम्भिक शिक्षा शुरु गरेका थिए भने पद्मोदय माविबाट एसएलसी दिएका उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेका हुन् । कसजूलाई सिन्धुपाल्चोकमै पहिलो पटक एसएलसी पहिलो श्रेणीमा उत्तीर्ण गर्ने व्यक्तिका रुपमा चिनिन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट डीपीए र एमपीए गरेका कसजुले विसं २०३३ बाट नेपाल वायुसेवा निगममा संलग्न भएर ३८ वर्ष काम गरी अवकाश प्राप्त गरेका थिए । उनी अहिले काठमाडौंको ज्ञानेश्वरमा बस्दै आएका छन् ।