लकडाउनपीडितलाई नेपाल ताइवान एसोसिएसनको राहत

लकडाउनपीडितलाई नेपाल ताइवान एसोसिएसनको राहत


नेपाल ताइवान एसोसिएसन नामक सामाजिक संस्थाले काठमाडौं महानगरका विभिन्न भित्री टोल एवम् वडामा बसोबास गर्ने लकडाउनपीडित वासिन्दालाई राहत सहयोग उपलब्ध गराएको छ । ‘जहाँ समस्या त्यहाँ मनकारी सहयोग’ भन्ने धारणालाई व्यवहारमा उतार्दै सो संस्थाले राहत उपलब्ध गराएको हो ।

मुलुकमा बढ्दो कोभिड–१९ संक्रमणको उच्च जोखिमसँगै सरकारले जारी गरेको बन्दाबन्दी दुई महिना पुगेको छ । यसबीचमा दैनिक ज्यालादारी गर्ने मजदूरलगायत विपन्न तप्काका विभिन्न सहयोगापेक्षीलाई भोजनको जरुरत परिरहेको छ । यसैलाई मध्यनजर गर्दै भोकालाई भोजन भन्ने मूल अभीष्टसहित नेपाल ताइवान एसोसिएसनले राहत उपलब्ध गराएको संस्थाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

लकडाउनपीडितका लागि मात्र नभई अनेक प्राकृतिक विपत्तिको समयमा र अन्य विभिन्न सामाजिक अभियानमा समेत सहयोग उपलब्ध गराउँदै आएको उक्त संस्थाले आफ्नो अलग पहिचान बनाइसकेको छ । निःस्वार्थ सेवाका कार्यलाई अघि बढाउन संस्थाले नेपाल च्याप्टर गठन गर्ने तयारी गरिरहेको सम्बद्ध अभियन्ताहरूले बताएका छन् ।

राजु गुरुङ अध्यक्ष रहेका एसोसिएसनमा राजेश श्रेष्ठ र राम पाण्डे उपाध्यक्ष रहेका छन् भने कार्यसमित सदस्यहरूमा समीर मानन्धर, रामेश्वर दाहाल, सूर्य जैसी, कर्मा डिनभुप, मिङमा शेर्पा, देव गुरुङ, शंकर महर्जन र प्रदीप श्रेष्ठ रहेका छन् । यस्तै, नेपालका लागि संयोजकको जिम्मेवारी सुवोध प्रधानले निर्वाह गर्दै आएका छन् । स्थानीय जागरुक अभियन्ताहरू केदारमान सिङ, नेमेन्द्र प्रधान, निर्मल श्रेष्ठ, प्रवीण श्रेष्ठसमेत जुटेर गत बुधवार कामपा वडा न १३ स्थित खुसिवयलमा पचासभन्दा बढि लकडाउनपीडितलाई राहत वितरण गरिएको हो ।