‘कोरोना-कहर’का अवसरहरू

‘कोरोना-कहर’का अवसरहरू


■ नरोत्तम श्रेष्ठ

बेलायतको राजनैतिक होडमा Allies Power को दम्भसँगै प्रथम विश्वयुद्ध समापन भयो । प्रथम विश्वयुद्धपछि संसारको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका बन्यो भने शक्तिहीन राष्ट्र जर्मनी बन्न पुग्यो । प्रथम विश्वयुद्धको हारपछि भर्सेलिज सन्धिको घाइते बाघ जर्मनीले पोल्याण्डमाथि हमला गरेर दोस्रो विश्वयुद्धको शंखघोष गऱ्यो । द्वित्तीय विश्वयुद्धमा अन्य देशको तुलनामा अत्यन्तै न्यून क्षति भएकै कारणले अमेरिका फेरि पनि सबैभन्दा शक्तिशाली राष्ट्र बन्न पुग्यो ।

नेपाललगायत अल्पविकसित राष्ट्रहरूमा पश्चिमा हस्तक्षप बढ्दै गयो भने राष्ट्र रहे मात्र हामीले राजनीति गर्ने हो भन्ने भावना यहाँका नेताहरूबाट लोप हुँदै गयो । राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता, सार्वभौमिकतामाथि धावा बोल्दै केही सीमित नेतृत्वलाई मुठ्ठीभरमा कब्जा गरी नवऔपनिवेशिक ढंगले मुलुक विघटन गराउने अथवा भुटानीकरण गराउने कुत्सित षड्यन्त्रमा मुलुक प्रयोगशाला बन्दै गयो । नेपालको राजनीतिमा चीन र भारतको प्रत्यक्ष पहिलो असर पर्छ भन्ने भ्रम पालिरहेका आम मानिसलाई पश्चिमाहरूको राजनीतिक हस्तक्षेप बारे जानकार नहुनु स्वभाविक पनि हो ।

अमेरिका, चीन र युरोपियन युनियनका स्वार्थहरू एक आपसमा बाझिन थालेपछि तेस्रो विश्वयुद्धको बिगुल फुकेको आशंकाहरू बढ्न लागेका बेला अहिले कतिपयले कोरोनालाई तेस्रो विश्वयुद्धको रूपमा पनि लिएको पाइन्छ । पहिलो र दोस्रो विश्वयुद्धले भन्दा बढी कोरोना युद्धले विश्वलाई खल्बल्याइसकेको छ, कोरोना महामारीले विश्व अर्थतन्त्र नराम्रोसँग प्रभावित पारिसकेको छ, मानिसको आवतजावतको विश्वसम्बन्ध नराम्रोसँग खलबलिएको छ । गगनमा पन्क्षी आजादीका साथ उडिरहेको छ, पानीमा माछा निर्धक्क पौडिरहेको छ, तर एक्युरियममा माछा तथा पिँजडामा पन्क्षीलाई कैद गर्ने मानिस आफै पिँजडामा कैद भएको छ ।

कोरोना भाइरसबाट सारा संसार त्रसित छ, आतङ्कित छ, यतिबेला करिव–करिव सिङ्गो विश्व नै लकडाउनमा छ । यसको प्रभाव अन्त्य हुन निकै लामो समय लाग्न सक्छ । हाल अवलम्बन गरिएको लकडाउनले निम्त्याउने सामाजिक तथा आर्थिक क्षति डरलाग्दो हुन सक्छ । विकल्पको खोजीमा लकडाउन फुक्का गर्ने हो भने भाइरसको जन्जिर अझ ससक्त हुन सक्छ, जुन सिंगो मानवजातिको लागि भयङ्कर अभिशाप बन्न सक्छ ।

गुड्नेमा वायु–गतिका रेल, तैरनेमा भीमकाय पानीजहाज, उड्नेमा हवाइजहाज, रकेट यानदेखि संसार ध्वंश गर्न महाशक्तिशाली वम बनाएर तथाकथित विश्व जितेका दम्भहरूलाई आँखाले देख्न नसक्ने सुक्ष्म कोरोना भाइरसले क्षतविक्षत पारेको छ ।

यस्तो विषम परिस्थितिमा ‘कोरोना भाइरसले साँच्चिकै हामी सबैलाई सिध्याउनै लागेको हो त ?’ भन्ने कुरा कदापि बहसको विषय बन्न सक्दैन । अर्थात्, कोरोना भाइरस खतरनाक छैन भन्ने दुःस्साहस कसैले गर्न सक्दैन । तर मूल कुरो के हो भने कुनै पनि भाइरसले प्रत्यक्ष रूपमा मान्छेलाई मार्दैन, हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आयो भने मात्र कमजोर ‘Immune System’ ले मान्छे मार्दछ । संसारका कुनै पनि चिकित्सक, वैज्ञानिकहरूले भाइरसको औषधि पत्ता लगाउन सकेका छैनन् र संसारको कुनै पनि धन–दौलतले भाइरसलाई मार्ने औषधि किन्न सक्दैन । तर संसारका गरिवभन्दा गरिव मान्छेसँग पनि भाइरसलाई मार्ने औषधि उसकै शरीरको रगतमा मौजुद हुन्छ । कोरोना, इबोला, एचआइभी जस्ता खतरनाक भाइरसको कुरा छोडौँ, Rhinovirus का कारण लाग्ने साधारण रूघाको पनि दुनियाँमा औषधि बनेको छैन । रूघा लाग्दा हामीले प्रयोग गर्ने औषधिले Rhinovirus लाई मार्न सक्दैन, मात्र प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउने काम गर्छ, किनकि अहिले सम्म संसारमा कुनै पनि भाइरसको औषधि बनेको छैन ।

गुड्नेमा वायु–गतिका रेल, तैरनेमा भीमकाय पानीजहाज, उड्नेमा हवाइजहाज, रकेट यानदेखि संसार ध्वंश गर्न महाशक्तिशाली वम बनाएर तथाकथित विश्व जितेका दम्भहरूलाई आँखाले देख्न नसक्ने सुक्ष्म कोरोना भाइरसले क्षतविक्षत पारेको छ । भाइरस कहिल्यै भाग्दैन, भाइरस कहिल्यै नष्ट हुँदैन । यसले समय, परिस्थिति र वातावरणअनुकुल आफ्नो स्वरुप परिवर्तन गरिरहन्छ ।

कोरोना नयाँ होइन, मानव जातिभन्दा पहिलेदेखि नै सृष्टिमा मौजुद छ यो । मानवले प्रकृति बिथोलेकै कारण यस्ता विषाणुले वितण्डा मच्चाउँदै छन् । हुन सक्छ– मानिसले अनियन्त्रित रूपमा प्रकृति दोहन गर्दा नयाँ स्वरूपमा कोरोना भाइरसको जन्म भएको होस् । र, यसले पृथ्वीमा आफ्नो बासस्थान खोज्ने क्रममा मानिसको शरीरसँगै मिलिजुली विचरण गर्न खोजेको होला । हुन सक्छ– मानव शरीरमा ‘Adopt’ हुनको लागि उक्त भाइरसले कयौँ वर्ष कुर्नुपर्ला । यसबीचमा कयौँ मानिसहरू पर्याप्त इम्युनिटी विकसित हुने समयाभावमा उक्त भाइरसको कारणले शहिद हुनुपर्ला । कालान्तरमा रूघा–खोकी जस्तै साधारण भाइरसको रूपमा भाइरस र मानिस सहकार्य गर्दै मानिसको अभिन्न मित्र या शत्रुको रूपमा कोरोना भाइरस परिभाषित नहोला भन्न सकिन्न ।

चीन, युरोपियन देशहरू, अमेरिका लगायतका देशहरूमा हजारौँलाई कोरोना संक्रमण प्रमाणित भइसकेको छ । तीमध्ये दैनिक सयौँको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ भने हजारौँको संख्यामा रोग निको पनि भइरहेको छ । मृत्यु हुनेहरूमा अधिकांश वृद्ध, दीर्घरोगी, क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, पटक–पटक निमोनिया भइरहने र दमका विरामी आदि परेका छन् । इटलीका ९५ वर्षीया हजुरआमा Alma Clara Corsini ले कोरोनासँगको युद्ध जितेर पुनर्जीवन पाएकी छन् । कोरोनाको कुरा छोडौँ, सन् १९८३ पछि संसार आतंकित पारेको एचआईभीले लाखौँ मानिस मरिसकेका छन् तर १९८३ ताका एचआईभीसंक्रमित भएका विश्वविख्यात खेलाडी Myasic Johnson अहिलेसम्म जीवित छन् । कारण स्पष्ट छ– शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई शक्तिशाली बनाउन सकियो भने संसारका कुनै पनि भाइरसले हामीलाई मार्न सक्दैन, चाहे कोरोना होस या इबोला होस् या एचआईभी ।

कोरोना युद्धका कारण अल्पविकसित राष्ट्रका कर्मठ युवाहरू विकसित राष्ट्रमा पलायन हुने विकराल समस्यामा कमी आउनेछ, विकसित राष्ट्रहरूले अविकसित राष्ट्रहरूलाई हेर्ने नजर बदलिने छ र नेपाललगायत अल्पविकसित राष्ट्रहरूमा पश्चिमाहरूको राजनीतिक हस्तक्षेप नियन्त्रण हुनेछ । शक्ति सन्तुलनमा व्यापक फेरबदल हुनेछ । दोस्रो विश्वयुद्धपछि अमेरिका महाशक्ति राष्ट्र बनेजस्तै कोरोना युद्धपछि तेस्रो मुलुक महाशक्ति राष्ट्र बन्ने प्रचुर सम्भावना छ ।

आफूविना संसार चल्दैन भन्ने भ्रममा बाँचिरहेका मानव–दम्भलाई कोरोना भाइरसले अवश्यम्भावी सकारात्मक पाठ सिकाउला । विश्वका ७ अर्ब ८० करोड जनसंख्यामध्ये ७ अर्ब ९९ करोड ९९ लाख ९९ हजार ९९ मरुन् या बाँचुन्, विश्वका १९५ मुलुकमध्ये १९४ मुलुक रहुन्–नरहुन्, बाँकी एक मात्र समृद्ध होस्, मानव भएर हैकम लाद्न सकियोस् भन्ने स्वार्थलाई तुषारापात गराउला । यसले तेस्रो विश्वयुद्धको सम्भावनालाई निमिट्यान्न पार्न सक्ला । विश्व समाजले व्यारेक बनाउने खर्चले अस्पताल बनाउला । सेना पाल्ने खर्चले स्वास्थ्यकर्मी बढाउला । हतियार बनाउने खर्चले स्वास्थ्य उपकरण निर्माण गर्ला । हतियारको विकासमा गरिने अनुसन्धान स्वास्थ्यक्षेत्रको अनुसन्धानमा केन्द्रित होला । मानिसले ‘स्व’ (आफ्नो) स्थानमा फर्किने, आफूलाई चिन्ने, आत्मसमीक्षा गर्ने, दौलत र खुशीबीचको अन्तर बुझ्ने, जीवनको महत्व बुझ्ने, पारिवारिक घनिष्ठता बढाउने अवसर ‘लकडाउन’ले प्रदान गर्ला ।

मान्छेले मान्छेको मात्र हित हेरेर पुग्दैन, मान्छेले खोलानालाको पनि हित हेर्नुपर्छ, बनजंगलको पनि हित हेर्नुपर्छ, कीरा–फट्याङग्रालगायत सम्पूर्ण प्राणी जगतको हित हेर्नुपर्छ भन्ने पाठ कोरोना युद्धले अवश्य सिकाउने छ । बुद्धसँग युद्ध होइन युद्धभित्र बुद्ध खोज्ने परम्पराको थालनी हुनेछ । कुनै मानिसको टाउकोमा आगो र पैतालामा हिउँ एकैसाथ राखिदियो भने यसलाई ‘सन्तुलन’ देख्ने भौतिक शास्त्रलाई कोरोना भाइरसले गतिलो झापड दिएको छ । मानव र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध स्विकार गर्ने आध्यात्मिक शास्त्र बिना भौतिकशास्त्र अपुरो छ भन्ने कुरा प्रमाणित भएको छ । सनातनीहरूको मृत्यु संस्कार, दुवै हात जोडेर गरिने नमस्कार अभिवादन लगायत सनातनी धर्म, संस्कृति, परम्परा र त्यसका मौलिक मूल्य–मान्यताहरू वैज्ञानिक सिद्ध भएका छन् ।

कोरोना युद्धका कारण अल्पविकसित राष्ट्रका कर्मठ युवाहरू विकसित राष्ट्रमा पलायन हुने विकराल समस्यामा कमी आउनेछ, विकसित राष्ट्रहरूले अविकसित राष्ट्रहरूलाई हेर्ने नजर बदलिने छ र नेपाललगायत अल्पविकसित राष्ट्रहरूमा पश्चिमाहरूको राजनीतिक हस्तक्षेप नियन्त्रण हुनेछ । शक्ति सन्तुलनमा व्यापक फेरबदल हुनेछ । दोस्रो विश्वयुद्धपछि अमेरिका महाशक्ति राष्ट्र बनेजस्तै कोरोना युद्धपछि तेस्रो मुलुक महाशक्ति राष्ट्र बन्ने प्रचुर सम्भावना छ । अहिलेसम्मको तस्बिर अवलोकन गर्दा कोरोना महामारीका चुनौती र कठिनाइहरू सामना गर्दै कोरोना डिप्लोमेसीका साथ चीन विश्व–महाशक्ति राष्ट्र बन्ने मार्गमा लम्किसकेको प्रतीत हुन्छ । नेपालले पनि कोरोना महामारीका चुनौती र कठिनाइहरूलाई अवसरको रूपमा विकसित गर्दै लैजान सक्नुपर्छ । अब एउटा नारा अवलम्बन गर्नुपर्छ– Don’t Solve Your Problem, Sale Your Problem.

(लेखक ‘मातृभूमिका लागि नेपाली’का केन्द्रीय परिषद सदस्य तथा कोषाध्यक्ष हुन् ।)