प्रधानमन्त्रीको मनोबल र ‘भारदार’हरूको मानसिकता

संसारलाई नै आतङ्कित तुल्याइरहेको कोरोना भाइरसको सङ्क्रमण भाग्यवश नेपालमा चाहिँ आजका दिनसम्म पाइएको छैन । तथापि, सङ्क्रमणको त्रास कम छैन । विश्व नै हल्लाइरहेको खतर्नाक भाइरस नेपाल प्रवेश गरेमा त्यसपछि उत्पन्न हुन सक्ने भयावह अवस्थाको कल्पना मात्र गर्दा पनि कहालिनुपर्ने अवस्था छ । सामाजिक तथा आर्थिक क्षेत्रमा यतिबेला देखिएका स्वभाविक/अस्वाभाविक हलचलले यो स्पष्ट गरिरहेको छ कि विकसित मुलुकहरूको तुलनामा कोरोना भाइरस झेल्ने या उत्पन्न हुने परिस्थितिसँग मुकाबला गर्ने क्षमता हामीसँग अल्पतम् मात्र छ । तथापि, सरकार यसका लागि ‘यथासक्य’ विभिन्न प्रयत्न गरिरहेकै छ ।



कोरोनाको आतङ्कका कारण कैयन महत्वपूर्ण विषय–वस्तु यतिबेला ओझेलमा परेका छन् । यावत विषयमध्ये एक हो– प्रधानमन्त्री केपी ओलीबाट दोस्रोपटक मिर्गौला प्रत्यारोपण स्वदेशकै अस्पतालमा गराउनु, र किड्नी ट्रान्सप्लान्टपछि प्रधानमन्त्री आफ्नो शासकीय दैनिकीमा सक्रियता दर्शाउन उद्यत् रहनु । प्रधानमन्त्री ओलीसँग सम्बन्धित यी दुवै कुरालाई वास्तवमै महत्वपूर्ण विषयको रूपमा हेरिनु आवश्यक छ ।

जुनसुकै परिस्थिति वा कारणबाट उत्प्रेरित भएर किन नहोस्, प्रम ओलीले मिर्गौला प्रत्यारोपण स्वदेशमै गराउने निर्णय लिइदिए । यसलाई केपी ओलीको ‘धृष्टता’ ठानेर आलोचना गर्ने या ‘उच्च साहस’ भन्दै प्रशंसा गर्ने दुवैखाले प्रतिक्रिया पाइयो । तर, आलोचना या प्रशंसाको विषय मात्र नभई प्रम ओलीको यो कदम एक दूरगामी महत्वको सन्दर्भ बन्न पुगेकोमा विवाद गरिरहनु आवश्यक छैन । विपरीत धारबाट बग्न थालेको अन्तरपार्टी–राजनीतिको चेपमा परेर होस् वा अन्य कुनै निजी कारणले, प्रधानमन्त्रीले उपचारका लागि विदेशिने सोच नराखी स्वदेशी अस्पताल र यहीँका चिकित्सकमाथि भर गरेबाट सबै स्वास्थ्यकर्मी, सम्बद्ध चिकित्सक, तमाम मिर्गौलारोगीलाई मात्र हर्षित तुल्याएको नभई मुलुककै साख बढेको छ । यति मात्र नभई उनको सफल उपचारले सामान्य टाउकोदुःखाइमा पनि बहाना बनाएर राज्यको ढुकुटीबाट खर्च लिई विदेश सयर गर्ने राजनीतिकर्मीहरूलाई निर्मम सन्देश पनि दिएको छ । अर्थात्, विदेशमा उपचारको नाममा राज्यको ढुकुटी दोहन गर्ने ‘संस्कृति’मा अब ह्रास आउने अपेक्षा गर्न सकिन्छ । गहिरिएर मनन गर्दा हाम्रो सन्दर्भमा यो कम ‘उपलब्धि’ होइन ।

केपी ओलीको आत्मबल र सक्रियता हरकोही जागरुक व्यक्तिका निम्ति प्रेरणादायी वा अनुकरणीय कुरा हो । तर, मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो स्वास्थ्यप्रति यस हदसम्मको जोखिम उठाउनु उपयुक्त होइन भन्ने तर्क नाजायज छैन । यसका लागि केपी ओली स्वयम् मात्र जिम्मेवार हुन् कि प्रधानमन्त्रीको साखुल्य बनेर व्यक्तिगत लाभ लिन उद्यत् ‘समूह’को धृष्टताले काम गरेको छ ? यो प्रश्न निकै गम्भीर तवरले उठ्न पुगेको छ ।

कोरोना भाइरसको त्रासले यो विषयसँगै ओझेल पारिदिएको अर्को पाटो प्रधानमन्त्रीको ‘अप्राकृतिक’ सक्रियता पनि हो । सात दशक उमेरका कुनै पनि व्यक्ति शारीरिक सवलताको हिसाबले निश्चय पनि कमजोर नै हुन्छ । ‘शरीर बुढो भए पनि मन बुढो भएको छैन’ भन्ने प्रचलित एक तुक्काको अनुशरण गर्दै आफूलाई सक्रिय तुल्याउन खोज्नु बेग्लै पक्ष हो । यस मामलामा केपी ओली अगुवा पात्रमै पर्दछन् । उनको आत्मबल र सक्रियता हरकोही जागरुक व्यक्तिका निम्ति प्रेरणादायी वा अनुकरणीय कुरा हो । तर, मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो स्वास्थ्यप्रति यस हदसम्मको जोखिम उठाउनु उपयुक्त होइन भन्ने तर्क नाजायज छैन । यसका लागि केपी ओली स्वयम् मात्र जिम्मेवार हुन् कि प्रधानमन्त्रीको साखुल्य बनेर व्यक्तिगत लाभ लिन उद्यत् ‘समूह’को धृष्टताले काम गरेको छ ? यो प्रश्न निकै गम्भीर तवरले उठ्न पुगेको छ ।

जतिबेला प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिँदै थियो, एकतिर सम्बन्धित चिकित्सकद्वारा ‘६ महिना–वर्ष दिन नै प्रधानमन्त्रीले आराम गर्नुपर्ने’ भनी दिइएको अभिव्यक्ति चर्चामा थियो भने अर्कोतिर बिरामी प्रधानमन्त्री आफै खडा हुन नसकी धर्मराइरहेका दृश्य दुनियाँसामु प्रदर्शित गरियो । के जरुरी थियो कि हतारिएर अस्पतालबाट बिदा लिन परोस् अनि जबर्जस्ती केपीलाई ‘तन्दुरुस्त’ दर्शाउनु परोस् ? प्रधानमन्त्रीका कथित ‘सहयोगी’हरू त्यति अमानवीय बनेर ‘एक्सपोज’ हुनुपर्ने जरुरत केले पैदा गऱ्यो ? हो, यसमा केपी ओली स्वयम्को ‘जिद्दी’ले पनि काम गरेको हुनसक्छ, तर उनको जिद्दी साम्य पार्नेतिर नलागी उल्टै उक्साउने जुन प्रवृत्ति ‘आसेपासे’मा देखियो, यसले उनीहरूको अमानवियता मात्र उजागर गरेको नभई कुनै निजी वा समूहगत स्वार्थसिद्धिको निम्ति प्रधानमन्त्रीकै जीवनलाई मोहरा बनाउने चलखेल भइरहेको प्रष्ट्याएको छ । सीमित व्यक्ति वा समूहविशेषले मुलुकका प्रधानमन्त्रीलाई खेलौनाको रूपमा प्रयोग गर्न खोज्नु दुर्भाग्यपूर्ण र निन्दनीय छ ।

उच्च मनोबल र मुलुकप्रतिको दायित्वबोधले स्वास्थ्यसम्बन्धी जटिल परिवेशबाट पार पाउने सफलता प्रधानमन्त्री ओलीलाई हासिल भएको छ । सबैको शुभकामनाले पनि कहीँनकहीँ यसमा शक्ति मिलेकै हुनुपर्छ । तथापि, अनावश्यक रूपमा शारीरिक सक्रियता बढाएर थप जोखिम निम्त्याउनु व्यक्तिगत रूपले केपी ओलीको निम्ति मात्र नभई मुलुककै लागि दुर्भाग्यपूर्ण हुन सक्नेतर्फ समयमै ध्यान पुग्नु अपरिहार्य छ ।

प्रतिक्रिया