‘कोरोना विशेष अस्पताल’मा उपचाररत युवाको मृत्यु

‘कोरोना विशेष अस्पताल’मा उपचाररत युवाको मृत्यु


कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो समस्या देखिएपछि वीरगञ्जबाट भरतपुर (चिवन)स्थित कोरोना विशेष अस्पताल पुऱ्याइ उपचार शुरु गरिएको एक युवकको आज (११ चैत) बिहान मृत्यु भएको छ ।

उच्च ज्वरो आएपछि उनलाई कोरोना भाइरसको स‌क्रमणको आशंकामा कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । शुरुमा सिजनल फिवर हुन सक्ने ठानिए पनि ज्वरो बढेकोले उनलाई उक्त अस्पतालमा राखिएको थियो ।

३० वर्षीय बिरामी युवकको मृत्यु भएपछि उनलाई कोरोनाकै संक्रमण थियो कि भन्ने आशंका बढेको अस्पतालसम्बद्ध सुत्रले जनाएको छ । तथापि, मृत्यु भएका युवकलाई कोरोना भाइरसको आक्रमण भए–नभएको पुष्टिचाहिँ भइसकेको छैन ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बिरामी व्यक्तिको मृत्यु भएको पुष्टि गर्दै उक्त मृत्यु फरक किसिमले भएको पनि हुन सक्ने बताए । रिपोर्ट नआएसम्म यसै भन्न नसकिने उनको कथन छ ।

सम्बद्ध विज्ञहरुले सामान्य सिजनल फिवरकै कारण मृत्यु नहुनुपर्ने टिप्पणीसहित रिपोर्टको प्रतीक्षा चासोपूर्वक गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।