आम दर्शकको चलचित्र ‘आमा’

(फिल्म समीक्षा)

■ हेमन्त खतिवडा



हिजोआज आफ्नो परिवार गाउँमा भेट्टाउनै मुस्किल छ । यो वैदेशिक रोजगारीको क्रुर यथार्थ हो । जसका सदस्य वैदेशिक रोजगारीमा गएका हुन्छन्, तिनका परिवारमा केही पीडाबोध अवश्य हुन्छ । छुट्टिनु या एक्लो हुनुपर्दाको पीडा निश्चय नै कठिन हुन्छ ।

वैदेशिक रोजगारीले निम्त्याएको यस्तै पीडाका तस्बिर चलचित्र ‘आमा’मा देख्न सकिन्छ ।

गाउँमा भऱ्याङ उक्लिँदै गर्दा चिप्लिएर बुबा (देशभक्त खनाल) लड्न पुग्छन्, अनि टाउकोमा गहिरो चोट लाग्छ । गाउँमा कोही नहुँदा र अस्पताल नजिक नहुँदा आमा (मिथिला शर्मा)ले गाउँबाट काठमाडौं अस्पतालसम्म पुऱ्याउँछिन् । काठमाडौंमा छोरी आरती (सुरक्षा पन्त) र ज्वाइँ (मनिष निरौला) हुन्छन् । उनीहरूले उपचारमा सहयोग गर्छन् । पैसा सकिँदै जान्छ तर निको हुने छाँट देखिँदैन । छोरो वैदेशिक रोजगारीका लागि अमेरिका गएका हुन्छन् । उनी अमेरिकाबाट नेपाल आउन पाउँदैनन् । पारिवारिक बन्धनमा परेकी छोरीले जसोतसो हेरविचार गर्छिन् ।

बुबाको कमजोर स्वास्थ्य अवस्था अनि आमा दिनदिनै कमजोर हुँदै जानु । उनले भोग्ने हण्डर, ठक्कर अनि साहसमा केन्द्रित छ यो चलचित्र ।

चलचित्र आमामा कुनै ठूलो उतारचढाव छैन । मात्र एक महिनाको घटनाक्रमलाई सर्सर्ती देखाइएको छ । यसमा कुनै खलपात्र, द्वन्द्व, नायकको विजय, नाचगान या रोमान्स– त्यस्तो केही छैन । तर, यसको पटकथा यति सशक्त छ कि दर्शकलाई यसले गजबसँग बाँधिराख्छ, बाँधिराख्छ । पात्रमार्फत् निर्देशकले स्थापित गर्ने करुण चित्र बेजोड छ । मिथिला शर्मालगायत हरेक चरित्रको आ–आफ्नै ब्यथा छ, तर त्यो पोख्न आफ्ना मान्छे साथमा हुँदैनन् ।

मनको बह पोख्न भेन्टिलेटरमा राखिएका पति (देशभक्त खनाल) सामु मिथिला प्रस्तुत हुन पुग्छिन् । पति प्रतिक्रियाविहीन छन् तर उनको मन भने हल्का हुन्छ । शहरमा बसेर एक्लो अनुभूति गर्ने हरेकले उनको पीडालाई आत्मसात गर्न सक्छन् ।

‘आमा’ चलचित्रमा तीन आमाहरू छन् । एक, मिथिला शर्मा, जसको वयस्क छोरा आपत पर्दा पनि आफ्नो साथमा छैनन् । दोस्रो, सरिता गिरी जो भर्खर सुत्केरी भएकी छन् र उनको श्रीमान् वैदेशिक रोजगारीको लागि कतार गएका छन् । उनले आफ्नो छोरा जन्मनासाथ मेनेन्जाइटिस हुँदा छुनसमेत पाएकी छैनन् । तेस्रो, सुरक्षा पन्त जो निःसन्तान छिन् । उनलई आमा बन्ने तीव्र इच्छा छ तर शरीरले साथ दिएको छैन ।

हरेक आमाको पीडाको आयतन र स्वरुप फरक छ तर त्यसले दिने चोटचाहिँ समान छ । आमा हुन नसक्दा सुरक्षा पन्त विस्तारै अपहेलित र तिरस्कृत बन्न पुग्छिन् । बुबा इन्तु न चिन्तु भएर अचेत रहँदा पनि चाहनाअनुसार हरेक पल बुबाको साथमा हुन सक्दिनन् । किनभने बुहारी हुनुपर्दाको जिम्मेवारी र बन्धनमा उनी बाँधिन्छिन् । आफ्ना दायित्वहबीच उनी निथ्रुक्क भिज्न पुग्छिन् ।

निर्देशकको प्रथमिकतामा त्यति नपरेको पात्र हुन् सरिता गिरी । एकतिर उनी वैदेशिक रोजगारीको निम्ति कतार जान विवश आफ्ना पतिसँगको विछोड अनि छोरा जन्म दिएसँगै छोरामा उत्पन्न मेनेन्जाइटिस समस्याका कारण आफ्नो कोखबाट पैदा भएको नवजात शिशुलाई चुम्बन गर्न पनि पाउँदिनन्, अँगालोमा बाँधेर बच्चालाई ममताको धारा खन्याउन पाउँदिनन् । आफ्नो छोरा जीवन–मरणको दोसाँधमा हुँदा पनि उनका विदेशिएका श्रीमान् फर्कन सक्दैनन् ।

यस चलचित्रको पटकथा लेखेका हुन् दीपेन्द्र के. खनालले । उपयुक्त पात्र चयन र उनीहरूको समीकरण निर्माण प्रक्रिया जीवन्त लाग्दछ, तर सोही अनुसार कथाले गति लिँदैन । कथा एकै परिवेशमा घुमिरहन्छ, एउटै गतिमा कथा अघि बढ्दा पनि दर्शक चलचित्रबाट टाढिँदैनन्, बरु दर्शक कथाभित्रै डुबिरहन्छन् ।

अस्पताल भित्र र बाहिरका दृश्यलाई पनि बडो महत्व दिइएको छ ‘आमा’ चलचित्रमा । सिनेमा दृश्य–भाषा हो, यो सिर्जनशील माध्यम हो । र, हाम्रा आम चलचित्रमा खट्किने विषय पनि यही हो । तर, सधैं एउटै चटके शैली अपनाउने निर्देशकहरूले ‘आमा’ चलचित्रबाट सिक्नुपर्ने कुरा धेरै छन् । त्यसैले आम चलचित्र हेर्दा दर्शकलाई आँखाले हेर्दा मात्रै राम्रो लाग्छ, त्यसले हाम्रो मन र मस्तिष्कलाई कुनै प्रभाव पार्दैन । तर, आमा चलचित्र हेरिसक्दा पनि सिनेमाका तिनै पात्रहरू आँखैअघिल्तिर नाचिरहन्छन् ।

पात्रको मनोदशा बडो कलात्मक किसिमले चित्रण गरिएको छ ‘आमा’मा । पात्रको मनमा आँधी चल्छ, आँखाभरि आँशुको वर्षात् चल्छ, यस्तै मौसम पनि रुझिरहेको छ पात्रहरूको मनोदशा जस्तै ।

अस्पतालको बेडमा लम्पसार पतिको घडीको सुई घमिरहन्छ, यो रोकिन्छ कि भन्ने मिथिला शर्मालाई छटपटी हुन्छ । यसलाई चलचित्रमा बिम्बात्मक रूपमा दर्शाइएको छ । उनी छोरीसँग कुरा गर्न छोड्छिन् तर भक्कानिन्छिन् अनि छोराको बोली मात्र सुनिरहन्छिन् । फोनमा छोराको आवाजबाटै दर्शकको मन–मस्तिष्कमा यो चरित्र निर्माण हुन्छ ।

आरतीले मेनेन्जाइटिस भएको नवजात शिशुलाई रक्तदान गर्नु, एम्बुलेन्स चालकलाई अस्पताल पु¥याइदिन आग्रह गर्नु, सिकारु चिकित्सकको द्विविधापन जस्ता अनेक दृश्यले दर्शकमा अझ आँशु वर्षात् गराउँछन् ।

पात्रको मनोदशाको सुन्दर चित्रण खिच्नु र सोहीअनुरुपको रङमा परिवर्तन गर्नु निर्देशकको खुबी हो । यसको छायाँकार निर्देशक खनाल स्वयम् हुन् ।

यो फिल्म आमाको पात्रमा भूमिकामा मात्रै सीमित नभई यसले ‘सेतो कोट’भित्रको कालो कर्तुतलाई समेत उजागर गर्ने काम गरेको छ । मान्छेमा हराउँदै गएको मानवीय संवेदना चित्रित गरिदिएको छ । सबै डाक्टर खराब हुँदैन भन्ने चित्रण एक युवा चिकित्सकमाथि गरिएको छ । अस्पतालले मेडिकल्ली डेथ भइसकेपछि पनि भेन्टिलेटरको सहायताले फोक्सोले सास फेरेको देखाएको मात्र हो भन्दै एक युवा डाक्टरले आमा मिथिला शर्मालाई जानकारी दिन उचित सम्झन्छन् । डाक्टरमा नैतिकता हुनुपर्छ भन्ने अभिव्यक्ति नयाँ डाक्टरको चरित्रमा पाइन्छ ।

मिथिला शर्माको अभिनय जीवन्त छ । सुरक्षा पन्तको अभिनय पनि जीवन्त नै हो तर उनको हाउभाउमा अलिक बढि रुखोपना राखिँदा कृत्रिम बन्न पुगेको छ, घरिघरि ।

अनि, सानो या छोटो भूमिकामा पनि सजिव अभिनय गर्न पुगेकी छन् सरिता गिरिले । छोटो रोलमा अभिनय गर्न नचाहने अभिनेत्रीका लागि उनको चरित्र र अभिनय उदाहरणीय छ । चलचित्रमा सानो भूमिकामा पनि निकै सजिव अभिनय गर्न र दर्शकको हृदयमा गहिरो छाप छोड्न सकिन्छ भन्ने यो गतिलो उपमा पनि हो ।

यस चलचित्रमा एक महिनाको घटनाक्रमलाई अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ । यसमा प्रयोग गरिएका बोलीचालीकै भाषाशैली अनि सजिव अभिनय तारिफयोग्य छ । फगत यसैको निरन्तरता र यसका सामान्य कमी–कमजोरीलाई आगामी दिनमा हटाउन सके दीपेन्द्र के. खनाल उत्कृष्ट पटकथाकार र अब्बल निर्देशकका रूपमा नेपाली चलचित्रको इतिहासमा रहिरहने निश्चित नै छ ।

प्रतिक्रिया