खेलकुद कब्जा गर्ने रणनीति -श्रीविक्रम भण्डारी

खेलकुद कब्जा गर्ने रणनीति -श्रीविक्रम भण्डारी


माओवादीको घुसपैठ
जुन जोगी आए पनि कानै चिरेका !
माओवादीमा यतिबेला यो उक्ति हुबहु रूपमा लागू भएको छ । माओवादीले पनि पञ्चायती परम्परा र संस्कृतिलाई बढावा दिएको छ । माओवादीले खेलकुदको जिम्मेवारी सम्हाल्दा खेलकुदको काँचुली फेरिने विश्वास गरिएको थियो । तर, विडम्बना, अहिले त्यसको ठीक उल्टो भएको छ । बोलाइ र गराइको विभिन्नतामा आकाश-पातालको फरक देखिएको छ । वास्तविक रूपमा भन्नुपर्दा माओवादीले खेलकुदको आबरणमाथि खुलारूपमा हमला बोलेको छ । त्यो पनि निकै दूरदर्शी बनेर । ‘लौरो पनि नभाँचिने, र्सप पनि मर्ने’ खेलमा लागेको माओवादीको जालमा अहिले खेलकुदका प्रायः राष्ट्रिय सङ्घहरू परिसकेका छन् । जसले गर्दा वर्षौंदेखि तदर्थवादमा चल्दै आएका र आन्तरिक कलहमा रुमलिएका सङ्घहरू ‘बोलबोल माछा मुखभरि पानी’को स्थितिमा पुगेका छन् । ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति बनाएको माओवादी अहिले आफ्नो योजनामा सतप्रतिशत सफल भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले तदर्थवादलाई अन्त्य गर्ने उद्देश्यअनुरूप राष्ट्रिय सङ्घको निर्वाचन गराएको कसैबाट छिपेको छैन । तर, विडम्बना त्यो अहिले खोक्रो आवरण भएको पुष्टि भइसकेको छ । त्यसो गर्नुको भित्री मनसाय के थियो त्यो बल्ल छताछुल्ल भएको छ । सङ्घको निर्वाचनको नाममा सदस्यसचिव लामाले चालेको कुटिल चालले अबको खेलकुद माओवादीमय बन्ने प्रायः निश्चित भएको छ । प्रत्येक सङ्घमा माओवादी कार्यकर्तालाई भित्र्याएर खेलकुदको हर्ुमत लिने कार्यमा दत्तचित्त भएर लागेका लामाले विभिन्न सङ्घमा हुलेका माओवादी कार्यकर्ताबाट पनि सोझै अनुमान लगाउन सकिन्छ । मुसो बनेर सङ्घमा पस्ने र हात्ती बनेर निस्कने लामाको यो रणनीतिले भोलि नेपाल ओलम्पिक कमिटीको फतेह गर्न सजिलो हुने कुरालाई नकार्न सकिँदैन । ओलम्पिक खेलहरूका सङ्घहरूमा माओवादीले बहुमत पुर्‍याउनु र पकड कायम गर्नुले पनि यसलाई प्रस्ट पार्छ ।
वर्तमान अवस्थासम्म ओलम्पिक खेल मात्र नभई खेलकुदका महत्त्वपूर्ण सङ्घमा माओवादीका कार्यकर्ताले कब्जा जमाइसकेका छन् । नेपाल सितेरियो कराते सङ्घ, कराते महासङ्घ, एथलेटिक्स सङ्घ, क्रिकेट सङ्घ र पौडी सङ्घमा माओवादीको उपस्थितिले यो कुरालाई प्रस्ट पारिसकेको छ । हालै सम्पन्न भएको नेपाल पौडी सङ्घको निर्वाचनमा आफ्ना दशजना कार्यकर्तालाई उक्त सङ्घमा घुसाएपछि माओवादीको हस्तक्षेपले पराकाष्ठा नाघेको छ । स्मरण छ, पौडी सङ्घमा माओवादीको कोटा पूर्ण भएपछि मात्र निर्वाचन सम्भव भएको थियो । यसरी सम्बन्धित खेलसँग गोरु बेचेको नातासमेत नपर्ने व्यक्तिहरूलाई हरेक सङ्घमा घुसाएर माओवादीले प्रत्येक सङ्घलाई ऐतिहासिक सङ्घ बनाउन सफल भएको छ । प्राप्त जानकारीअनुसार अहिलेसम्म निर्वाचन भएका सङ्घहरूमा माओवादीका एक सय ५० भन्दा बढी कार्यकर्ता खेलकुद सङ्घमा भित्रिसकेको सूत्रले दाबी गरेेको छ । यो सङ्ख्यालाई औसतमा निकाल्दा प्रत्येक सङ्घमा चार पर्न आउने पनि स्रोतले बताएको छ ।
सङ्घहरूमा माओवादीको दबदबा बढ्दै गएको अवस्थामा निकट भविष्यमै निर्वाचन गर्न लागिएका नेपाल उसु सङ्घ र हकी सङ्घमा पनि माओवादी कार्यकर्ताको बिगबिगी रहनेे बुझिएको छ । माओवादीको विशेष नजरमै परेका कारणले एकपटक निर्वाचनको मुखैमा पुगेर पनि उसु सङ्घको निर्वाचन हुन सकेको थिएन । अहिले सबै तारतम्य मिलेपछि केही दिनमै उसु सङ्घको निर्वाचन गरिने पक्का भएको छ । जसमा माओवादीको पूरै सेट आउन लागेको सूत्रले दाबी गरेको छ । राखेपको ठाडो हस्तक्षेपले गर्दा पुराना पदाधिकारीहरूको पत्तासाप हुन लागेको पनि स्रोतले बताएको छ । त्यस्तै अर्को विवादास्पद सङ्घ नेपाल हकी सङ्घमा पनि माओवादीको गिद्देनजर परेको खुलासा भएको छ । केही समय पहिले आपसी विवादले हकी सङ्घको निर्वाचन स्थगित भएपछि लामाले हकी सङ्घमा पनि आँखा गाडेको स्रोतले बताएको छ । प्राप्त जानकारीअनुसार हकीका वर्तमान अध्यक्ष उमेशलाल श्रेष्ठसँग लामाको गोप्य कुराकानी भएको र उनकै अध्यक्षतामा हकी सङ्घको गठन हुन लागेको स्रोतले बताएको छ । विचाराधीन रूपमा विराटनगरका एक व्यक्ति लामाको नजरमा परे पनि राजनीतिक ब्याकग्राउण्ड अर्थात् एमाले नेतृ सहाना प्रधानका छोरा उमेश भएकाले उनलाई नै हकीको वागडोर सुम्पनेमा लामा पुगेका थिए । स्मरण रहोस्, उमेश अध्यक्ष भए पनि महासचिवसहितको माओवादीको बहुमतको सेट हकी सङ्घमा आउन लागेको स्रोतले बताएको छ ।
त्यस्तै राखेपले टेबुलटेनिस सङ्घको पनि पर्ुनर्गठन गर्न लागेको थाहा भएको छ । आगामी फागुनमा टेबुलटेनिस सङ्घका पदाधिकारीहरूको कार्यकाल सकिने भए पनि पार्टीको दबाबमा सङ्घको पर्ुनर्गठन हुन लागेको स्रोतले बताएको छ । स्रोतका अनुसार वर्तमान टेबुलटेनिस सङ्घका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला टेटे सङ्घका अध्यक्ष सुदिल शाहीलाई सङ्घको अध्यक्षमा ल्याउन लागिएको बुझिएको छ । त्यस्तै टेटेको उपाध्यक्षमा दीपक मनाङ्गे आउने प्रायः निश्चित भएको स्रोतले दावी गरेको छ । खेलकुदमा कुनै योगदान नभएका र डनको रूपमा परिचित मनाङ्गेलाई टेटे सङ्घमा ल्याउने पक्का भएपछि अहिले खेलाडी र पदाधिकारीहरूमा सन्त्रास छाएको छ । यसैगरी निकट भविष्यमै योजनावद्ध तरिकाले अखिल नेपाल फुटबल सङ्घमा पनि माओवादीले धावा बोल्न लागेको थाहा भएको छ ।
खेलकुदमा आफू पनि राजनीति नगर्ने र अरूलाई पनि गर्न नदिने लामाको प्रतिबद्धता अहिले पानीको फोकाजस्तै बनेको छ । सुरुवातमा लामाका क्रियाकलाप स्वागतयोग्य र प्रशंसनीय थिए । तर, उनले वर्तमान अवस्थामा अपनाएको ‘कब्जा गर्ने’ रणनीतिले उनको प्रतिबद्धतामाथि पनि प्रश्नचिह्न खडा भएको छ । खेलकुदको समग्र विकासका लागि कसैसँग सम्झौता नगर्ने र त्यस्तै परे राजीनामासमेत दिने शंखनाद गर्ने लामा अहिले आफ्नो मार्गबाट किन विचलित भए, त्यो बुझिनसक्नु भएको छ । पार्टीले लामालाई खेलकुद कब्जा गर्ने जिम्मेवारी दिएर पठाएको हो भने त ठीकै छ, अन्यथा राजनीतिले गाँजेको खेलकुदमा अझ राजनीति थोपर्नु कति उपयुक्त होला ? त्यो सदस्यसचिवले ठण्डा दिमागले सोच्नुपर्ने भइसकेको छ । जसले गर्दा खेलकुद बुझेको, दूरदर्शिता भएको, केही गरेर देखाउन सक्ने लामाको व्यक्तित्वमा अहिले खग्रास ग्रहण लागेको छ । परिवर्तनका नाममा कसैले कल्पनासमेत नगरेको कार्यमा उनी किन होमिए त्यो सोचनीय कुरा भएको छ । काम गर्दा एक-दुई गल्ती अवश्य हुन्छन्, त्यसलाई मानवताको हिसाबले पनि नजरअन्दाज पनि गर्न सकिन्छ । तर, गल्तीका शृङ्खलाले सगरमाथाको रूप धारण गर्न लाग्यो भने त्यो कदापि सह्यै हुँदैन । यो कुरा लामाले पनि बुझेको हुनुपर्छ ।
वर्तमान अवस्थामा राष्ट्रिय सङ्घहरूमा माओवादीको घुसपैठले खेलकुदमा सन्त्रासको वातावरणको सिर्जना गरिदिएको छ । यो रवैयाले खेलकुदमा माओवादीले के गर्न लागेको हो त्यो निकै चासोको विषय बन्न पुगेको छ । कतै खेलकुदको खोल ओडेर खेलकुदलाई सिध्याउन लागेको त होइन ? शङ्का-उपशङ्का उब्जिएका छन् । होइन भने यता राष्ट्रिय सहमतिसँगै कब्जा गरिएका घरजग्गा फिर्ता गर्ने निर्देशन दिएको छ भने उता खेलकुदमा भने कब्जा गर्ने कार्यलाई निरन्तरता दिनुको अर्थ के त ? यहाँ निरन्तरता मात्रै नभई योजनाबद्ध तरिकाले लागेकोजस्तो देखिएको छ । जसले वर्तमान अवस्थामा माओवादी पार्टीलाई फाइदा पुगेको स्पष्ट रूपमा देखिए पनि यो समग्र नेपाली खेलकुदका लागि दुर्भाग्य हुनेछ भन्दा अतिशयोक्ति नहोला । तर्सथ पार्टीको यो अदूरदर्शी कदमले कतै लामाको व्यक्तित्वलाई सखाप पार्ने त होइन ? यो प्रश्न जति गम्भीर छ, स्वयम् लामा पनि गम्भीर हुनु आवश्यक भइसकेको छ । अन्यथा भोलि पछुताउनुको अर्थ केही हुने छैन ।

करातेको शिखर चुम्दै बालाजु एकेडेमी
आजभन्दा दुई दशक पहिले स्थापना भएको बालाजु कराते डो प्रतिष्ठान- नेपाल अहिले चर्चाको शिखरमा पुगेको छ । कराते डोजोको रूपमा नेपालको नम्बर एक डोजोको रूपमा परिचित बालाजु डोजोका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेको उत्कृष्ट प्रदर्शन नेपाली खेलकुदको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । उत्कृष्ट खेलाडी उत्पादनसँगै उत्कृष्ट डोजोको रूपमा नेपालमा कर्ीर्तिमान बनाएपछि ०६३ सालमा बालाजु कराते डोजो बालाजु कराते एकेडेमी नेपालमा परिणत भएको थियो । यो नेपालको पहिलो कराते एकेडेमी पनि हो ।
मुलुकलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउन महत्त्वपूर्ण भूमिका निभाउँदै आएको यो प्रतिष्ठानमा अहिले दैनिक एक सय ५० जना खेलाडीले प्रशिक्षण लिइरहेका छन् । नेपालका चर्चित कराते खेलाडीको पहिलो रोजाइमा परेको यो प्रतिष्ठानमा अहिले नेपालका चर्चित खेलाडीहरूले प्रशिक्षण लिइरहेका छन् । केही महिना पहिले राष्ट्रिय खेलकुद परिषद्ले ‘मिसन साग २०१२’ लाई मध्यनजर राख्दै दशजना कराते खेलाडी छनोट गरेकोमा बालाजु डो प्रतिष्ठानले उत्पादन गरेका पाँचजना खेलाडी उक्त छनोटमा पर्न सफल भएका थिए । नेपालमा राखेपमा दर्ता भएर ‘डब्लूकेएफ’को नियमअनुसार खेल्ने १३ वटा राष्ट्रिय सङ्घ र तीन विभागीय टोली भए पनि यो प्रतिष्ठान सबैभन्दा अब्बल सावित भएको छ । विगत दुई दशकदेखि बालाजु डो एकेडेमीको वागडोर सम्हाल्दै आएका यो एकेडेमीका अध्यक्ष तथा मुख्य प्रशिक्षक ध्रुवविक्रम मल्लले यो उपलब्धिलाई मिहिनेतको फलको संज्ञा दिएका छन् ।
बालाजु एकेडेमीले कराते खेलाडीहरूलाई प्रशिक्षण दिनु, उत्कृष्ट खेलाडी उत्पादन गर्नु र अनुशासनमा राख्नुलाई पहिलो प्राथमिकता राखेको कसैबाट छिपेको छैन । साथै यो एकेडेमीले आफ्ना उत्कृष्ट २० जना कराते खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गरेर खेलकुदमा नौलो आयामको पनि थालनी गरेको छ । जुन यो एकेडेमीको विशेष पाटोसमेत बनेको छ । एकेडेमीका ती २० जना खेलाडीमध्ये १० जना सिर्द्धार्थ वनस्थली स्कुल र १० जना जनजागृति ज्ञान रश्मि माध्यमिक विद्यालयमा विगत थुप्रै वर्षदेखि अध्ययनरत छन् । खेलकुदसँगै शिक्षालाई पनि निकै महत्त्व दिएको यो प्रतिष्ठानले खेलाडीको भविष्यप्रति निकै सजग देखिएको छ । अहिले यही उत्कृष्ट कार्यले होला यो एकेडेमी खेलकुदमा नमुनाको एकेडेमी बन्न सफल भएको छ ।
सफलताको पाटो
बालाजु एकेडेमीले राष्ट्रियस्तरमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको सफल आयोजना र च्याम्पियन बनेको कुरा सायदै कसैलाई भनिरहनुपर्ला । उक्त कुरा बालाजु एकेडेमीमा जाँदा यो एकेडेमीले प्राप्त गरेका कप तथा प्रमाणपत्र हर्ेदा नै र्छलङ्ग भइन्छ । बालाजु एकेडेमीका खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने क्रममा सन् २०१० मा नेपाललाई अन्तर्राष्ट्रियस्तमा ऐतिहासिक सफलता दिलाउन सफल भएका थिए । मलेसियामा आयोजना भएको चौथो एसियन कराते च्याम्पियनसिपमा एकेडेमीका खेलाडीले एक रजत र सात कास्य पदक जित्दै यो ऐतिहासिक कर्ीर्तिमान राखेका थिए । यो च्याम्पियनसिपमा जुनियर अर्थात् १८ वर्षमुनि राजकुमार रसाइलीले रजत, मनीष थापा, विमला तामाङले कास्य पदक जितेका थिए । त्यस्तै सिनियरतर्फ मल्लिका थापा, अनुपमा मगर, मीना पाठक, लक्ष्मी भट्टले कास्य पदक जितेका थिए । उमेर समूह र तौल समूहमा मल्लिका थापाले दोहोरो कास्य पदक जितेर दोहोरो सफलता प्राप्त गरेकी थिइन् ।
सफलताको सिँढी चढ्ने क्रममा बालाजु एकेडेमीका खेलाडीले सन् २०११ मा कीर्तिमान नै बनाएका थिए । बंगलादेशको ढाकामा सम्पन्न भएको ११औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा यो एकेडेमीबाट उत्पादित खेलाडी सुनिल लामा र अनु अधिकारीले सागमा क्रमशः स्वर्ण र रजत पदक जितेर नेपालको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्‍याउन अहम् भूमिका निभाएका थिए । स्मरणीय छ, यस प्रतिष्ठानका खेलाडी रोजी नगरकोटी, सुभद्रा श्रेष्ठ र रेमिका राईले श्रीलंकाको कोलोम्बोमा सम्पन्न १०औँ सागमा टिम कातातर्फ रजत पदक जितेका थिए । १०औँ सागमा रजत पदकमै चित्त बुझाउनुपरे पनि ११औँ सागमा यस प्रतिष्ठानका खेलाडीले पहिलेपटक स्वर्ण पदक जितेर प्रतिष्ठानको नामसँगै मुलुकको प्रतिष्ठासमेत बढाएका थिए । यो सफलतापछि निकै हौसिएका प्रतिष्ठानका अध्यक्ष ध्रुवविक्रम मल्लले अबको लक्ष्य एसियन गेम भएको खुलासा गरेका छन् । मल्ल आफ्ना खेलाडीले एसियन गेममा पनि पदक जित्ने कुरामा विश्वस्त छन् ।
त्यस्तै, सन् २०११ मा मलेसियामा भएको बीसौँ केओआई (कोई) वर्ल्डकप च्याम्पियनसिपमा यस प्रतिष्ठानका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रतियोगिताको जुनियरतर्फ अर्थात् १८ वर्षमुनि राजकुमार रसाइली फाइनलसम्म पुगेर नौलो कर्ीर्तिमान कायम गरेका थिए । रसाइली फाइनलसम्म पुग्ने क्रममा सेमिफाइनलमा रसियाका खेलाडीलाई पराजित गरे पनि फाइनलमा भने इन्डोनेसियाका खेलाडीसँग पराजित भएका थिए । त्यस्तै जुनियर १८ वर्ष महिलाको कुमुते र सिनियर इन्डिभिजुयलतर्फ विमला तामाङले कास्य पदक जितेकी थिइन् । त्यस्तै १८ वर्षमुनिमा मल्लिका थापाले पनि कास्य पदक जितेर प्रतिष्ठानको झोलीमा अर्को पदक थप्न सफल भएकी थिइन् । त्यसैगरी सन् २०११ मै मलेसियामा सम्पन्न एसएमए कराते च्याम्यिनसिपमा पनि प्रतिष्ठानका खेलाडीहरूले दुई कास्य पदक जित्न सफल भएका थिए । उक्त च्याम्पियनसिपमा पवित्रा चौहान, अनु अधिकारी, अनुपमा मगर र शुभद्रा लामाले कास्य पदक जितेका थिए ।
भावी लक्ष्य र तयारी
बालाजु प्रतिष्ठान अहिले सुदूरपश्चिममा आयोजना हुने छैटौँ राष्ट्रिय प्रतियोगितालाई लक्ष्य बनाएर खेलाडीहरूलाई विशेष प्रशिक्षण दिइरहेको छ । यसका लागि मुख्य प्रशिक्षक तथा अध्यक्ष ध्रुवविक्रम मल्ल खुद आफैंले बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन् । राष्ट्रिय प्रतियोगितामा करातेतर्फ १६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भए पनि प्रतिष्ठानले उत्पादन गरेका खेलाडीले १२ स्वर्ण जित्ने मल्लले दाबी गरेका छन् । मल्लले यो राष्ट्रिय प्रतियोगिता प्रतिष्ठानका लागि अविष्मरणीय हुने पनि बताएका छन् ।

पौडी सङ्घको अध्यक्षमा अशोक
नेपाल पौडी सङ्घको तेस्रो केन्द्रीय साधारणसभाले हालै १६ सदस्यीय केन्द्रीय कमिटीको निरि्वरोध चयन गरेको छ । अशोक बज्राचार्यको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा गीता राणा, राजेश बज्राचार्य र टकबहादुर घर्तीमगर चयन भएका छन् । त्यसैगरी महासचिव जगतमान श्रेष्ठ र कोषाध्यक्षमा नरेश वैद्य चयन भएका छन् । सङ्घको सदस्यहरूमा महेश नेवाः, राजेन्द्र श्रेष्ठ, विपिन तिम्ला, राजमान तुलाधर, युवराज सुनुवार, रञ्जन भट्टराई, मनोज दवाडी, नाजिर उद्दीन मुस्लिम, रत्नलाल महर्जन र दीपकसागर सिंह रहेका छन् । सो अवसरमा अध्यक्ष बज्राचार्यले दुई उपाध्यक्ष, सचिव र पाँच सदस्य मनोनीत गरेका थिए । यसरी मनोनीत भई उपाध्यक्षको पदभार ग्रहण गर्नेमा अमरसिंह शाह र उमेश श्रेष्ठ छन् भने सचिवमा ई श्वर कार्की । त्यस्तै मनोनीत सदस्यहरूमा नयना शाक्य, किस्मत विक, रवि सिंह, श्यामसुन्दर अधिकारी र वासुदेव निरौला रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत प्रकाशचन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।
नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भएको साधारणसभा तथा निर्वाचनको उद्घाटन युवा तथा खेलकुदमन्त्री कमला रोक्काले गर्नुभएको थियो । सो अवसरमा रोक्काले खेलकुदको विकास र विस्तारका लागि व्यक्तिगत स्वार्थलाई त्याग्नुपर्नेमा जोड दिँदै आसन्न छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले राष्ट्र खेलमय भएको स्मरण गराउनुभएको थियो । मन्त्री रोक्काले यस सभाबाट सङ्घको नीतिनियम पनि निर्माण गरिने भएकाले सङ्घको भविष्य उज्ज्वल रहेको धारण व्यक्त गर्नुभएको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धुवबहादुर प्रधानले यदि कुनै युवा खेलकुदमा आबद्ध छैन भने त्यस युवाले व्यक्तित्व विकासका लागि ठूलो कुरो गुमाएको बताउनुभयो । उहाँले हामी सरकारलाई सम्मान गर्र्छौं भन्दै नेपाल ओलम्पिक कमिटी सरकारसँग नजिक रहेर काम गर्न चाहन्छ भन्ने उहाँको कथन थियो । उक्त साधारणसभामा १३ जिल्लाका २६, प्राविधिक कमिटीबाट १, प्रशिक्षक कमिटीबाट १, पर्यवेक्षकबाट १, ओलम्पियनबाट १ र केन्द्रीय समितिबाट २३ गरी जम्मा ५९ प्रतिनिधिको उपस्थिति रहेको थियो ।

हमाल र घले, प्रतिभा र माया उत्कृष्ट
नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधान तथा चितवन जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सञ्चालित दोस्रो राष्ट्रिय भेट्रान ब्याडमिन्टन प्रतियोगिता हालै सम्पन्न भएको छ । उक्त प्रतियोगिताको ५५ वर्षमाथिको उपाधि कास्कीका जयराम हमाल र रुद्र घलेको जोडीले प्राप्त गरेको छ । हमाल र घलेको जोडीले नेपाल प्रहरीका रमेशकुमार श्रेष्ठ र काठमाडौंका कृष्णबहादुर थापाको जोडीलाई २२-२०, १५-२१ र २१-१२ को अन्तरले पराजित गरेको थियो । यस्तै, महिला ३५ वर्षमाथिको उपाधि कास्कीका प्रतिभा गुरुङ र माया पुनको जोडीले जितेको छ । गुरुङ र पुनको जोडीले तिर्न राई र रतन राईको जोडीलाई २१-११ र २१-१४ को सोझो सेटमा पराजित गर्दै उक्त उपाधि हात पारेको थियो । चितवनको भरतपुरस्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको पुरुष ४५ वर्षमाथिको फाइनल खेलमा नेपाल प्रहरीका कृष्ण सिवाकोटी र सुरेन्द्रबहादुर सिंहको जोडीले सशस्त्र प्रहरीका नारायणमान शाक्य र हर्रि्रसाद श्रेष्ठको जोडीलाई १७-२१, २१-१३ र २१-१५ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने जोडीले क्रमशः १५, १० र ५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

साइक्लिङको अध्यक्षमा पुनः छिमी
नेपाल साइक्लिङ सङ्घको हालै सम्पन्न विशेष साधारणसभाले अध्यक्ष छिमी उर्केन गुरुङलाई पुनः अध्यक्षमा चुनेको छ । त्यस्तै उक्त साधारणसभाले प्रथम उपाध्यक्षमा गोपालसुन्दरलाल कक्षपति, उपाध्यक्षमा पुस्कर शाह, महासचिवमा सञ्जीवकुमार पाण्डे, सचिवमा रञ्जनराज भण्डारी र कोषाध्यक्षमा शुभ श्रेष्ठलाई जिम्मेवारी सुम्पेको छ । नवनिर्वाचित कार्यसमितिको सदस्यमा उदय भूषण, महेश नकर्मी, हिमराज पौड्याल, रूपेशमान श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र उपेन्द्र खड्का रहेका छन् । उक्त साधारणसभामा १७ जिल्ला सङ्घका ३४, केन्द्रीय समितिका १३ र प्राविधिक समितिका दुई गरी ४९ प्रतिनिधिले सहभागिता जनाएका थिए । निर्वाचनकै दिन बसेको सङ्घको पहिलो बैठकले उपाध्यक्षमा सुनिलकुमार श्रेष्ठलाई र सदस्यमा सोनाम गुरुङलाई मनोनीत गरेको थियो । २१ सदस्यीय कार्यसमितिमा दुई उपाध्यक्ष र चार सदस्य मनोनीत गर्न अझै बाँकी छ ।