ओलम्पिक विवाद मिल्ने कि सिद्धिने

ओलम्पिक विवाद मिल्ने कि सिद्धिने


-श्रीविक्रम भण्डारी
प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल ओलम्पिक कमिटीको विवादबारे चासो राख्दै समाधानका लागि तुरुन्तै कदम चाल्न खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएपछि अहिले खेलकुदमा नौलो तरङ्ग उत्पन्न भएको छ । राखेपका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री भट्टराईले ओलम्पिक कमिटीको विवादले मुलुकको मान, सम्मान र प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बद्नाम भएको खुलासा गर्दै जतिसक्दो चाँडो समाधान गर्न मन्त्रालय र राखेपलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले नियम-कानुनअनुसार ओलम्पिकको विवाद समाधान गर्न र त्यस्तै परे मन्त्रिपरिषदको निर्णयबाट पनि विवादको टुङ्गो लगाउन निर्देशन दिनुभएको थियो । यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आधारमा आ-आफ्नो डम्फु बजाउँदै आएका ओलम्पिक कमिटीहरू अहिले ‘मिल्ने कि सिद्धिन’ अवस्थामा पुगेका छन् । यस्तो गम्भीर अवस्थाको सिर्जना भइसक्दा पनि दुवै ओलम्पिक कमिटीका पदाधिकारीले भने आफ्नो हठलाई त्याग्न सकेका छैनन् ।
वर्तमान अवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले विवाद मिलाउन दुवै पक्षसँग वार्ता प्रारम्भ गरिसकेको छ । वार्ता सकारात्मक रूपमा अगाडि बढे पनि समाधानको चुरोचाहिँ निस्कन सकेको छैन । मिलेर जाने कुरामा दुवै पक्ष सहमत भए पनि ‘सेफ ल्यान्डिङ’को कुरामा सहमति हुन सकेको छैन । राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका पदाधिकारीले सम्मानजनक मिलनको कुरामा जोड दिइरहेका छन् भने अन्तर्राष्ट्रिय मान्यताप्राप्तले केही व्यक्तिविशेषबाहेक अन्यलाई ओलम्पिक कमिटीमा भित्र्याउन आनाकानी गरिरहेको छ । जसले गर्दा ओलम्पिक कमिटीको विवादमा अहिलेसम्म कुनै प्रगति र शुभसङ्केत देखापर्न सकेको छैन । तर्सथ अहिले प्रश्न तेर्सिएको छ, आखिर कहिलेसम्ममा ओलम्पिकको विवाद साम्य हुने त ?
ओलम्पिककै विवादले खेलकुद र खेलाडीमा नकारात्मक प्रभाव परेको कसैबाट छिपेको छैन । सोही कुरालाई मध्यनजर गर्दै प्रधानमन्त्री भट्टराईले देखाएको चासो र दिएको निर्देशनबाट पनि यो कुरा पुष्टि हुन्छ । र पनि अहिलेसम्म दुवै एनओसीको घैंटोमा घाम नलाग्नु अहिले चिन्ताको विषय बनेको छ । दुवै एनओसी मेरो गोरुको बाह्रै टक्काको रूपमा अगाडि बढ्ने र एकले अर्काको अस्तित्व स्वीकार नगर्ने हो भने नेपाली खेलकुदमा ठूलो दुर्घटना नहोला भन्न सकिँदैन । दुई बिरालोको झगडामा बाँदरले निभाएको भूमिका र पाएको सफलतालाई यतिबेला आत्मसात् नगर्ने हो भने भोलि राखेपले पनि बाँदरकै भूमिका ननिभाउला भन्न सकिँदैन । तर्सथ भोलि पश्चात्ताप गर्नुभन्दा आजको यथास्थितिलाई आत्मसात् गर्नु नै बुद्धिमानी ठहरिनेछ । यसका लागि मिलेर जानुको अर्को विकल्प छैन भन्दा अतिसयोक्ति नहोला ।
वर्तमान अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी जबसम्म मिल्न सक्तैनन् तबसम्म एक सक्षम एनओसी बन्न नसक्ने प्रष्ट रूपमा देखिएको छ । यहाँ न सर्वोच्चको फैसलालाई कसैले धोती लगाउन सक्छ न आइओसीको मान्यतालाई । यसो भन्दैमा खेलकुदलाई अनिर्णयको बन्दीचाहिँ कसैले बनाउन मिल्दैन । समग्र नेपाली खेलकुदलाई अग्रगामी बाटोमा उभ्याउने हो भने दुवै पक्षले त्याग गर्नुपर्छ । खेलकुदको विकास र निकासका लागि अहिले योभन्दा सर्वोत्तम उपाय अर्को छैन । जसले गर्दा ओलम्पिक कमिटीको मान-सम्मानमा कुनै आँच आउने छैन भने आपसमा भाइचाराको सम्बन्ध पनि कायम हुनेछ । अर्को कुरा आपसी मिलनले सर्वोच्चको साख र आईओसीको प्रतिष्ठालाई समेत सदाबहार बनाउनेछ । तर्सथ त्याग गर्दा हरुवा र भिखारीको मानसिकता बनाउनुभन्दा परिस्थितिले जन्माएको खाडललाई पुर्नु नै सबैका लागि कल्याणकारी हुनेछ ।
विगत लामो समयदेखि देखिएको ओलम्पिक कमिटीको विवादलाई सल्ट्याउन अहिले राखेपका सदस्यसचिव युवराज लामा कम्मर कसेर लागेका छन । लामाले यसका लागि दुवै ओलम्पिक कमिटीका पदाधिकारीसँग एकातिर वार्ता प्रारम्भ गरेका छन् भने अर्कोतर्फ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी
-आईओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसीए)लाई पत्राचार गरिसकेका छन् । लामाले ओलम्पिक कमिटीको विवादमा राखेपको भूमिका सम्बन्धमा आफ्नो बुझाइ र धारणा स्पष्ट रूपमा राखेका छन् । उनले एनओसीको विवादले जरो गाडेको थुप्रै वर्ष भएको र यो विवादले मुलुकभित्र र मुलुकबाहिर खेलकुदको इज्जत लिलाम गरेको आरोप लगाएका छन् । अब पनि यसको समाधानतर्फ नलागे विकराल रूप धारण गर्ने र नेपाली खेलकुदको अस्तित्व नै सङ्कटमा पर्ने बताएका छन् । तर्सथ र्सप पनि मर्ने लौरो पनि नभाँचिने रणनीतिमा लामा लागेका छन् ।
लामाको पहिलो प्रयास दुवै ओलम्पिक कमिटीलाई मिलाएर एक बनाएर लैजाने रहेको छ । यसका लागि ओलम्पिकको चार्टर, नेपालको कानुन र राखेपको ऐन र नियमावलीभित्र रहेर समाधानका लागि कदम चालिनेछ । ओलम्पिकप्रति स्पष्ट धारणा राख्दै लामाले नेपालको खेलकुदको विकासका लागि एउटा मात्र ओलम्पिक कमिटी हुनुपर्ने कुरामा जोड दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वव्यापी रूपमा ओलम्पिक आन्दोलनलाई मध्यनजर गर्दा एउटा मात्र एनओसी समग्र खेलकुदको विकासका लागि हितकर हुने उनको ठम्याइ छ । यदि त्यस्तो हुनसकेन भने खेलकुदको भविष्यका लागि कडा कदम उठाउने लामाले चेतावनीसमेत दिएका छन् । लामाले ओलम्पिकअर्न्तर्गत रहेका २८ वटा सङ्घ मिलेर नयाँ एनओसीको स्थापना गर्ने खुलासा गरेका छन् । यो पनि सम्भव नभए अन्तिममा हस्तक्षेप गरेरै भए पनि ओलम्पिकको विवाद सुल्झाउने पक्षमा रहेका छन् । लामाले राज्यले हस्तक्षेप गर्दा जे पनि हुनसक्छ भन्दै ओलम्पिक कमिटी विघटन गरेर पुर्नर्गठन गर्न सकिने पनि बताएका छन् ।
तर्सथ हिजोसम्म दुई साँढेको जुधाइमा पिल्सिएको ओलम्पिक कमिटीमा अहिले प्रत्यक्ष रूपमा अर्को साँढे पनि देखिएको छ । ऊ भिडन्त गर्ने मनसायले मात्र नभई ओलम्पिकको विवाद सदाका लागि समाप्त गर्ने रणनीति बुनेर आएको छ । जसका लागि राज्यले उसलाई अख्तियारीसमेत दिएको छ । अब तीनवटा साँढेको जुधाइमा खेलकुद नराम्रोसँग पिसिने निश्चित भएको छ । तर, विडम्बना ! त्यसपछि खेलकुदमा पर्ने नकारात्मक प्रभावबारे भने कसैले गम्भीर भएर सोचेको छैन । जुन कालान्तरमा गएर नेपाली खेलकुदका लागि निकै पीडादायक बन्न पनि सक्छ । यो कुरा राखेपले पनि बुझ्नु अति आवश्यक छ । राखेपले हस्तक्षेपका कुरा गरेर तर्साउनुभन्दा आफू खेलकुदको सर्वोच्च निकाय भएको प्रमाणित गर्दै रेफ्रीको भूमिका निभाउनु उचित हुनेछ । कसैलाई काखा र कसैलाई पाखा लगाउनुको साटो वास्तविकतालाई आत्मसात् गरी सोहीअनुरूप कदम बढाउँदा उचित हुनेछ । तर्सथ यो बेला आरोप-प्रत्यारोप र लडाइँ-झगडाभन्दा पनि मिल्नुको विकल्प देखिएको छैन । जसले गर्दा घरको झगडा घरमै साम्य हुनेछ भने राखेपले पनि हस्तक्षेप गर्ने मौका पाउने छैन । पशुपतिनाथले सबैलाई सद्बुद्धि देऊन् ।

नक्कली पदाधिकारी पदमुक्त
खेलकुदको विकासभन्दा पनि आफ्नो दुनो सोझ्याउन राखेपमा दर्ता भएका विभिन्न खेलकुद सङ्घले बेलाबेलामा मुलुकको प्रतिष्ठामाथि खेलवाड गरेको सबैलाई जानकारी भएकै कुरा हो । सङ्घ गठन गरेर सङ्घको उद्देश्यअनुरूप खेलकुदको विकासमा लाग्नुको साटो खेलकुदलाई मेनपावरको रूपमा विकास गरेको सत्यता कसैबाट छिपेको छैन । यसरी खेलकुद सङ्घलाई हतियार बनाएर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्दै खेलकुदलाई बद्नाम गराउने तत्त्वहरू अहिले पनि सक्रिय रूपमा लागेका छन् । जसको पुष्टि गत साता नेपाल बेसबल तथा सफ्टबलमा घटेको घटनाले प्रस्ट पारेको छ ।
राष्ट्रिय खेलकुद परिषद्मा २०६६ सालमा दर्ता भएको नेपाल बेसबल तथा सफ्टबल सङ्घले अहिलेसम्म खेलकुदको विकासमा खासै योगदान दिन नसकेको घामजस्तै र्छलङ्ग छ । राखेपमा खेलकुद सङ्घको रूपमा दर्ता भएको र दर्तामै सीमित रहेको उक्त सङ्घका उपाध्यक्ष अच्युत खनालले किर्ते कागत तयार पारी खेलकुदलाई बद्नाम गराउने दुस्साहस गरेको पोल खोल्न आएको छ । नेपाल बेसबल तथा सफ्टबल सङ्घका पदाधिकारीहरूको वैदेशिक कार्यक्रममा जाने कार्यक्रम नभए पनि उपाध्यक्ष खनालले कोरियाको सोल्मा हुने बेसबलको कङ्ग्रेसमा सहभागी हुनलाई रा.खे.प.को लेटरप्याड प्रयोग गरी सदस्यसचिवको समेत किर्ते हस्ताक्षर गरेका थिए । साथै खनालले सङ्घका अध्यक्ष अशितशमशेर राणाको समेत नाम राखी पत्र तयार पारेका थिए । कोरियन राजदूतावासलाई यो प्रक्रियाप्रति शङ्का लागी राखेपसँग सोको जानकारी माग्दा खनालले किर्ते गरेको प्रमाणित भएको थियो ।
राजदूतावासले पठाएको उक्त पत्रको व्यहोरा रा.खे.प.मा आउँदा किर्ते गरेको पुष्टि भएको थियो । त्यसपछि राखेपले यो गम्भीर घटना भएको पुष्टि गर्दै उपाध्यक्ष खनाललाई कानुनी कारबाही गर्न सङ्घलाई निर्देशन दिएको थियो । राखेपले खनाललाई पदमुक्त गर्न निर्देशन दिएपछि सङ्घको आकस्मिक बैठक बसेर खनाललाई पदमुक्त गरेको थियो । साथै नेपाल बेसबल तथा सफ्टबल सङ्घको निर्णयबेगर गरेको उक्त कामको सङ्घले घोर भत्र्सना पनि गरेको छ । यसरी किर्ते गतिविधि गर्ने खनाललाई कानुनी दायरामा ल्याउन सङ्घले राखेप र नेपाल सरकारसमक्ष अनुरोध पनि गरेको छ । साथै सङ्घले यसका लागि आफूले सक्दो सहयोग गर्न तयार रहेको जानकारी गराउँदै यस्तो गतिविधिलाई निरुत्साहित गर्न सबैमा अपिल पनि गरेको छ । उक्त कुरा अध्यक्ष अशितशमशेर जबराको नामबाट निकालिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो घटनाबारे राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामासँग जानकारी माग्दा उनले यो सत्य घटना भएको बताएका थिए । सदस्यसचिव लामाले अहिले पनि खेलकुदमा फटाहाहरूको बिगबिगी रहेको र खेलकुदलाई मागिखाने भाँडो बनाउँदै आएको खुलासा गरेका थिए । लामाले अब यस्ता खेलकुदका कलङ्कलाई नछोडिने दाबी गर्दै किर्ते काम गर्ने उपाध्यक्ष अच्युत खनाललाई कानुनी कारबाही गरिने बताए । लामाले खनालले गरेको किर्ते कार्यबाट आफूले ठूलो पाठ सिकेको बताउँदै अबउप्रान्त राखेपका सम्पूर्ण सामग्रीप्रति विशेष सावधानी अपनाइने बताए । लामाले यस्तो किर्ते कार्य गर्नेमा गिरोह नै विशेष रूपमा लागिपरेको खुलासा गर्दै अब त्यसको चाँडै भण्डाफोर हुने पनि बताए । लामाले यस्तो घिनौलो कार्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलकुदको बद्नाम भइरहेकोले खेलकुदलाई यस्तो बद्नामीबाट बचाउन आफूले विशेष कदम चाल्ने पनि प्रस्ट पारे ।

अच्युत खनालले राखेपको लेटरप्याड र सदस्यसचिवको हस्ताक्षर किर्ते गरेपछि राखेपले जारी गरेको प्रेस विज्ञप्ति
दक्षिण कोरियाको सियोलमा नोभेम्बर ४ तारिखमा हुने बेसबल फेडेरेसन अफ एसियाको कङ्ग्रेसमा भाग लिने भनी नेपाल बेसबल तथा सफ्टबल सङ्घका उपाध्यक्ष अच्युत खनालले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को लेटरप्याड र छाप दुरुपयोग गर्नुका साथै राखेप सदस्यसचिवको किर्ते हस्ताक्षर गरी नेपालस्थित दक्षिण कोरियाको दूतावासमा भिसाका लागि आवेदन दिएकोमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त किर्ते हस्ताक्षर गरिएको पत्रमा सङ्घका उपाध्यक्ष अच्युत खनाललाई सङ्घका महासचिव उल्लेख गरी उक्त कङ्ग्रेसमा सहभागी हुन भिसा उपलब्ध गराइदिन आग्रह गरिएको पत्र दूतावासबाट प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान गरी विभिन्न निर्णय गरिएको छ ।
तपसिल :
१. राखेपको लेटरप्याड र छाप दुरुपयोग गर्नुका साथै सदस्यसचिवको किर्ते हस्ताक्षर गरी भिसाका लागि आवेदन दिने सङ्घका उपाध्यक्ष अच्युत खनाललाई पदमुक्त गर्न नेपाल बेसबल तथा सफ्टबल सङ्घलाई निर्देशन दिने निर्णय गरिएको छ । साथै राखेपले उनीमाथि किर्ते मुद्दासमेत दायर गर्नेछ ।
२. यस घटनामा मुछिएका नेपाल बेसबल तथा सफ्टबल सङ्घ र सङ्घका अध्यक्ष अशितशमशेर राणासँग तत्काल स्पष्टीकरण माग गरिनेछ । धन्यवाद । मिति २०६८ साल असोज ३० गते ।

ग्यालेक्सी खुला टेटे माघमा
अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा सातौँ ग्यालेक्सी खुला विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता आउँदो माघमा हुने भएको छ । आयोजक जिल्ला सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यको अध्यक्षतामा हालै बसेको बैठकले प्रतियोगिता माघमा गर्ने निर्णय गरेको आयोजक सङ्घका सचिव सुशील पौडेलले जानकारी दिए ।
प्रतियोगिता २०५२ सालपछि पहिलोपटक हुन लागेको सचिव पौडेलले बताए । ग्यालेक्सी पब्लिक स्कुलको प्रायोजनमा हुने प्रतियोगिताको मिति भने तोकिएको छैन ।

राष्ट्रव्यापी खुला बक्सिङ मङ्सिरमा
ललितपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा तेसो राष्ट्रव्यापी खुला बक्सिङ प्रतियोगिता मङ्सिरको अन्तिम सातादेखि हुने भएको छ । हालै आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने जानकारी गराइएको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार उक्त प्रतियोगिता मङ्सिर २० देखि हुने भनिए पनि प्राविधिक कारणले गर्दा प्रतियोगिता सार्नुपरेको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछन् ।
प्रतियोगितामा पुरुष र महिलातर्फ समान १०-१० तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकका सचिव प्रकाश थापामगरले जानकारी दिएका छन् । उक्त प्रतियोगितामा पुरुषतर्फ ४८ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६४ केजी, ६९ केजी, ७५ केजी, ८१ केजी, ९१ केजी र ९१ केजीमाथि वजन समूहमा खेल हुनेछ । त्यस्तै महिलातर्फ ४५ केजी, ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६४ केजी, ६९ केजी, ७५ केजी र ८१ केजीमाथि स्पर्धामा भिडन्त हुनेछ । प्रत्येक तौल समूहमा पहिलो हुनेले ५, दोस्रोले ३ तथा तेस्रो हुनेद्वयले १-१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुमानित दुई सय खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष राम अवालेले बताए । प्रतियोगिताको अनुमानित बजेट १० लाख ३९ हजार रुपैयाँ रहेको छ ।

वङगेल उत्कृष्ट धनुर्धर
लक्ष्मी हुन्र्डाई मनाङमर्स्याङ्दी क्लबका वङगेल गुरुङले खुला धनुषवाण प्रतियोगिताअर्न्तर्गत व्यक्तितर्फ उत्कृष्ट धनुर्धरको उपाधि जितेका छन् । नेपाल-जापान सम्पर्क समितिद्वारा आयोजित प्रतियोगितामा वङगेलले कुल १२ अंक जोड्दै उत्कृष्ट धनुर्धरको उपाधि हात पारेका थिए । त्यसबापत उनलाई ३० हजार पाँच सय नगद पुरस्कार आयोजकका अध्यक्ष खगेन्द्र शेरचनले प्रदान गरेका थिए । उक्त प्रतियोगितामा नेपाल छन्त्याल सङ्घका गोविन्द छन्त्याल दोस्रो तथा मुस्ताङ बाह्रगाउँ लोछुदन समाजका उर्गेन गुरुङ तेस्रो भएका थिए । प्रतियोगितामा गोविन्दले ८ तथा उर्गेनले ७ अंक हासिल गरेका थिए । मनाङमर्स्याङ्दीका सोम घलेले ५ अंक जोडे । मनाङका नोर्बु गुरुङ, थासाङ स्पोर्टस् क्लबका देवान भट्टचन, म्याग्दी मगर समाजका तिलकमान पुन, मनाङका शरद गुरुङ तथा मार्फा मिलिजुली क्लबका चित्र हिराचनले समान ४-४ अंक बटुलेका थिए । प्रतियोगिताको अन्तिम दिन सोमबार टिम इभेन्टको फाइनल खेल हुनेछ । त्यसमा १० टिमले प्रतिस्पर्धा गर्दै छन् । टिममा पहिलो हुनेले २५ हजार, दोस्रो १५ हजार तथा तेस्रोले १० हजार नगद पाउनेछन् ।

बिच खेलकुदमा नेपाल चौथो
श्रीलंकाको हाम्बन्टोटामा भएको प्रथम दक्षिण एसियाली बिच खेलकुदमा सहभागी नेपाली टोली हालै स्वदेश फर्किएको छ । उक्त खेलकुदमा नेपालले इक्वेस्टि्रयन (घोडामा चढेर खेल्ने खेल), भलिबल, बास्केटबल, फुटबल, कबड्डी र ह्यान्डबल गरी ६ खेलमा सहभागिता जनाएको थियो । बिच खेलकुदमा दक्षिण एसियाली आठै राष्ट्र सहभागी थिए । उक्त प्रतियोगितामा नेपालले एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित आठ पदक ल्याउँदै चौथो स्थानमा रहेको थियो । नेपालका लागि सर्वाधिक सफल सावित खेल इक्वेस्टि्रयनले एक स्वर्ण, दुई रजत र दुई कास्य जितेको थियो । । ध्रुवप्रसाद अर्यालले नेपाललाई स्वर्ण दिलाए । कबड्डीबाट दुई कास्य (पुरुष/महिला) तथा फुटबलमा एक कास्य प्राप्त भएको थियो । अक्टोबर ८ देखि १४ तारिखसम्म सञ्चालन भएको बिच खेलकुदमा नेपालबाट ३६ खेलाडी सहभागी थिए ।
प्रतियोगितामा भारतले ११ स्वर्ण, आठ रजत र सात कास्य) जित्दै पहिलो स्थान हासिल गरेको थियो । त्यस्तै आयोजक श्रीलंका आठ स्वर्ण, १० रजत र नौ कास्य जित्दै दोस्रो, पाकिस्तानले पाँच स्वर्ण, दुई रजत र तीन कास्य तेस्रो तथा बंगलादेशले एक स्वर्ण, एक रजत र एक कास्य जितेर पाँचौँ स्थानमा रहेको थियो । माल्दिभ्सले एक रजत र दुई कास्य तथा अफ्गानिस्तानले एक कास्य हात पारेका थिए । भुटानले पदकको खातासमेत खोल्न असफल रह्यो । प्रतियोगिताको अर्को संस्करण माल्दिभ्सको राजधानी मालेमा २०१३ मा हुने तय भएको छ ।