एनआरएनएका पदाधिकारीहरु नै सञ्चारकर्मीको चरित्रहत्यामा उत्रिएपछि…

एनआरएनएका पदाधिकारीहरु नै सञ्चारकर्मीको चरित्रहत्यामा उत्रिएपछि…


■ सविना कार्की, दक्षिण कोरिया

दक्षिण कोरियामा रहेर पत्रकारिता गर्दै आएका पत्रकारलाई लक्षित गर्दै सामाजिक संजालमा पोष्ट गरिएका गाली–बेइज्जतीप्रति नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले विरोध गरेको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए दक्षिण कोरियाका केही पदाधिकारीलगायतले सिङ्गो पत्रकारितामा ठेस पुग्ने गरि मिथ्या आरोप लगाउँदै सामाजिक संजालमा तथानाम गाली गर्ने, पत्रकारको चरित्र हत्या गर्ने खालका अमानवीय हर्कत गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै, एनआरएनएको बैठकले गरेको निर्णय भन्दै ‘विभिन्न संचारमाध्यममा आएका समाचारलाई लियर आरोप प्रमाणीकरण गर्न पत्राचार गर्ने निर्णय गरियो’भन्ने वाक्यले वाक स्वतन्त्रताको पक्षमा रहेका सबैलाई झस्काएको छ । संघको निर्णय र संघका केही पदाधिकारीले संचारमाध्यम तथा पत्रकारहरुलाई गम्भीर प्रकारका आरोप लागाउने कार्य स्वतन्त्र पत्रकारिताको विरुद्ध रहेको नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको ठहर छ । महासंघ प्रेस स्वन्त्रताविरोधी यस्ता कार्यको घोर भत्सर्ना गर्दछ ।

पत्रकारले लेखेका कुनै कुरामा चित्त नबुझे सम्वादबाट समाधानमा लाग्नुको साटो सामाजिक संजालमा पत्रकारका तस्बिरहरु पोष्ट गरेर तथा नाम लेख्दै चरित्र हत्यामा उत्रनु एनआरएनए जस्तो गरिमामय पहिचान बोकेको संस्थाको जिम्मेवार पदमा आसिन व्यक्तिका लागि पक्कै पनि सोभनीय विषय होइन । सामाजिक संस्थाका जिम्मेवार व्यक्तिहरू यसरी निर्लज्ज रूपमा प्रेसविरोधी गतिविधिमा संलग्न हुनु अत्यन्तै दुःखद विषय हो । यस्ता कार्यले समग्र कोरियाको नेपाली समाजलाई जवाफदेही बनाउने कार्यमा बाधा पुग्ने देखिन्छ– विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति मार्फत महासंघले सामाजिक संजालमा तथानाम लेख्ने र पत्रकारको चरित्र हत्या गर्ने कार्यमा संलग्न पदाधिकारीलाई एनआरएनए कोरियाले आबश्यक कारबाही गर्ने छ भन्ने आसय प्रकट गरियको छ । कुनै पनि समाचार लेख्दा आवश्यकता अनुसार सम्बन्धित संस्था वा निकाय संग समन्वय गर्ने वा नगर्ने यो स्वतन्त्रता पत्रकारमा निहित रहेको प्रष्ट पारेको छ ।

त्यसैगरि नेपाली राजदुतावास कोरियालाइ प्रेसविरोधि कार्य गर्नेहरुको निगरानी र पहिचान गरी सचेत गराउन अनुरोध गरिएको छ । साथै, सही आलोचना र सुझावलाइ हाउगुजीको रुपमा नलिई मार्गदर्शकको रुपमा लिएर अगाडि बढ्न सम्पुर्ण संघसंथा तथा तथा निकायलार्इ सुझाव दिइएको छ ।

सामाजिक, परोपकारी तथा कोरियामा रहेका नेपालीहरूको हितको लागि महासंघ सबै संघसंस्थासँग हातेमालो गर्न तत्पर रहेको तर सामाजिक कार्यको नाममा हुने अनियमितता, बेथिति र सामाजिक कार्यको नाम भजाएर आफ्नो निहित उद्देश्य पुूर गर्ने प्रवृत्तिको भण्डाफोर गरिरहने प्रतिवद्तबद्ध पनि विज्ञप्तिमार्फत् व्यक्त गगरिएको छ ।

महासंघका अध्यक्ष रञ्जनराज कुवँर र महासचिव मिन बिकद्वारा हस्तारित विज्ञप्तिमा समाचार संम्प्रषण गर्दा पत्रकारबाट कुनै कमजोरी भएको भए त्यसलार्इ सुधारेर निरन्तर खबरदारी र सुचना सम्प्रेषणमा नडराई लाग्न अनुरोध गरिएको छ । निरन्तर सम्वाद र सहकार्यको लागि महासंघको ढोका सधै खुल्ला रहेको जानकारी गराउँदै कोरियावासी नेपालीहरुको साथ र सहयोगप्रति महासंघले आभार व्यक्त गरेको छ ।

स्मरण रहोस्, केही, दिन पहिले एनआरएनए दक्षिण कोरियाका केही पदाधिकारीले आफूविरुद्ध लेखिएको समाचार सेयर गरेको भन्दै नेपाल पत्रकार महासंघ कोरिया शाखा कार्यसमिति सदस्य सविना कार्की र चार्टर विमान भाडा महँगो भयो भनेर फेसबुकमा स्टाटस लेखेको भन्दै महासंघका साधरण सदस्य अर्जुन बरालको फोटो सामाजिक संजालमा राखेर तथानाम लेखेर चरित्र हत्या गर्ने प्रयास गरेका थिए । अहिले ती पोष्टहरु उनीहरुले हटाएका छन् ।