पेट्रोलियम पदार्थको मूल्यमा केही कमी

पेट्रोलियम पदार्थको मूल्यमा केही कमी


नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ ।

पेट्रयोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार सोमबार (३ चैत) रातिदेखि लागू हुने गरी उक्त मूल्य घटाइएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

निगमका अनुसार काठमाडौंमा पेट्रोलका खुद्रा बिक्री मूल्य १०६ तथा डिजेल र मट्टीतेलको मूल्य ९५ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशैभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ । हवाई इन्धन प्रतिलिटर रु ९० कायम हुने निगमले जनाएको छ ।

यसैक्रममा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य निकै घटे पनि सोअनुसार नेपालमा मूल्य नघटाइएको भन्दै विभिन्न उपभोक्ता सरोकार फोरमसम्बद्ध अगुवाहरूले आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय बजार–मूल्यअनुसार मूल्य समायोजन गर्ने भनी आफैले गरेको निर्णय निगमले पालना नगरी उपभोक्ताको शोषण गरेको उनीहरूको आरोप छ ।