मृत्युपछि कोरोना संक्रमण नभएको पुष्टि भएका गोवर्धनको काजक्रिया रोकियो

मृत्युपछि कोरोना संक्रमण नभएको पुष्टि भएका गोवर्धनको काजक्रिया रोकियो


■ एस क्षेत्री, कपिलवस्तु

कोरोना भाइरस संक्रमणको आशंकामा आइशोलेसन वार्डमा उपचाररत रहेकै बेला स्थानीय युवा गोवर्धन भरको मृत्यु भएपछि आर्थिक अभावका कारण उनका परिवारलाई काजक्रिया गर्न समस्या परेको छ ।

विजयनगर गाउँपालिका वडा नं. २ का ३० वर्षीय गोवर्धनको कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा सोमबार (२४ चैत) राती मृत्यु भएको थियो । स्वाब परीक्षणपछि उनमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भयो । लामो समयदेखि क्षयरोगको बिरामी रहेका भरको क्षयरोग र निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकलाई कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि तीन दिनदेखि आइशोलेसन वार्डमा राखी उपचार गरिँदै आएको थियो

मृतक भरको परिवारको आर्थिक अवस्था निकै कमजोर छ । परिवारमा काजक्रिया गर्नेसम्मको पैसा नभएको मृतककी पत्नी चम्पा भरले बताइन् । मृतक भरको शवलाई घरसम्म पुऱ्याउनका लागि एम्बुलेन्स वा शववाहनको भाडासम्म तिर्ने पैसा नभएपछि आफन्तजनले गाउँकै एक टेम्पु खोजेर शव घरसम्म पुऱ्याएका छन् । आफुसँग भएको ४–५ हजार रुपैयाँ श्रीमानकोऔषधी उपचारमै सकियो, मृतक भरकी पत्नी चम्पाले भनिन्, ‘पतिको मृत्यु भइहाल्यो अब काज क्रिया कसरी गर्ने ? परिवार कसरी पाल्ने ? त्यो मेरो लागि ठुलो समस्या भयो ।’

एक धुर जमिनसम्म नरहेका मृतक भरले गाउँमा ज्याला मजदुरी गर्दै परिवारको पेट पाल्दै आएका थिए । तर भरको मृत्युपछि उनको परिवारमा ठुलो आर्थिक संकट परेको छ । आर्थिक संकटको यो घडीमा मृतक भरकी पत्नी चम्पाले काजक्रियाको कार्य सम्पन्न गराउन सबैसँग आर्थिक सहयोगका लागि रुँदै याचना गरेकी छिन् ।