आफूसँगै कोरोना भाइरस घरमा ल्याएका त छैनौँ ? विशेष ध्यान दिउँ- कोरोना आफैं भाग्छ

■ डिल्लीराम अम्माई, बेल्जियम



हाम्रा बाबुआमा हामीसँगै विदेशमा त छैनन् ? अनि उनीहरू नगरपालिकामा रजिस्टर छन् कि त्यो पनि गरिएको छैन ? यदि हाम्रा अविभावक हामीसँगै छन् भने नगरपालिका लगेर दर्ता गरिहालौँ । दर्ता अनिवार्य छ ।

संसारभरी कोरोनाभाइरसको महामारी (Coronavirus pandemic) छ, अग्रजहरू अचानक बिरामी भए भने उनीहरूको जीवन खतरामा पर्छ र त्यसको दोषमा सम्बन्धित नगरपालिकाले ठुलो सजाए दिन सक्छ । हाम्रा केटाकेटी बाहिर निस्केर घर पस्दा जुत्ता कता राख्छन् ? हजारौँ भाइरस कुल्चिँदै आएका जुत्ताले क्रोना भाइरसको बिउ पनि ल्याउन सक्छन् । जुत्ता स्प्रिटले नपुछी घरमा नछिराउनुहोस् ।

अझ मेटलको जुत्ता राख्ने तखती छ र त्यो नियमित पुछ्ने गरिएको छैन भने त्यहाँ पक्कै डरलाग्दा भाइरसहरूको शहर नै हुन सक्छ । भाइरसको लागि स्टिल, फलाम वा आल्मुनियम स्वर्ग नै हो । घरमा दीर्घरोगी वा ५० काटेका अविभावक छन् भने त्यो जुत्ता राख्ने तखति उनीहरूको स्वास्थ्यको लागि सार्वजनिक सवारी साधन भन्दा बढी खतरनाक हुन्छ । जुत्ता, चप्पल र खुट्टाका पैतालाहरू अल्कोहल बेस रसायनले पुछिने गरिएको छ कि छैन ? छैन भने बानी बनाइ हाल्नुस् ।

जुत्ताले हजारौँ रोगीहरूको कफ, थुक, सिँगान र कुकुरले दिशा गरेको स्थान समेत कुल्चिएको हुन सक्छ । कोरोनाका रोगीहरू पनि त्यहि बाटोमा थुक्दै घुमिरहेका हुन सक्छन् । हजारौँ क्रोना भाइरस भएको कफ वा थुकमध्येबाट एउटा क्रोना भाइरस जुत्तामा टाँसिएर आएको रहेछ भने हुर्मत लिन्छ । हामी हाम्रा कपडाहरूले धसिँदै र लसारिँदै सार्वजनिक साधनमा यात्रा गर्छौँ । बस्छौँ र क्याफे वा होटलमा टाँसिएर खाना खान्छौँ । तिनै कपडासँग घरमा आउँछौँ । ज्याकेट बाहिर खोलेर राख्दैनौँ । जसमा सयौँ क्रोना जीवाणु हुन सक्छन् ।

हाम्रो त्यही लापर्वाहीले हाम्रो घरमा बुढापाका, सुत्केरी र दीर्घरोगी रहेछन् भने ज्यान गुमाउन सक्दछन् । हाम्रा गल्ती वा लापर्वाहीले हाम्रा अग्रज वा आफन्त गुमाउन पुग्दछौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को रिपोर्टअनुसार ३० देखि ७९ उमेर समुहका मानिस क्रोना संक्रमितमध्ये ७८ प्रतिशत भएको देखाएको छ । वृद्ध व्यक्तिहरू संक्रमित हुने सम्भावना धेरै हुन्छ, विशेष गरी बुढेसकालको अन्तर्निहति फोक्सोको रोगबाट ग्रस्त व्यक्तिहरू ।

घर पस्ने वित्तिकै हाम्रा घरमा बाहिर लगाएका कपडा खोलेर मेसिनमा राखियो ? राखिएको छैन भने पनि अब त्यो समय आयो । घरबाहिर र भित्र लगाउने कपडा अलग गर्नुस् । कपडामा भित्र्याएका भाइरसको कारण हाम्रा आफन्त गुमाउन नपरोस् । अनि हाम्रो घरमा कति दीर्घरोगी छौँ ? किमो लिएका, इन्सुलिन लिनुपर्ने, नियमित औसधि लिनुपर्ने, प्रेसर, चिनीका रोगीहरू, सुत्केरी र शल्यक्रिया गरिएका परिजनहरू ! घरमा नभए पनि छिमेकी वा आफ्नो समुदायमा होलान् ! तिनीहरूको बचावको लागि हामीले धेरै कुरामा ख्याल गर्नैपर्छ । किनकि क्रोनाले छोएपछि दीर्घरोगी बाँच्ने सम्भावना ज्यादै कम हुन्छ ।

घरको भुई ढुंगा, टायल, लिनो वा प्लास्टिक कस्तो हो ? ढुंगा, टायल, लिनो वा पलास्टिकका भुइँहरू कार्पेटभन्दा बढी किटाणु पाल्ने भुँइ हुन् । नियमित रसायनले सफा गरिएन भने त्यसले क्रोनालगायत भाइरसहरूबाट हाम्रो स्वास्थ्यमा गम्भीर असर पुऱ्याउन सक्छ । बढी सफा गरिरहनु पर्ने धाराका टुटि दिनमा कतिपटक अल्कोहलबेस रसायनले सफा गरिन्छ ? त्यो पनि भाइरसहरूको घर हो, जसलाई दिनमा सयौँपटक खालि हातले खोल्ने र बन्द गर्ने गरिन्छ । त्यसैले धारा हातबाट नै संक्रमित भैरहेको हुन्छ । हामी दैनिक टहलने र हातले समात्ने गरेको घरको भऱ्याङ रेलिङ मेटलको हो कि काठको ? सफा छ कि ‘चल जाएगा’ भने जस्तै हो ? यदि सफा गरिएको छैन भने अहिल्यै सफा गरिहालौँ ।

हामी दिनमा बाहिर कतिपटक भिन्न चिजबिजहरू छुँदै, टाँसिँदै, धसारिँदै भित्र–बाहिर गर्छौँ ? हाम्रा हात परेका वा शरीरले छोएका ती सबै कुराहरू सफा छन् ? सफा छैनन् भने एन्टी भाइरस अल्कोहल बेस केमिकलले सफा गरिहालौँ । थाह छ कि छैन… तामा एन्टी भाइरस मेटल हो, त्योबाहेक अन्य मेटलमा कोरोना भाइरस ३२ घण्टासम्म बाँच्छ । कडा भुइँ र पलास्टिकमा झन् धेरै बाँच्छ । यी सबै क्रोना जस्ता खतरनाक भाइरसहरूका आनन्ददायी बासस्थान हुन् । लाग्छ– हामीले ध्यान दिँदादिँदै छुटेका धेरै कुरा हुन सक्छन् । अलिक बढी ध्यान दिउँ– कोरोना आफैँ भाग्छ ।

(टिप्पणीकार डिल्ली अम्माई घटना र विचार साप्ताहिकका युरोप सम्वाददाता एवम् नेपाल पत्रकार महासंघ युरोप शाखाका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया