‘सण्डे मर्निङ लभ यु, मण्डे मर्निङ लभ यु..’ भन्दै भीमको ‘ब्रिटेन्स गट ट्यालेन्ट’सम्मको यात्रा

‘सण्डे मर्निङ लभ यु, मण्डे मर्निङ लभ यु..’ भन्दै भीमको ‘ब्रिटेन्स गट ट्यालेन्ट’सम्मको यात्रा


■ राजन घिमिरे

विश्वचर्चित टेलिभिजन शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा नेपाली मूलका बेलायतवासी भीम निरौलाले जब ‘सण्डे मर्निङ लभ यु, मण्डे मर्निङ लभ यु’ गीत गाए, एकाएक भाइरल बन्न पुगे । भीमले यो गीत ६–७ वर्षअघि नै गाएका हुन् । त्यतिबेला पनि केही चर्चामा आएको हो यो गीत । तर, अहिले यसले पुनः व्यापक चर्चा पाएको छ ।

नेपाली मेलोडीमा सरल शब्द र क्याची हुनु नै यो गीत भाइरलहुनुको मूल कारण हो, जसलाई भीम निरौलाले आफ्नो मौलिक तथा रोचक शैलीमा प्रस्तुत गर्ने गरेका छन् । उनले ७ वर्षअगाडि नै गाएर एल्बममार्फत बजारमा ल्याएका थिए, तर त्यतिबेला भीम धेरैको नजरमा पर्न सकेनन् । आज समयले सोही पुरानो गीतमार्फत उनको चर्चा र वाहवाही बढाइदिएको छ । उनको चर्चा यतिबेला विश्वभरका नेपाली समुदायबीच हुन थालेको छ । विदेशीले समेत उनको शैलीलाई सह्राएका छन् ।

रातारात भाइरल हुन पुगेका भीम आफ्नाबारे के भन्छन् ? जानौँ उनकै अभिव्यक्तिमार्फत्–

‘मेरो जन्मघर धनकुटा हो । शुरूमा बविद्यार्थीको रूपमा म बेल्जियम पुगेको थिएँ । ८ वर्ष बेल्जियम बसेपछि म उज्ज्वल भविष्यको खोजीमा बेलायततिर लागे । बेलायत बस्न थालेको पनि आज १४ वर्ष पुगिसकेको छ । म बेलायतको हिथ्रो एअरपोर्टबाट करिव आधाघण्टामा पुगिने स्थानमा श्रीमती र दुई सन्तानको साथ बस्दै आएको छु। यस हिसाबले म विदेशिएको २२ वर्ष बितिसकेको छ ।’

‘नेपालमा मेरो जागिरयात्रा भने काठमाडौंको कुपन्डोल (ललितपुर)स्थित हिमालय होटलबाट शुरू भएको हो । हिमालय होटलमा ७ वर्ष काम गरेपछि मैले तीन वर्ष दरबारमार्गमा रहेको यति ट्राभल्समा पनि काम गरेँ । यति ट्राभल्समा काम गर्दागर्दै त्यसै समयमा म अध्ययनको क्रममा बेल्जियम लागेको थिएँ । म नेपाल रहँदा नै गीतसंगीतमा सक्रिय थिएँ । नेपाली भाषामा धेरै गीत रेकर्ड गरेर सुनाउँदा पनि मप्रति अरूहरूको खासै ध्यान गएको देखिनँ । पछि शब्द अंग्रेजी तर शैली नेपाली (सहज र सबैले बुझ्न सक्ने तरिकाले) प्रयोग गरेर अंग्रेजी भाषामा गीत गाउन थालेँ, जसले मलाई चर्चा र चिनारी दिन थाल्यो । मनदेखिकै लगाव भएको यो क्षेत्रलाई मैले प्रवसमा पनि त्याग्न सकिनँ र सन् २००५ मा बेल्जियममा गीत रेकर्ड गरी नेपालमा द क्रियसन नाम राखेर एल्बम निकालेको थिएँ । यसैगरी सन् २०१० मा प्रत्येक रात र चिनेको छैन गीत बजारमा ल्याएँ । मैले अहिले ब्रिटेन्स गट ट्यालेन्ट प्रतियोगितामा गाएको ‘सन्डे मर्निंग लब यू मन्डे मर्निंग लव यू ‘ बोलको गीत सन २०१३ मा रेकर्ड गरेको थिएँ ।’

‘त्यतिबेला खासै महत्व र वाहवाही नपाएको यो गीतले यतिबेला आएर ज्यान पाएको अनुभूति भएको छ । मलाई पहिला विदेशी भाषाको गीत के गाएको ? यस्तो गीत गाएर कहिले तँ चर्चामा आउँदैनस् भन्दै हतोत्साही तुल्याउनेहरू नै आज मेरो वाहवाही गर्न थालेका छन् । नेपाली मेलोडी राख्ने तर भाषा अंग्रेजी राखेर गाएको यो गीतले आज मलाई विश्वमाझ चिनाएको छ । भोलिका दिनमा कुनै अवार्ड जित्न सक्छु वा सक्दिनँ, त्यो कुरा म आज भन्न सक्दिनँ, तर आज मैले विश्वभरिका नेपाली र विदेशीहरूबाट जुन माया, साथ र हौसला पाएको छु, त्यो त मेरो लागि ठूलो पुरस्कार भैसकेको छ । यूट्यूबमा नै यो गीतले ६१ लाखभन्दा बढी दर्शकहरू पाइसकेको छ आजसम्म । यो संख्या अझै बढ्ने क्रममा छ ।

ब्रिटेन्स गट ट्यालेन्टमा सहभागी हुन विश्वभरिबाट फर्म भर्न सकिन्छ । मैले पनि भरेँ र केही आफ्ना प्रस्तुतिहरू पठाएँ । उनीहरूले मलाई बोलाएपछि मैले जज राउण्डमा यो गीत प्रस्तुत गरेको थिएँ । म अब अर्को राउण्डमा प्रवेश गरेको छु । अर्को राउण्ड कहिले हुन्छ जानकारी आएको छैन । कोरोना महामारीका कारण मिति निश्चित भएको छैन अर्को राउण्डको । अर्को राउण्डमा कुन गीत गाउने र कसरी प्रस्तुत हुने भन्नेबारे छलफल र गृहकार्य भएपछि मात्र म स्टेजमा प्रस्तुति दिन जान्छु ।’

‘म यसरी रातारात भाइरल हुँदा मलाई माया गर्नुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनी तथा विदेशी साथीभाइहरूलाई नमन गर्न चाहन्छु । आगामी दिनमा पनि यस्तै साथ, माया र हौसलाको अपेक्षा गरेको छु । धन्यवाद ।’