विगत सन्दर्भमा राज्य, सरकार, हामी र कोरोनाको प्रकोप !

■ केशवप्रसाद भट्टराई



* राज्य हाम्रो नागरिक अस्तित्वको आधार हो र सरकार हाम्रो अभिभावक एवम् संरक्षक !
त्यसैले राज्य र सरकारलाई बलियो बनाउँदै आफ्ना सुरक्षा र अधिकारका लागि राज्य र सरकारसँग लड्नुपर्ने हाम्रो अवस्था हो !

* सवाल दृष्टिकोणको पनि हो जस्तो कि नेपाल शिक्षक सङ्घ र नेपाल शिक्षक युनियनमा रहँदा उपरोक्त दुवै रणनीतिक भूमिकामा हामी निष्ठापूर्वक संलग्न रहेका थियौँ !
हाम्राबीच कुराकानी भैरहन्थ्यो– ‘राज्य र सरकारसँग हाम्रा माग हुन्छन्, आशा र अपेक्षा हुन्छन्, आन्दोलन गर्ने अवस्था आउँछ !

तर कमजोर राज्य र सरकारले हाम्रा माग, आशा र अपेक्षालाई पूरा गर्न सक्ने कुरै आउन्न !
धान्न पनि सक्दैनन् !
हाम्रा माग, आशा र अपेक्षालाई पूरा गर्न पनि राज्य बलियो हुनुपर्दछ !
सरकार सक्षम हुनुपर्दछ !
हाम्रो आन्दोलन सरकारलाई बलियो बनाउने र आफ्ना माग पनि पूरा गराउने रणनीतिअनुरूप हुनुपर्दछ

अन्तर्राष्ट्रिय दातृसँस्था र अन्तर्राष्ट्रिय गैरसरकारी सँस्थाले सरकारमाथि दबाब बढाइरहेको समयमा शिक्षा मन्त्रालय र शिक्षा विभागको पक्षमा हाम्रा प्रस्तुतिहरू हुने गरेका तथ्य पनि यहाँ विचारणीय छ ।

* अर्को कुरा, आन्दोलनले राज्य र सरकार बलियो पनि हुन्छ, उसको विश्वसनियता र क्षमतामा वृद्धि पनि हुन्छ ।
तर, त्यसको लागि हाम्रा माग र अपेक्षा उचित, मान्य र ग्राह्य हुनुपर्दछ ।
सही माग राखेर आन्दोलन गरियो भने त्यसले सरकारलाई उत्तरदायी र जिम्मेवार बनाउँछ !
भविष्यलाई उन्नत र सुरक्षित बनाउँछ !

* तथापि, सरकार र राज्य कमजोर भएको अवस्थामा एकपछि अर्को गलत माग राख्दै हामीले राजनीतिक, सामाजिक र पेशागत आन्दोलन गर्दैगर्दा हामी आजको राजनीतिक स्थितिमा छौँ !
संसदमा कुनै दलका सांसदको सङ्ख्या मात्रै राज्य र सरकारको बल होइन, भन्ने कुरा हामीले बुझिसकेको हुनु पर्दछ !

* सरकार र राज्यको बल भनेको स्वयम् नागरिक हुन् र नागरिकको चेतना, शिक्षा, क्षमता, निष्ठा, विश्वास, सम्मान सहयोग, समर्थन हो !
सरकार र राज्यको क्षमता र विश्वसनीयतामा वृद्धि हो ।
राज्य र सरकारले जनता माझ त्यसलाई आर्जन पनि गर्नु पर्दछ, त्यो अर्को कुरा हो फेरि !

* माग, विरोध, आन्दोलन, समर्थन र सहयोगको अत्यन्त जटिल चरित्रलाई मिहीन ढङ्गले बुझ्न सकिएन भने राज्य र सरकार त कमजोर हुँदै जाने मात्रै होइन, हाम्रा माग, सुरक्षा र अपेक्षा पनि तुहिएर जान्छन् ।
हामी अभिभावकत्व र संरक्षकत्वविहीन हुन पुग्दछौँ !
राज्य असफल हुन पुग्दछ !

* आज कोरोना सङ्कटले मुलुकलाई गाँजिरहेको अवस्थामा सरकारका कमजोरी होलान् तर अहिले सरकारका कमजोरी गनेर बस्ने समय होइन ! सरकारलाई बल र भर दिने समय हो ।
सरकारको निर्णय र निर्देशनलाई अक्षरशः पालना गर्ने समय हो !
कोरोना नियन्त्रणकै क्रममा सरकारको आदेश र निर्देशनलाई उल्लङ्घन गर्ने अनि सरकारलाई आलोचना गर्ने त हुँदै होइन !
विज्ञ डाक्टर र प्राविधिज्ञको सल्लाह मान्नु नागरिक धर्म हो !

* अहिले नै राहत र क्षतिपूर्तिको नाउमा असम्भव माग राख्ने समय पनि होइन ।
कति दिन हो ? कति महिना हो ? के थाहा ?
आज सरकारले दिने त्यस्तो आश्वासन भोलि उसले पूरा गर्न सक्ने अवस्था नै नआउने पो हो कि ?
अहिले हामीसँग भएको आर्थिक साधन र स्रोतको पनि जगेर्ना गर्ने हो !
के थाहा भोलि के परी आइपर्छ ?

* सरकारले पनि अहिलेदेखि नै पटुका कस्ने बेला हो यो !
अहिलेको अर्जुनदृष्टि र प्राथमिकता भनेको एक– कोरोना, दुई– कोरोना र तीन पनि कोरोना हो !
जथाभावी खर्च गरेर जाँदा र कोरोना महामारीले उत्पन्न गर्ने आर्थिक संकटले भोलि मुलुकहरू ढल्ने अवस्था पनि आउन सक्छ ?
इटालीले ६० वर्षमाथिकालाई कोरोना महामारीपीडित भए पनि आइसीयु र भेन्टिलेटर जस्ता सुविधा दिन सक्दिनँ भनिसक्यो !

* अहिले कोरोनासँग जुध्न सरकारलाई सहयोग गरौँ !
राज्यको विश्वसनीयता बढाउँ !
यो सङ्कट टरेपछि हिसाब गरौँला सरकारसँग !
अहिले त हाम्रो स्वास्थ्य र सुरक्षाको लागि आँखा चिम्लिएर राज्य र सरकारलाई साथ र सहयोग गर्ने हो र
अरू केही गर्न नसके उसको आदेश, सल्लाह र सुझावलाई अक्षरश पालना गर्ने हो !
सरकार र विज्ञहरूको परामर्श माने मात्रै यो सङ्कट सजिलो बन्दै जाने हो !
स्मरणीय छ, छाडा र अनुशासनहीन समाजमा कोरोनाको प्रकोप उल्का बढिरहेको देखिन्छ !

जय पशुपतिनाथ !

प्रतिक्रिया