कोरोना-कहरले निम्त्याएको आर्थिक दुष्प्रभाव र अबको दायित्व

■ निर्देशन त्रिपाठी



कोरोना भाइरस (कोविड–१९) को संक्रमणका कारण विश्वका सबैजसो मुलुक यतिबेला आक्रान्त बनिरहेका छन् । यस अदृश्य शत्रुका कारण ज्यान गुमाउनेको सङ्ख्या विश्वभर करिव एक लाख पुगिसकेको छ भने पन्ध्र लाखको हाराहारीमा सङ्क्रमित बन्न पुगेका छन् । केही साताको अवधिमै यतिका मानिसको मृत्यु भएबाटै आँकलन गर्न सकिन्छ कि यस रोगले निम्त्याएको महामारी कति भयावह र कुन हदको विनासकारी छ !

कोरोनाले यतिबेला विश्व बजारमा आर्थिक, सामाजिक एवम् तीव्र मनोवैज्ञानिक प्रभाव पारिरहेको छ । कोरोना भाइरसबाट सुरक्षित रहनको लागि सरकारले ‘लकडाउन’ लागु गरेको छ भने ‘सोसिअल’ या ‘फिजिकल डिस्ट्यान्स’ अपनाउन आग्रह गरिएको छ । रोगबाट बच्नका लागि यो विधि अपरिहार्य भए पनि यसले गर्दा विभिन्न पेशा–ब्यवसाय भने ठप्प हुन पुगेको छ ।

यो महामारीले गरिव सर्वहारा श्रमिक वर्ग तथा बिहान–बेलुका छाक टार्न दिनभरी काम गर्नुपर्ने जनता निकै मारमा परेका छन् । आर्थिक रूपले निकै जटिल सङ्कट आउने सम्भावना बढ्दै गएको छ । विश्वका मै हुँ भन्ने शक्तिसाली देशहरू त धरासयी बन्न लागेको बेला नेपाल जस्तो अल्पविकशित मुलुकमा आर्थिक संकट नआउने कल्पना पनि गर्न सकिँदैन ।

सर्वविदित नै छ कि विभिन्न स्रोत भएर पनि उपगोग गर्न नसकेको र भ्रष्ट राजनीतिक नेतृत्वका कारण दशकौँदेखि गरिवीको मार झेल्न विवश भएको नेपाल एक ‘परनिर्भर’ मुलुक हो । बाह्य सहयोग नभए राम्री चल्नै नसक्ने अवस्थामा पुगेको यो देश बढ्दो भ्रष्टाचारका कारण बाह्य समुदायले समेत अब नपत्याउने परिवेशबाट गुज्रिँदै छ । त्यसमाथि कोरोना भाइरसको महामारीका कारण विश्वमै आर्थिक मन्दी आउने भएपछि परनिर्भरतामा बाँचेका नेपालजस्तो मुलुकको अवस्था नाजुक हुने प्रक्षेपण गर्न कुनै अर्थविज्ञको आवश्यकता पर्दैन ।

आर्थिक विकराल परिस्थितिको कुरा गर्नुपर्दागाउँ–समाजमा अहिले नै एकअर्कासँग लिएको सानातिना सापटी रकमसमेत तिर्न नसकिने अवस्था पैदा भइसकेको छ । यसले के देखाउँछ भने हाम्रो सामाजिक सद्भाव खल्बलिएर कतै एकर्काबीच सामाजिक दूरी बढ्न सक्ने छ । त्यसो हुनु भनेको अत्यन्त दर्दनाक अवस्था हो, जो भइसकेपछि मात्र बोध हुनेछ कि सामाजिक सद्भाव भन्ने कुरा कति महत्वपूर्ण हुँदोरहेछ भन्ने !

अब कृषिउपज, जस्तो कि धान, मकै गहुँ, फापर, कोदो, विभिन्न तरकारी र फलफुलको खेतीमा विशेष गम्भीरता अपनाएर लागि पर्नु अपरिहार्य भएको छ । सरकारले कोरोना–महामारपिछिको व्यवस्थापनबारे सोच्दै गर्दा यस कुरालाई विशेष रणनीतिका साथ योजना बनाउनु पर्छ ।

देशको प्रत्यक्ष राजस्व ह्वात्तै घटेको छ । अनुमानित राजस्वले साधारण खर्चसमेत धान्न सक्ने अवस्था छैन । यसरी, गम्भीर अवस्थामा वर्तमान नेपालको अर्थतन्त्र देखिन्छ । हामी यसै एकअर्काबीचको सहयोग या परनिर्भरतामा बाँचेकै हौँ । हाम्रो ‘बिओपी’ (Balance Of Payment) विभिन्न देशहरूसँग नकारात्मक नै रहेको अवस्थामा अब झन् कसरी धानिएला ? प्रश्न निकै कहालीलाग्दो छ ।

यतिबेला राजस्व तिर्नेलाई नै सरकारले राहत उपलब्ध गराउनुपर्ने अवस्था निम्तिको छ । कृषि, आद्योगिक, पर्यटन जस्ता सबै क्षेत्र ठप्प हुनाले High Inflation Rate गराउने त हैन भन्ने चिन्ता हुनु स्वाभाविक नै हो । यसबारेमा सरकार समयमै चनाखो हुनु जरुरी छ । जनतालाई आश्वस्त र विश्वस्त तुल्याउने काम त सरकारकै हो ।

हामी जनता पनि कम्तीका छैनौँ । संसारभर हाहाकार भएको बेला महिनौँलाई पुग्ने गरी सामान सञ्चित गर्न खोज्छौँ । अर्कोतिर विपन्न तथा ज्याला गरी खाने अति गरिवीबाट गुज्रँदै गुजारा चलाउने मानिसहरू कसरी छाक टार्ने भन्ने चिन्तामा छटपटिएका छन् । यस विषयमा सरकारले गम्भीरताका साथ सोच्न सकेजस्तो महसुस गरिएको छैन । यसमा समयमै ध्यान नपुगे भोलि सामाजिक अराजकता निम्तिन सक्छ ।

विश्व–बजारमा नेपाली करेन्सी एकदमै सस्तो छ । त्यसले पनि नेपाली अर्थ–प्रणालीमा प्रभाव पारिरहेको छ । यसर्थ अब कृषिउपज, जस्तो कि धान, मकै गहुँ, फापर, कोदो, विभिन्न तरकारी र फलफुलको खेतीमा विशेष गम्भीरता अपनाएर लागि पर्नु अपरिहार्य भएको छ । सरकारले कोरोना–महामारपिछिको व्यवस्थापनबारे सोच्दै गर्दा यस कुरालाई विशेष रणनीतिका साथ योजना बनाउनु पर्छ ।

चाहे कृषिको कुरा होस् या उद्योगधन्दाको, अहिले समाजका हरेक क्षेत्र नराम्ररी ढङ्गले नकारात्मक अवस्थामा रहेका छन् । साना हुन् या ठूला व्यावसायी, सबै यतिबेला बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्ताबाट ग्रसित बनेका छन् । कृषक–उद्यमीहरू मारमा परेका छन् । दुग्ध उत्पादकले सडकमा दुध फाल्नुपरेको छ, तरकारी बारीमा डोजर–ट्रयाक्टर लाएर जोत्न बाध्य भएका छन् आम किसान । तत्काल राहत नपाए धान्नै नसक्ने गरी किसान घाटामा जाने देखिन्छ र आगामी दिनमा कृषिको संकट सोच्नै नसक्ने गरी निम्तिन सक्छ । तरकारी तथा फफुल उत्पादनहरूलाई सुख्खा तुल्याएर भण्डार गर्न सकिने Dry STore निर्माणबारे सरकारले समयमै सोचेर काम गरिदिएको भए आज यसरी कहालिनुपर्ने थिएन ।

दिनका दिन लाखौँ लिटर दुध फालिएका छन् । करोडौँको नोक्सानी भैरहेको छ । गरिब किसानले लाखौँ ऋण लिएर खोलेका फर्महरू यतिबेला टोक्नु न बोक्नुको अवस्थामा पुगेका छन् । पोल्ट्री व्यावसायी उठ्नै नसक्ने गरि थलिएका छन् । दैनिक करोडौँको अन्डा नष्ट गरिएको छ । यसले गर्दा आम किसान व्यवसायीमा नैराश्यता पैदा भएको छ ।

विदेशबाट भित्रिने रेमिट्यान्स बन्द भएको मात्र नभई भविष्यका लागि पनि अनिश्चितकालका लागि रेमिट्यान्स आउने बाटो ठप्प हुन पुगेको छ । हामीले निर्यात गर्ने भनेको वनस्पति तेल, अलैँची, अदुवा, कफी, चिया, पश्मिना जस्ता सामान सीमाबन्दीका कारण ठप्प स्थितिमा छ, जसले आर्थिक क्षेत्रलाई ठूलो प्रभावमा पार्ने निश्चित छ । कतिपय विकास निर्माणका काम पनि ठप्प अवस्थामा भएकोले रोजगारी पनि बन्द छ । पर्यटन क्षेत्रमा काम गर्नेको हाहाकार छ । यस्ता गम्भीर विषयमा बेलैमा सोच्नुपर्ने देखिन्छ ।

अतः सबै राजनीतिक दल, अर्थ मामिलाका जानकार, वैज्ञानिक, विज्ञ–विशेषज्ञ, व्यावसायी लगायत समस्त सरोकारवालाहरू मिलेर यस विकराल अवस्थाकै बीच पनि देशको अर्थतन्त्र बचाउने उपायका बारे चिन्तनमनन र रणनीति निर्माणमा लाग्नु र सरकारले यसका लागि माहोल पैदा गरेर पहलकदमी लिनु जरुरी छ । चेतना रहोस् ।

प्रतिक्रिया