लकडाउन उल्लंघन गर्नेलाई कडा कारवाहीको चेतावनी

लकडाउन उल्लंघन गर्नेलाई कडा कारवाहीको चेतावनी


■ विकास रौनियार, गजुरी (धादिङ)

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले देशभर लकडाउन गरेको आज चौथो दिन धादिङको बजार क्षेत्रमा लकडाउनको प्रभाव देखिए पनि गाउँगाउँमा अवज्ञा गरेको घटना सार्वजनिक भएका छन् ।

यसरी सरकारी निर्देशनको अवज्ञा गर्ने उपक्रम ग्रामीण इलाकामा ज्यादा नै देखिन थालेपछि अवज्ञा गरे कडा कार्वाही गरिने सुरक्षा निकायले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार बिहीबार (१३ चैत) लकडाउन अवज्ञा गर्ने १६ जनालाई कारवाही गरिएको थियो । कार्वाही पर्नेमा १५ मोटरसाइकल चालक र धादिङवेसीका एक ट्रकचालक रहेको सूचना अधिकारी खड्काले बताए ।

यस्तै, पृथ्वी राज्यमार्गको गजुरी बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । चौथो दिन लकडाउनका कारण अधिकांश क्षेत्रमा मानिसहरु घरमै बसेकाले गजुरी बजार पनि सुनसान बनेको छ । तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनुपरेको गजुरी इलाका प्रहरीका डिसपी खगेन्द्रबहादुर खड़काले जानकारी दिनुभयो।