दुई हजार वर्षमा महामारीबाट मर्ने एक अर्बभन्दा बढी

■ अनिलभक्त खरेल



२० खर्ब २० अर्ब अमेरिकी डलरको राहत प्याकेज पास भएपछि पनि कोरोना भाइरसबाट अमेरिकावासीको मृत्यु दरमा कमी आएको छैन । पछिल्ला दिनमा आएर त दैनिक ५–६ सयको हाराहारीमा मृत्यु हुनेको संख्या थपिन लागेको छ । सरकारी संयन्त्रलाई यसैगरी नै परिचालन गर्ने हो भने अमेरीकी जनजीवन अकल्पनीय कहालीलाग्दो हुने विज्ञहरू बताइरेका छन् ।

न्युयोर्कमा कार्यरत डाक्टर–नर्सहरू मात्रै होइनन् कि स्वयम् न्युयोर्कका गभर्नर Andrew Mark तथा न्युयोर्क सिटीका मेयर Bill de Blasio ले आफुहरूसँग हस्पिटलमा प्रयोग हुने सामान अपुग रहेको बताउनु र सो माग अझसम्म पूरा नहुनुले न्युयोर्कको अवस्था झन् कहालीलाग्दो र दयनीय हुने त छँदैछ । न्युयोर्कको अलावा अन्य राज्यमा देखिएको संक्रमित संख्या र मृत्युदर यस्तै तरिकाले बढ्दै जाने हो भने अबको चार सातासम्म पूरै अमेरिका भरि ८–१० लाख व्यक्ति संक्रमित हुने र ८–१० हजारको हाराहारीमा नै मृत्यु हुने वर्तमाने अवस्थाबाट आँकलन गर्न सकिन्छ ।

न्युकोर्कमा त अन्य बिरामीको कुरै छोडौँ, गाडी दुर्घटना भएर उपचारको लागि अस्पताल पुगेका व्यक्ति, जसको पछि मृत्यु भयो, सो व्यक्तिमा पनि कोरोना भाइरस पोजिटिभ देखिनुले यो भाइरस जो–कोहीमा पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । अमेरिकावासीको लागि यो डर र चिन्ताको विषय बनेको छ । अमेरिकाको भयावह स्थिति देखेर नै विश्व आतङ्कित छ किनकि विश्वमा अमेरिकी अस्पताललाई भरपर्दो रूपमा हेरिने गरिन्छ । स्वयम् अमेरिकनहरू प्रताडित भए पनि सँगसँगै विश्व नै डराइरहेको छ ।

हुन त कोरोना भाइरस रोगले मात्रै मानिसहरू मरेका होइनन् । यो भाइरसले भन्दा अन्य विभिन्न भाइरसहरूका कारण विगतमा धेरै मानिसहरू मारिएका छन् । हाम्रो पुस्ताले विगत भोगेन र पो ! वास्तवमा विगत झन् कहालीलाग्दो रहेको मर्नेको संख्याले बताउँछ ।

दुई हजार वर्षमा कति मरे त महामारीबाट ?

इसं.को सुरुदेखि १५औं शताब्दीसम्म अर्थात् १४९९ सम्मको १५ सय वर्षमा झण्डै ३२ करोड जनसंख्या महामारीले मरेका थिए । सन् २५० देखि सन् २६६ सम्म Smallpox (विफर)का कारण युरोपमा १० लाख मानिस मारिएका थिए । त्यस्तै Plague (प्लेग) का कारण सन् ५४१ देखि ५४२ को एक वर्ष अन्तरालमा युरोपको सम्पुर्ण जनसंख्याको ४० देखि ५० प्रतिशत अर्थात् २ करोड ५० लाखदेखि १० करोड मानिसको मृत्यु भएको बताइन्छ । त्यसैगरी, सन् ७३५ देखि ७३७ को अवधि अर्थात् २ वर्षमा जापानिज स्मलपक्स (Japanese Smallpox)को कारण जापानको जनसंख्याको एक तिहाइ अर्थात् झण्डै २० लाख जापानिज मरेको बताइन्छ ।

यस्तै, सन् १३३१ देखि सन् १३५३ को अवधिलाई महामारीको कालो दिन मानिन्छ । किनकि प्लेग (Plague) नाम दिइएको सो महामारीबाट युरोप, एसिया र उत्तर अफ्रिकामा २२ वर्षको अवधिमा १० देखि ६० प्रतिशत युरोपियन अर्थात् ७ करोड ५० लाखदेखि २० करोड सम्म मरेको बताइन्छ जसलाई Black Death को नामले चिनिन्छ । पछि सन् १४८५ मा हन्ता भाइरसबाट बेलायत र युरोपमा थप १० हजार भन्दा बढीको मृत्यु भएको थियो ।

त्यसैगरी १६औं र १७औं शताब्दीमा Smallpox का कारण सन् १५२० मा मेक्सिकोका ४० प्रतिशत जनसंख्या अर्थात् ५० लाख देखि ८० लाख मानिस मरेका थिए भने सन् १५४५ देखि १५४८ को ३ वर्षको अवधिमा Salmonella Enterica का कारण मेक्सिकोका जनसंख्याको ८० प्रतिशत अर्थात् ५० लाख देखि १ करोड ५० लाख मानिस मरेका थिए ।

त्यस्तै, सन् १५६३ देखि १५६४ को १ वर्षमा प्लेगका कारण लण्डनमा २० हजार भन्दा बढी मानिस मरेका थिए भने सन् १५७६ देखि १५८० को ४ वर्ष अन्तरालमा Salmonella का कारण मेक्सिकोका जनसंख्याको ५० प्रतिशत अर्थात् २० लाख देखि २५ लाखसम्म मानिस मरेका थिए । ६० वर्षको बीचमा महामारीका कारण मेक्सिकोमा मात्र झण्डै २ करोड ५० लाख मानिस मरेका थिए । सन् १५९२–९३ को प्लेगका कारण लण्डनमा १९ हजार ९ सय भन्दा बढी मानिस मरेका थिए । १५औं शताब्दी मेक्सिको र लण्डनको लागि फलदायी रहेन । यो सय वर्षको अवधिमा झण्डै ३ करोड मानिस महामारीका कारण मारिएका थिए ।

त्यसैगरी सन् १६१६ देखि १६२० को अवधिमा yello Fiver, Plague, Smallpox, Chickenpox, हेपाटाइटिस बी र डी का कारण दक्षिणी नयाँ इग्ल्याण्डका ३० देखि ९० प्रतिशत मानिस मरेका थिए भने सन् १६२९ देखि १६३१ सम्म प्लेगका कारण इटलीमा २ लाख ८० हजार मानिस मरेका थिए । यसैगरी Smallpox का कारण १६३४ देखि १६५७ सम्ममा चाइना, इटली लगायत युरोपका देशमा गरि १५ हजार देखि २५ हजार मानिस मरेका थिए । सन् १६६३–६४ मा प्लेगका कारण नेदरल्याण्डमा २४ हजार मानिस मरेका थिए । सोही रोगका कारण सन् १६६५–६६ मा इङ्ल्याण्डमा १ लाख, सन् १६६८ फ्रान्समा ४० हजार, सन् १६७५ मा माल्टा र स्पेनमा गरि ११ हजार तीन सय, सन् १६७९ मा अष्ट्रेलियामा ७६ हजार मानिस मरेका थिए ।

त्यसैगरी, १८औं शताब्दीको सुरुवात अर्थात् सन् १७०७ मा आएको Smallpox का कारण आयरल्याण्डका जनसंख्याको ३६ प्रतिशत अर्थात् १८ हजार मानिस मरेका थिए । सन् १७२० मा प्लेगका कारण फ्रान्समा १ लाख मानिस मरेका थिए । सन् १७३८ को Great Plague का कारण Balkas का ५० हजार मानिस मारिएका थिए । प्लेगका कारण सन् १७७० मा रसियामा ५० हजार मानिस मरेका थिए । सन् १७७२ देखि १७९८ सम्ममा प्लेग लगायतका महामारीबाट २ लाख भन्दा बढी मानिस मारिएका थिए । १६औं र १७औं शताब्दीको तुलनामा १८औं शताब्दीचाहिँ केही मात्रामा भए पनि सुखद भए ।

१९औं शताब्दीको सुरुवात तथा सन् १८१३ प्लेगका कारण माल्टामा ४ हजार ५ सय र रोमानियामा ६० हजार मानिस मारिएका थिए । सन् १८१६ मा कोलेराका कारण एसिया, युरोपका १ लाखभन्दा बढी मानिस मारिएका थिए । पछि १८२९ देखि १८५१ को अवधिमा सोही रोगका कारण एसिया, युरोप र उत्तरी अमेरिकामा गरी १ लाख भन्दा बढी मानिस मारिए । त्यसैगरी Epidemic Typhus का कारण सन् १८४७ मा क्यानाडामा २० हजार भन्दा बढी मानिस मारिएका थिए । सन् १८५२ देखि १८६० को अवधिमा कोलेराका कारण रसिया, अमेरिका, इग्ल्याण्डमा गरि १० लाख मानिस मारिएका थिए । त्यस्तै, सन् १८५५ बाट प्लेगका कारण विश्वभरिका १ करोड २० लाख भन्दा बढी मानिस मरेका थिए, जसलाई Third Plague Pandemic नामाकरण गरिएको थियो । त्यस्तै Measles का कारण सन् १८७५ मा फिजीमा ४० हजार, सन् १८८१ देखि १८९६ का अवधिमा कलेराका कारण इण्डिया र जर्मनीमा ९ हजार भन्दा बढी तथा सन् १८८९ मा आएको इन्फ्लुएन्जा फ्लूका कारण विश्वभरि १ लाख मानिस मारिएका थिए ।

२०औँ शताब्दी पनि विश्वको लागि फलदायी रहेन । महामारीका कारणबाट मात्रै झण्डै ६५ करोड मानिस सय वर्ष अवधिमा मारिएका थिए । २०औं शताब्दीको सुरुवाती नै विश्वको लागि कष्टकर रह्यो । कलेराका कारण युरोप, एसिया, अफ्रिका लगायतका देशमा सन् १९२३ सम्ममा ८ लाख भन्दा बढी मारिए । सन् १९१० मा चाइना प्लेगका कारण चीनमा ४० हजार, Encephalitis Lethargica कारण सन् १९१५ देख १९२६ सम्ममा विश्वभरिमा १५ लाख मानिस मारिएका थिए । Poliomyelitis का कारण सन् १९१६ मा अमेरिकामा ७ हजार भन्दा बढी मानिस मारिएका थिए भने स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० अर्थात् २ वर्षको अवधिमा विश्वभरिमा १ करोड ७० लाख देखि १० करोडसम्म मारिएको बताइन्छ ।

त्यसैगरी इसियन फ्लूका कारण सन् १९५७–५८ मा २ लाख, Smallpox को कारण सन् १९७७ सम्म्मा ५० करोड मानिस मारिएका थिए । हङकङमा फ्लूका कारण सन् १९६८-६९ मा विश्वभरि १ लाख मानिस मारिएका थिए । सन् १९७४ मा Smallpox का कारण इण्डियामा थप १५ हजार मानिस मारिएका थिए । सन् १९२० देखि हालसम्म एचआईभी रोगका कारण विश्वभरि गरि ३ करोड २० लाख भन्दा बढी मानिस मारिए । महामारिबाट मात्रै २० औं शताब्दीमा झण्डै ६५ करोड मानिस मारिएका थिए । प्रथम तथा दोश्रो विश्वयुद्ध पनि यही शताब्दीमा भए । २ वटा विश्वयुद्धबाट मारिने १२ करोड पनि थप्ने हो भने झण्डै ७७ करोड मानिस २०औं शताब्दीमा मात्रै मारिए जुन विश्वको लागि अत्यन्त दुःखद पक्ष बन्यो ।

सन् २१औं शताब्दीको आरम्भ सुखद भए पनि सन् २००९ मा देखिएको स्वाइन फ्लू कारण विश्वभरि १८ हजार भन्दा बढीको मृत्यु भएको पाइन्छ । त्यस्तै, हाइटीमा देखिएको कोलेरका कारण सन् २०१० देखि हालसम्म १० हजार भन्दा बढीको मृत्यु भैसेकेको छ । Measles कारण कंगोमा सन् २०११ देखि २०१४ सम्म ४ हजार ५ सय मानिस मारिए । इबोला भाइरसका कारण विशेषगरी पश्चिम अफ्रिकासहित विश्वभरि ११ हजार ३ सय मानिस मारिए । त्यस्तै, सन् २०१६ मा यमनमा कोलेराका कारण झण्डै ४ हजार, सन् २०१८ मा सोही रोगका कारण कंगो, उगाण्डामा गरी थप २२ सय मानिसको मृत्यु भएको छ ।

त्यसैगरी सन् २०१९ मा Measles का कारण कंगोमा ५ हजारभन्दा बढी, सोही साल डेंगुका कारण एसिया तथा ल्याटिन अमेरिकामा गरि २ हजार भन्दा बढीको मृत्यु भएको छ । हाल देखिएको कोरोना भाइरस २१औं शताब्दीमा डरलाग्दो रुपमा विश्वभरि देखापरेको छ । हालसम्म विश्वभरि गरेर ३५ हजारको हाराहारीमा मानिसको मृत्यु भैसकेको छ भने झण्डै ७ लाखको हाराहारीमा संक्रमित भएका छन् । रोगको दबाई नभेटिएको कारण मर्नेको संख्या कति पुग्ने हो यसै भन्न सकिन्न । आशा गरौं विज्ञहरूले चाँडै नै रोगको उपचार खोज्नेछन् ।

यसरी बितेको २ हजार वर्षको इतिहासलाई हेर्ने हो भने महामारीबाट मात्रै झण्डै १ अर्ब भन्दा बढी मानिस मारिइसेकेको पाइन्छ । २०औं शताब्दी नै सबैभन्दा अत्यासलाग्दो थियो भने २१औं शताब्दी अब सुखद हुने आशा गरौँ । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

– भर्जिनिया (अमेरिका)

प्रतिक्रिया