फ्रान्सका कोरोना संक्रमित बिरामीलाई अष्ट्रियाले उपचार गर्दै

फ्रान्सका कोरोना संक्रमित बिरामीलाई अष्ट्रियाले उपचार गर्दै


Sagar Subedi , Vienna

युरोप महाद्वीपमा इटाली र स्पेनभन्दा पछाडि कोरोना–संकटसँग जुधिरहेको फ्रान्सले अत्यधिक बढ्दो संक्रमण अनि अस्पतालमा ठाउँ अभावका कारण अष्ट्रिया सरकारलाई सहयोगका निमित्त आग्रह गरेसँगै गत बिहीबार (२ अप्रिल) फ्रान्सबाट सेनाको विशेष जहाजमा केही अति संकटकालीन अवस्थाका बिरामीहरुलाई अष्ट्रियाको संघीय राज्य साल्ज्बुर्गस्थित क्षेत्रिय अस्पतालमा ल्याइएको छ।

अष्ट्रियाले आजका दिनसम्म यो महामारीलाई सहजताका साथ झेलिरहेको छ, साथै अष्ट्रियाका अस्पतालहरुमा इन्टेन्सिभ केयर युनिट (ICU) समेत को बेड संख्या अहिलेसम्मको गणक संख्या अत्यधिक रहेका कारण छिमेकी मित्रराष्ट्र फ्रान्सलाई उपाचारमा सहयोग गर्ने भएको छ। ज्ञातव्य छ, अष्ट्रियाले इटालीका संक्रमित बिरामीहरुलाई पनि प्रारम्भिक दिनदेखि नै यसको संघीय राज्य टिरोलमा ल्याएर उपचारमा सहयोग गरिरहेको छ।

यसै विषयलाइ अझ प्रस्टाउँदै अष्ट्रियाका चान्सलर (प्रधानमन्त्री) सिबास्टियान कुर्जले एपीएलाई भनेका छन्, ‘हामीले मित्रराष्ट्र फ्रान्सलाई यो अफ्ठेरो अवस्थामा पक्कै सहयोग गर्नुपर्छ, हामी असल छिमेकी हुनुका साथै इयुको सदस्य राष्ट्रको नाताले सहयोग गर्नु हाम्रो जिम्मेवारी पनि हुन आउँछ।’

यो समाचार तयार गर्दै गर्दा फ्रान्समा ५८ हजारभन्दा माथि संक्रमण पुष्टि भैसकेको छ भने ४ हजार ४ सय ९० जना नागरिकको मृत्यु भैसकेको जनाइएको छ ।

तस्बिर: APA Austria