‘ग्लोबल वार्मिङ’बारे चेतना जगाउने प्रण

‘ग्लोबल वार्मिङ’बारे चेतना जगाउने प्रण


देवप्रकाश त्रिपाठी

दुई महिनापछि ।

वर्जित र सरिना आफ्नै देश फर्किए । ‘ग्लोबल वार्मिङबारे जागरण अभियान सुरु गर्ने र धर्तीमा प्रदुषण घटाउन आ–आफ्ना तर्फबाट योगदान पुर्‍याउने अठोट उनीहरूले नर्वेमा रहँदै गरेका थिए । यहाँ वर्जितको घरलाई दुवैले आफ्नो वासस्थान बनाए । सरिनाको घरमा कार्यालय स्थापना गरियो । संयुक्त राष्ट्रसङ्घले सबैभन्दा ठूलो बजेट यस्तै कार्यका लागि छुट्याएको थियो । उनीहरूले एउटा प्रस्ताव संयुक्त राष्ट्रसङ्घको स्थानीय कार्यालयमा पेस गरे, बजेट स्वीकृत भयो र अभियानले पनि अनपेक्षित गति लियो ।

उनीहरू शहर र शहरदेखि धेरै टाढा–टाढासम्म गएर मानिसलाई पृथ्वीमा कसरी प्रलय हुँदै छ भन्ने जानकारी गराउँथे । सम्भावित प्रलयप्रति चिन्तित र गम्भीर अवस्थामा पुर्‍याइसकेपछि मात्र उनीहरू प्रलय रोक्न कसरी सकिन्छ भन्ने बारेमा बताएर मानिसलाई राहत दिने गर्दथे ।

एक वर्षको निरन्तर सक्रियतापश्चात् उनीहरूले केही दिनका लागि छुट्टी लिने र कतै घुम्न जाने सोच बनाए । सरिनाले घुम्नका लागि त्यो पहाड जहाँ दुवैजना करिव डेढ वर्षअघि पुगेका थिए, त्यहीँ जान प्रस्ताव गरिन् । वर्जितले सहमति जनाए ।

पहाडको फेदीसम्म उनीहरू गाडी लिएर गए । डेढ वर्षअघि त्यहाँ सीमित घर थिए, अहिले त एउटा सानो शहर रूपकै बस्ती बसिसकेको रहेछ । पार्किङमा गाडी राखेर उनीहरू उकालो लागे ।

‘माथि पुगिसकेपछि पहिलेजस्तो तिमीले यसपालि ‘एब्नर्मल विहेभ’ गर्ने होइन नि !’– सरिनाले कुराको थालनी नै यसरी गरिन् ।

‘के ‘एनर्मल विहेभ’ गरेको थिएँ र मैले ?’– वर्जितले प्रतिवादी शैलीमा प्रश्न गरे ।

‘त्यही, दार्शनिक बढी हुने होइन भन्न खोजेकी क्या !’

‘ए, त्यो कुरा ? त्यो त मलाई जहिले पनि लाग्छ । उभिएको ठाउँ सुन्दर हो कि देखिएको भन्नेबारेमा म सधैं कन्फ्युजनमा हुन्छु । तर ठिकै छ, हामी यसबारेमा कुरा नगरौँला । तर के विषयमा कुरा गर्ने त ?’– वर्जितले सोधे ।

‘कम्तीमा यो यात्रा र बिदा अवधिभरि ग्लोबल वार्मिङको बारेमा चाहिँ कुरा नगरौँ’– सरिनाले भनिन् ।

वर्जितले सहमति जनाए ।

‘तर के कुरा गर्ने त ?’ ‘बरू जीवनकै कुरा गरौँ न, मान्छेका बारेमा कुरा गरौँ,’ सरिनाको प्रस्ताव ।

‘मान्छेमा पनि पुरूषकै बारेमा कुरा गर्नुपर्ने होला, महिलाका बारेमा कुरा गरौँ भने विपत्ति आइपर्ला !’ यति भनेर वर्जित सरिनाको मुखमा हेर्दै फिस्स व्यङ्ग्य–हाँसो हाँसे ।

सरिना पनि के कम ! उनले भनिन्, ‘किन उडाउनुपर्‍यो स्वास्नीमान्छेलाई ? वास्तवमा लोग्नेमान्छेहरू जति कमजोर हुँदैनन् स्वास्नीमानिसहरू ।’

‘हो, ठीक भन्यौँ सरिना, स्वास्नीमानिसभन्दा लोग्नेमानिस नै कमजोर हुन्छन्, त्यस्तो नभइदिएको भए त अहिले म तिमीसँग किन हुन्थेँ होला र ?’– फेरि व्यङ्ग्य चलाए वर्जितले ।

‘तिम्रो कुरा ठिकै हो वर्जित, वास्तवमा स्वास्नीमानिसले आफूलाई बलियो बनाउन चाहे भने लोग्नेमान्छेभन्दा धेरै बलिया हुनसक्छन्, जति नरम लाग्छन् त्यति नै कठोर पनि हुन सक्छन्,’ सरिनाले अझै हार मानेकी थिइनन् ।

सरिनाको त्यस्तो कुरा सुनिसकेपछि उसले फेरि ‘छुरा’ चलाउने विचार गरेर भन्यो– ‘मैले बुझेसम्म महिलामा चारवटा मात्र कमजोरी हुन्छन् ।’

‘चारवटा, कस्ता ?’

‘महिलाहरू सुख, सुविधा, सेवा र शान यी चार कुराप्रति सधैं लालयित हुन्छन् र उनीहरूको कमजोरी भनेको पनि यति मात्र हो, वर्जितले महिलाबारेको आफ्नो धारणा सुनाए ।

आफ्नो यस्तो धारणाप्रति सरिनाबाट गम्भीर प्रतिवाद हुने ठानेका थिए वर्जितले, तर त्यसो भएन । सरिनाले बिनाप्रतिवाद भनिन्– ‘जब तिमी महिलालाई त्यस्तै देख्छौ भने यो हुन सक्छ ।’.. उनी यतिमै रोकिइनन् र प्रश्न राखिन्– ‘के तिमी ममा पनि यी चारवटै कमजोरी देख्छौ ?’

वर्जितले अघि बढिसकेको खुट्टा झिके, पछि हटे र भने– ‘तिमीमा ती कमजोरी छन् कि छैनन् भन्ने त तिमीलाई नै बढी थाहा हुनुपर्छ, बरू भन न तिमी नै ।’

वर्जितले बल सरिनाको कोर्टमा फ्याँके ।

‘हुनसक्छ, तर त्यसबाहेक थप अर्को एउटा कमजोरी पनि छ ममा चाहिँ..’– सरिनाले भनिन् ।

‘अर्को एउटा के हो ?’– आश्चर्य मान्दै सोधे उनले ।

‘अर्को एउटाचाहिँ… तिमी’, सरिनाले वातावरण सहज बनाउँदै भनिन् ।

‘अँ साँच्ची महिलाहरू प्रशंसाप्रेमी पनि अलिक बढी नै हुन्छन् होइन ?, वर्जितले अर्को जिज्ञाशा प्रकट गरे ।

जवाफमा सरिनाले भनिन्– ‘तवाइफहरू शहरमा र संसारमै सबैको प्रशंसा प्राप्त गर्न इच्छुक हुन्छन् । आफ्नो रूप, रङ्ग, भाव, भङ्गिमा र अङ्ग–अङ्गको प्रशंसा सबैले गरिदिऊन् भन्ने उनीहरूको चाहना हुन्छ, तर एउटी असल प्रेमिका या पत्नी सधैं एउटै व्यक्तिको प्रशंसा प्राप्त गर्न प्रयत्नशील रहन्छन् ।’

‘हुनसक्छ…, हो तिमीले रमाइलो रहस्य खोल्यौ सरिना,’ वर्जितले भने, ‘तिमी पनि मेरो प्रशंसा पाउन सङ्घर्षरत छ्यौ त्यसो भए ?’

यति भन्दै वर्जित मज्जाले हाँसे, सरिनाले पनि उसको हाँसोमा साथ दिइन् ।

कुरा गर्दागर्दै उनीहरू शिखरमा पुगिसकेका थिए । प्राकृतिक मनोरम दृश्यको आनन्दलाई नै बिथोल्ने गरी भीड रहेछ त्यहाँ ।

केही क्षण यत्तिकै बिताएर उनीहरू फर्किए ।

सात दिनको बाँकी छुट्टी उनीहरूले घरमै बिताए । त्यसपछि ‘ग्लोबल वार्मिङ’सम्बन्धी चेतना जागरण अभियानमा जीवनभर सक्रिय रहने प्रण गर्दै वर्जित र सरिना शहर छोडेर बाहिरतिर लागे ।
(क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–

विकसित सभ्यतालाई जोगाइराख्ने चिन्ता