दिवेशलाई अमेरिकन आइडलमा महत्वपूर्ण उपलब्धि हासिल

दिवेशलाई अमेरिकन आइडलमा महत्वपूर्ण उपलब्धि हासिल


नेपाली मूलका गायक दिवेश पोखरेललाई अमेरिकन आइडलमा फस्ट रनरअपको उपाधि हासिल भएको छ । अमरिकामा आर्थर गन नामबाट चिनिएका दिवेशलाई अमेरिकन आइडलको १८औँ संस्करणका लागि सोमबार बिहान भएको अनलाइन भोटिङमा दोस्रो स्थान हासिल भएको हो ।

पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएकोमा सामलाई अमेरिकन आइडलको उपाधि हासिल भएको छ ।

दिवेशलाई विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा विजेताकै उपलब्धि हासिल हुने सम्भावनाको आँकलन गरिएको थियो, तर फर्स्ट रनर अप (दोस्रो स्थान) हासिल हुनुलाई पनि महत्वपूर्ण उपलब्धि मानिएको छ । नेपाली कलाकारले अमेरिका जस्तो मुलुकमा एक मुलधारको गायकीका लागि आफूलाई खडा गर्नु ऐतिहासिक महत्वको रुपमा लिइएको छ ।

ज्ञातव्य छ, सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका दिवेशको चर्चा गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट भएको छनोटसँगै एकाएक चुलिएको थियो ।