देशव्यापी बन्द गर्नुको विकल्प नभएको प्रधानमन्त्री मोदीको भनाइ

देशव्यापी बन्द गर्नुको विकल्प नभएको प्रधानमन्त्री मोदीको भनाइ


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति माफी माग्नुभएको छ । भारतमा मङ्गलबारदेखि लागु भएको एक साता नपुग्दै प्रधानमन्त्रीले यसबाट नागरिकलाई तत्काल कठिनाई परे पनि अन्ततः यसले नागरिकको हित नै गर्ने बताउनुभयो ।

आइतबार (२९ मार्च) रेडियो कार्यक्रम ‘मन की बात’मा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिबहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “सरकारले सबै जनतालाई सुरक्षित राख्नका लागि चाहेको र यो निर्णयको कुनै विकल्प नरहेको बताउनुभयो ।

प्रधानमन्त्री मोदीले अहिलेको संकटमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि उक्त कार्यक्रममार्फत् दिनुभएको थियो । लकडाउन हुँदाहुँदै दिल्लीबाट हजारौँ मानिसहरु पैदल हिँडेरै अहिले गाउँगाउँ गइरहेका छन् ।

भारतमा आइतबारसम्म कोरोना भाइरसका कारण २५ जनाको ज्यान गइसकेको छ भने करिब हजार जना संक्रमित भइसकेका छन् ।

यसैबीच दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्वदेशी तथा विदेशी कामदारलाई दिल्लीमा नै रहन आग्रह गर्नुभएको छ । उहाँले सरकारले जस्तै कठिनाईमा पनि श्रमिकलाई वेवास्ता गर्न नसक्ने बताउनुभयो । केजरीवालले भन्नुभयो, ‘लकडाउनको मन्त्र जो जहाँ छ त्यही रहने हो । यदि हामीले यसलाई पालना गरेनौँ भने हामीले कोरोनाभाइरस विरूद्धको लडाईलाई जित्न कठिन पर्नेछ ।’