बेलायती प्रधानमन्त्री आईसीयुमा, बेलायतमा गम्भीर सङ्कट

बेलायती प्रधानमन्त्री आईसीयुमा, बेलायतमा गम्भीर सङ्कट


■ प्रकाश के.सी., लण्डन

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबार (६ अप्रिल) साँझ सेन्टर लण्डनको सेन्ट थोमस अस्पतालको आईसीयु वार्डमा सारिएका छन् । आइतबार राति आठ बजे साधारण चिकित्सक निरीक्षणका लागि लगिएका बोरिस जोन्सन गत १० दिनदेखि लण्डनस्थित प्रधानमन्त्री निवासमा आइसोलेटेड भएर रहेका थिए र सोही फ्ल्याटबाट नै उनले बेलायतको कन्जर्भेटिभ बहुमतको सरकारलाई नेतृत्व गरिरहेका थिए ।

बितेका १० दिनदेखि खासगरी प्रधानमन्त्रीको कार्यको रेखदेख वैदेशिक मामिला हेर्ने डोमिनिक राबले गरिरहे पनि प्रधानमन्त्री जोन्सनसँग हरेक पलको वार्तालापसहितको सामिप्यमा रहेर प्रधानमन्त्री बोरिसकै निर्देशनमा कार्य भइरहेका पत्रकार सम्मेलनमा बताइएको थियो । हरेक दिनको पाँच बजे नियमित रूपमा हुने पत्रकार सम्मेलनमा सोमबार सञ्चारकर्मीको प्रश्नको उत्तर दिने क्रममा डोमिनिक राबले गत शनिबारदेखि प्रधानमन्त्री जोन्सनसँग कुराकानी नभएको बताउँदा मुलुकमा एक अन्योलको वातावरण पैदा भएको थियो ।

अक्सर भिडियोबाट आफ्नो सन्देश सामाजिक सञ्जालमा राख्ने जोन्सनले आइतबार चाहिँ ट्वीटरमा आफू ठीक रहेको र डाक्टरहरूको सल्लाहमा आफू अहिले अस्पतालमा रहेर चिकित्सकीय हेरचाहमा विभिन्न परीक्षणहरू गरिरहेको लेखेका थिए ।

कन्जर्भेटिभ पार्टीको अहिले बहुमतको सरकार छ, तथापि पार्टीमा र सरकारमा पनि केही भिन्न खेमा तयार भइरहेका छन् । अहिले देश पूर्ण संक्रमणको हालतमा छ, ५१ हजार ६०८ जनामा कोरोना भाइरस लागेको छ भने ५३७३ व्यक्तिको ज्यान गइसकेको छ ।

हेल्थ सेक्रेटरी म्याट ह्यानकक पनि प्रधानमन्त्रीसँगै कोरोना भाइरसको लक्षण देखिएता पनि सात दिनपछि निको भएर काममा फर्केका थिए र यी दुईभन्दा केही दिनअगाडि भाइरसको संक्रमणको आरम्भिक लक्षण देखा परेर आइसोलेसनमा रहेका राजकुमार चाल्र्स पनि निको भएर बाहिरिसकेका छन् । तर पूरा दश दिनसम्म पनि ज्वरो निको नभएर आखिरमा प्रधानमन्त्री निवासका डाक्टरहरूकै सल्लाहमा अस्पताल लगिएका बोरिसलाई अहिले आईसीयूमा सारिएको समाचार आगोसरी संसारभरि फैलिएको छ ।

श्वासप्रश्वासको प्रणालीमा धावा बोल्ने कोरोना भाइरसको दुष्प्रभावलाई मत्थर पार्नको लागि आईसीयूमा भेन्टिलेटरमा राख्न सकिने भएर सारिएको बताइए तापनि अहिलेसम्म जोन्सनलाई उक्त भेन्टिलेटरको प्रयोग नगराइएको बताइएको छ । शरीरका विभिन्न मुख्य अग्र्यानलाई संक्रमित गर्न सक्ने यस भाइरसले चाँडै नै बिरामीलाई थला पार्ने गर्दछ । बोरिस जोन्सन अझै नै पूर्ण होसमा रहेको बताइएको भए पनि अहिले राजनीतिक वृत्तमा सरकारको कार्यभारको जिम्मा लिन नसक्ने हालातमा उनी रहेकाले उनको उत्तराधिकारीको रुपमा उनको डेपुटी मानिएका डोमिनिक राबलाई शासनको भार दिइनुपर्ने चर्चा चल्न थालेका छन् ।

तीन हप्ताको लक्टडाउनको मिति सकिन थालेको छ, देशको अर्थ व्यवस्था पनि धरापमा छ, कोभिड १९ अझै शिखरमा पुगेको छैन, सन् २०२० भित्र आधिकारिक रुपमा नयाँ सन्धिसहित वा सन्धिबाहेक मुलुक ईयूबाट अलग गराउनु पर्ने छ र यी सबैको मुख्य धरोहर बोरिस जोन्सन गम्भीर रुपमा विरामी परेर अस्पतालमा छन् । यो अवस्था बेलायतको हकमा अत्यन्तै नाजुक प्रतीत हुँदै छ । अहिले विपक्षी पार्टीसहित आम बेलायती नागरिकले बोरिस जोन्सनको द्रूत गतिको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।