कति अनुभवी थिए त हाम्रा पुर्खा !

कति अनुभवी थिए त हाम्रा पुर्खा !


■ रसना ढकाल

‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’, ‘हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु’ !

कति सारयुक्त या अर्थपूर्ण छन् यी शब्दहरू ! हरेक काल परिस्थितिसँग खेल्दा यी शब्दहरू सधैं हाम्रो जिब्रोमा आइरहेका हुन्छन् । यस्तै–यस्तै छन् अरु उखानहरू पनि जुन हाम्रो जीवनको दिनचर्यामा प्रायः प्रयोगमा ल्यारहेका हुन्छौँ । यी उखानहरू सबैको लागि अमूल्य बनेका छन । तर यस्तो अमूल्य उखान काहाँ बाट आयो ? किन बनायो ? कसले बनायो ? यो प्रश्नको जवाफ हामी सँग छैन ।

हामी भन्छौँ मात्र कि यस्ता उखान पुर्खाले बनाएका हुन् । आजको वैज्ञानिक युगमा आउँदा पनि हामी हाम्रा पुर्खाको आदर्श युगको कुरा गरिरहेका छौँ भने कति शक्तिशाली रहेछन् त हाम्रा पुर्खाले बनाएका उखानहरू ! हाम्रा पुर्खा शिक्षित पनि थिएनन्, न त आजको युगजस्तो सबै सेवा–सुविधाबाट सम्पन्न थिए । तर, तिनले रचेका उखानहरू वर्तमानमा हाम्रो लागि कुनै शस्त्र भन्दा बढ्ता काम लागेको छ । उखान आफैमा गजब्बको कुरा जस्तो छ, हुन त त्यो गजब्बकै हो तर त्यसले व्यक्तिलार्ई नीति–नियममा हिँड्न सिकाइरहेको हुन्छ । समयको अन्तरालसँगै त्यसलार्ई कति आत्मसात गर्न सकिन्छ भन्नेचाहिँ व्यक्तिमा भर पर्ने कुरा हो ।

वर्तमान युगमा भएका अनेकन वस्तुहरूको आविष्कार गर्ने वैज्ञानिक को हुन् भन्दा हामी सजिलैसँग उनको नाम र जीवनी पनि भन्न सक्छौँ । तर दुर्भाग्य ! जसले उखान बनाएर नियममा हिँड्न सिकाए त्यस्तो व्यक्तिहरूको स्कुलदेखि विश्वविद्यालयसम्मको कुनै पनि किताबमा नाम लेखिएको पाउँदैनौँ । किन लेखिएन पुर्खाको नाम ? कि उनीहरूले नाम लेखाउन चाहेनन् या त हामी कसैलार्ई थाहा नै छैन ? जे भए पनि पुर्खाबाट सिर्जना भएका उखानहरू हाम्रो दैनिकीमा यसरी मिलिरहेको छ कि मानौँ उनीहरूमा भविष्यवाणी गर्ने कला पनि थियो जस्तो लाग्छ ।

आज सारा विश्व एकअर्कालाई नमस्कार गर्ने अवस्थामा आइपुगेको छ । हाम्रा पुर्खाले हामीलार्ई बाहिर गएर घरभित्र आएपश्चात हातखुटा धोएर कोठाभित्र जान सिकाए, त्यही कुरा आज कोरोनाको कहरले बाध्य पारेको छ । हामीलार्ई हात धोएर मात्र खाना खान सिकाए, आज सारा विश्व साबुनपानीले पटक–पटक हात धोइरहेको छ ।

हाम्रा पुर्खाले बनाएका अनेकन उखानहरूको पछाडि पक्कै पनि वैज्ञानिक कारण छन् । जस्तै, ‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ भन्ने उखानमा मुढो प्रयोग गरेर बालिएको आगो धेरै बेरसम्म रहिरहन्छ, जति पनि ताप्न सकिन्छ भने पाका वा अनुभवी व्यक्तिहरूको आड लिएर बस्दा पनि र उहाँहरूको अनुभवी कुरा सुन्दा पनि हामीभित्र अर्कै उर्जा आउँछ भन्न खोजिएको हो । के हामीले पूर्खाले बनाएको उखानको वैज्ञानिक कारण खोज्न सकेका छौँ त ? केही नभइकन त यस्ता शब्दहरूको निर्माण भएन होला ! हामीलार्ई याहाँसम्म ल्याइपुराउने हाम्रा बुजुर्गहरूको त्याग–तपस्यालाई हामीले कहिले पनि आत्मसात गर्न सकेनौँ, उल्टै नजरअन्दाज मात्र गऱ्यौँ । तर, हिजो हामीले उपेक्षा गरे पनि पूर्वजका उखानरूपी ती वाणी आज आएर हाम्रो लागि सत्य सवित भैरहेको छ ।

वर्तमान परिप्रेक्ष्यलार्ई नै हेरौँ न । हाम्रा पूर्खाले हामीलाई दुई हात जोडेर नमस्कार गर्न सिकाएका थिए । हामी भने आधुनिक बन्ने होडमा नमस्कार छोडेर हात मिलाउने, अँगालो मार्ने संस्कारतिर डोहोरिन थालेका थियौँ । तर आज हेरौँ त सारा विश्व एकअर्कालाई नमस्कार गर्ने अवस्थामा आइपुगेको छ । हाम्रा पुर्खाले हामीलार्ई बाहिर गएर घरभित्र आएपश्चात हातखुटा धोएर कोठाभित्र जान सिकाए, त्यही कुरा आज कोरोनाको कहरले बाध्य पारेको छ । हामीलार्ई हात धोएर मात्र खाना खान सिकाए, आज सारा विश्व साबुनपानीले पटक–पटक हात धोइरहेको छ । पुर्खाले बसालेको बानीलार्ई हामी संस्कृतिको संज्ञा दिइरहेका छौँ । आज त्यही संस्कृतिलाई हामीले बिर्संदा धेरै क्षति पनि ब्यहोरिरहेका छौँ ।

हुन त यो सबै कुरा गर्दा पुराना र फगत आदर्शका कुरा हुन् भनेर तर्क निकाल्ने पनि एक पुस्ता हामीसँग छ । आदर्शका कुरा अहिलेको समयमा चल्दैन भनेर हेयको दृष्टिले पनि हेर्ने गरिएको छ । हामीले यस्ता कुरालाई पन्छाइदिन्छौँ, तर यही आदर्शका कुराले हाम्रो जीवनमा कति महत्वपूर्ण भूमिका खेल्छ भन्ने हामीले बुझ्न सकेका छैनौँ ।

यसै सन्दर्भमा कुरा गरिरहँदा हाम्रा पुर्खाबाट महिलाउपर आरोप आउने खालका उखानहरू पनि बनेका छन् । तर समयक्रमसँगै महिलालार्ई मात्र प्रयोग गर बनाइएको उखानहरू संशोधन भैसकेका छन् । आदर्शका कुरा भन्नासाथ अर्काको अघि झुक्नुपर्ने, अरुको गाली बेइज्जती सहनुपर्ने जस्ता तर्क पनि हामीले निकाल्छौँ, तर त्यो गलत हो । किनकि यदि कहिँ–कतैबाट आफनो आत्मसम्मानमा चोट पुग्ने कुनै काम भैरहेको छ भने त्यहाँ आदर्शको कुरा गरेर हुँदैन त्यहाँ जो–कोहीले पनि सम्मानको रक्षार्थको लागि आफ्नो क्षमता प्रदर्शन तथा प्रतिकार गर्नै पर्छ । यसले व्यक्तिको क्षमतालार्ई पनि प्रदर्शन गर्ने अवसर दिएको हुन्छ । तर यही आदर्शका सवालको कारण आफ्नो परिवार र राष्ट्रको हित हुन्छ भने त्यहाँ त्यस्तो प्रकारको कार्य गर्दा केही फरक पर्दैन । यसको प्रयोग पनि काल परिस्थिति हेरेर गर्नुपर्छ ।

पूर्खा बिरामी पर्दा आफ्ना वरपर भएको जडिबुटीको प्रयोग गरेर औषधि बनाएर खान्थे, त्यस्ता केही जडिबुटी अहिले पनि हामी नाम लिन्छौँ, तर अहिले हामी सामान्य रुघाखोकी लाग्दा पनि डाक्टरले दिएको एन्टीबायोटिक औषधि खान्छौँ, हामी हाम्रा पुर्खाको पालाको समयभन्दा धेरै पर आइसकेका छौँ ।

पूर्खाले हामीलार्ई घरमा तुलसीको बोट लगाउन सिकाए किनभने तुलसीको बोट एक शुद्ध र त्यसबाट निस्कने अक्सिजनले मानवको शरिरमा उर्जा दिने र मनलाई सधै शान्त र शितल बनाउँछ भन्ने कुराको बोध गराउँछ । हामीलार्ई घरदैलो गोबरले लिप्न सिकाए, किनभने गोबरले दैलो लिप्दा घरमा रहने नकारात्मक शक्तिहरू हटेर जाने, बाहिरबाट कुनै पनि किटाणु प्रवेश गर्न नसक्ने भन्ने विश्वास हो । तर आजको समयमा यो कुरा सम्भव हुँदैन । शहरी वातावरणले चारैतिर ढाकेपछि व्यक्ति गोबरमा सीमित हुन सक्दैन, समय परिवर्तन भएसँगै व्यक्तिमा परिवर्तन आउँछ । पूर्खा बिरामी पर्दा आफ्ना वरपर भएको जडिबुटीको प्रयोग गरेर औषधि बनाएर खान्थे, त्यस्ता केही जडिबुटी अहिले पनि हामी नाम लिन्छौँ, तर अहिले हामी सामान्य रुघाखोकी लाग्दा पनि डाक्टरले दिएको एन्टीबायोटिक औषधि खान्छौँ, हामी हाम्रा पुर्खाको पालाको समयभन्दा धेरै पर आइसकेका छौँ । यस्ता थुप्रै कार्यहरू छन् हामीलार्ई हाम्रा पूर्खाले सिकाएको तर त्यसलार्ई हामीले निरन्तरता दिन सकेका छैनौँ ।

यो सबै कुरा गर्दा वैज्ञानिक युग र वैदिक युगबीच ठुलो पर्खाल लागेको देखिन्छ । हाम्रो वैदिक युगलार्ई वैज्ञानिक युगले पूरै ढाकेको छ । विज्ञानले यति धेरै प्रगति गऱ्यो कि यसले वैदिक विचारलार्ई अस्त्र फालेर आफूतिर कब्जा गरिसकेको छ । अहिले आधुनिकताको नाममा व्यक्तिले आफ्नो धरातल बिर्सेर अरुको संस्कृतिमा रमाउने बानी भएको छ । जसले गर्दा आकाशमा उडिरहेको हवाइजहाज त देखिन्छ तर धरातलमा रहेको यथार्थलार्ई हेर्न सकिँदैन ।

आजको युग विज्ञानले आविष्कार गरेको आधुनिकताको युग हो । यहाँ नयाँ–नयाँ आविष्कारहरू भएका छन् । हाम्रा कोठादेखि चोटासम्म मानवनिर्मित वस्तुहरू प्रयोग भैरहेका छन् । हाम्रो दिनचर्या पनि यस्तै भैसकेको छ । सबैकुरा रेडिमेट पाउने बेलामा को भान्छामा गएर पकाउन थाल्छ भन्ने तर्क पनि हामीले ल्याउँछौँ र कतिले प्रयोगमा पनि ल्याएका छौँ । यो सबै कुरा व्यक्तिले ल्याएको परिवर्तन हो । यसैगरी परिवर्तनको नाममा अहिले विश्व कोरोनाको कहरबाट गुज्रिरहेको छ । वर्तमानमा सृष्टिको सर्वशक्तिमान प्राणी मानवजाति एउटा सानो भाइरससँग बच्न कोठामा बसेको छ । ठुलठुला अस्त्र चलाउने यो मान्छे आज भाइरसको डरले अस्त्रविहीन भएर कोठाभित्र बस्न बाध्य छ । वैदिक युगलार्ई हामीले नबुझ्दा बेला–बेलामा वैज्ञानिक युगले हामीलार्ई झट्का दिन्छ तर त्यो कुरा हामीले बुझ्दैनौँ । त्यसैले हाम्रो अस्तित्वसँग जोडिएको हाम्रो पुर्खाका कुरालार्ई सम्मान गर्न सिकौँ ।