कोभिड-१९ ‘एनआरएन अष्ट्रिया सहयोगी हातहरु’ गठन

कोभिड-१९ ‘एनआरएन अष्ट्रिया सहयोगी हातहरु’ गठन


■ सागर सुवेदी, अष्ट्रिया

युरोपमा बढ्दो कोरोना संक्रमणबाट आइपर्न सक्ने समस्यालाई मध्यनजर गर्दै एनआरएनए अष्ट्रियाको पहलमा एक सहयोगी टिम गठन गरिएको छ । ‘कोभिड-१९ सहयोगी हातहरु’ नाम दिइएको उक्त टिमको प्रमुख कार्य संक्रमणमा पर्न जाने अष्ट्रियावासी नेपालीहरुलाई यथासम्भव हरतवरले सहयोग गर्ने रहेको बताइएको छ ।

अष्ट्रियाको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यहाँ बसोबास गरिरहेका गैरआवासीय नेपालीमा पर्न जाने संकटका लागि तम्तयार रहन अष्ट्रियावासी नेपालीहरुमा आग्रह पनि गरिएको छ ।

एनसीसी अध्यक्ष विनोद चौलागाईको प्रत्यक्ष निगरानीमा गठन गरिएको उक्त टिमको संयोजन संघका प्रवक्ता तथा पत्रकार बाबा थापा ढकालले गर्नुभएको छ भने विभिन्न शीर्षकमा सहयोगी टिम बनाइएको छ । उक्त टिममा खाद्यान्न तथा राहत सहयोगको लागि विनोद चौलागाई, युवा संयोजक दिनेश बैधवार, सदस्य लोक श्रेष्ठ तथा पूर्वउपाध्यक्ष नेत्र खड्का हुनुहुन्छ । त्यसैगरी राहत कोष संकलन टिममा पूर्व आईसीसी तथा पत्रकार रविचन्द्र भट्टराई, गङ्गा पोख्रेल र सुर्य लामिछाने रहनुभएको छ।

स्वास्थ्यसम्बन्धी सहयोगका लागि पूर्व युवा संयोजक डा. सुर्य पौडेल, सचिव निमा लामा, सदस्य तथा कलाकार प्रतिभा कार्की रहनुभएको छ । महिला तथा बालबालिकामा पर्न जाने सहयोगका लागि महिला उपसंयोजक एलिजा श्रेष्ठ, पूर्व महिला उपाध्यक्ष निरु लामिछाने, पूर्व महिला संयोजक निता शर्मा र समाजसेवी अनिता श्रेष्ठ रहनुभएको छ।

त्यस्तै, क्षेत्रगत रुपमा सोही ठाउँमा बसोबास गरिरहेका नेपालीहरुका प्रथम समस्या समाधान गर्नका लागि विभिन्न राज्यहरुमा समुन्वय गर्न प्रतिनिधिहरु तोकिएका छन्, जसमा टिरोल छेत्रमा पूर्वआइसीसी तथा समाजसेवी दीपेन्द्र हिमालय कार्की, ग्राज क्षेत्रका लागि ब्यवसायी तथा समाजसेवी डायमण्ड राई, सालज्बर्ग क्षेत्रका लागि वर्तमान आइसीसी तथा ब्यवसायी राजकुमार उपाध्यया, लिंज छेत्रका लागि समाजसेवी विनय पोख्रेल (अरुण मामा) तोकिनुभएको छ।

साथै वैचारिक तथा जातिगत संगठनको सहकार्यका लागि प्रवासी नेपाली मंचका अध्यक्ष धर्मराज खतिवडा र जातीय संगठनमा जनजाति महासंघ अष्ट्रियाका अध्यक्ष डविन लामा रहनुभएको छ।

कोभिड १९ सहयोगी हातका संयोजक तथा प्रवक्ता बाबा थापा ढकालका अनुसार छिट्टै नै यो समितिले आफ्नो काम सुचारु गर्ने र समस्यामा परेका गैरआवासीय अष्ट्रियावासीले सम्बन्धित सहकर्मी साथीहरुको दिइएको सम्पर्क नम्बरमा सम्पर्क गरी आफ्ना समस्या राख्नका लागि अनुरोध गरिएको बताउनुभयो । साथै वर्तमान अवस्थामा आफ्नो काम छुटेका व्यक्तिहरुलाई टेलिफोनमा कानुनी परामर्शका लागि पनि कार्य भैरहेको जानकारी उहाँले दिनुभयो। सम्पर्क नम्बरहरु गैरआवासीय नेपाली संघ अष्ट्रियाको फेसबुक पेजमा गएर प्राप्त गर्न सकिने जनाइएको छ।