एकाघरका दाजुभाइ पोखरीमा डुबेपछि गाउँ शोकमग्न

एकाघरका दाजुभाइ पोखरीमा डुबेपछि गाउँ शोकमग्न


■ एस. क्षेत्री, कपिलवस्तु

पोखरी किनारमा खेल्दै गर्दा एकै घरका दुई दाजुभाइको दुर्घटनावश मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कपिलवस्तु नगरपालिका वडा नं. ८ पुर्व बेलहवा तबरेज धुनियाँका १२ वर्षीय छोरा सलमान धुनिया र उनका भाइ १० वर्षीय अरमान धुनिया रहेका छन् । मृतक दुई भाइका शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

पोखरीछेउमा खेल्दै गर्दा भाइ अरमान अकस्मात पोखरीमा डुबेपछि भाइलाई बचाउन खोज्दा दाजु सलमान पनि डुबेको हुन सक्ने स्थानीय शारुल्लाह मुसलमानले बताए । पोखरी किनारमा ब्याक हु लोडरले गहिरो गरी खनेको र पोखरीको सो स्थान अनपेक्षित गहिरो रहेको स्थानीयले बताएका छन् ।

मृतक दुई भाइको शव पोखरी किनारमा भासिएको अवस्थामा थियो । गाउँलेहरु आएर केहीबेर खोजेपछि मात्रै भासिएर जमिनमुनि गडेको अवस्थामा दुवै शव निकालेका थिए । गाउँका दुई बालकको एकसाथ मृत्युको खबरले कपिलवस्तु नगरपालिका वडा नं ८ को पूर्वीवेलहवा गाउँ शोकमा डुबेको छ ।

शोकको यस घडीमा आफ्नो पूर्ण सहानुभति रहेको र मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति वडाअध्यक्ष शिवप्रसाद पाण्डेयले समवेदना प्रकट गरेका छन् । पीडित परिवारलाई आफुले सक्दो सहयोग गर्ने पनि वडाअध्यक्ष पाण्डेयले प्रतिबद्धता जनाए ।