नेपालका लागि बेलायतका पूर्वराजदूत रिचार्ड बेपत्ता

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचार्ड बेपत्ता


नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबार (मे ६) देखि बेपत्ता भएका छन् । लण्डनको प्रहरीले उनी हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ ।

बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजी कार्य थालनी गरेको बेलायतस्थित प्रतिनिधि कृष्णप्रसाद शर्मालाई उद्धृत गर्दै राससले समाचार सम्प्रेषण गरेको छ । बताइएअनुसार प्रहरीले ६ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ ।

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिक रूपमा खोजी कार्य गरिरहेको भए पनि अब सार्वजनिक रूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताएका छन् ।

रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए ।

कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

यसैबीच कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । लण्डनस्थित नेपाली दूतावासले जनाएअनुसार श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको हो ।

ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ ।