सत्ता-दोहन र यदुवंशी झगडा

सत्ता-दोहन र यदुवंशी झगडा


■ आरपी पाठक

द्वापरयुगमा भगवान् श्रीकृष्णको चकचकी देखेर धेरै लालायित पनि थिए । अधिकांशले लाभ उठाए, धेरैले मोक्ष पाए, हेपिएका उठे, अन्याय गर्नेको विधिवत् अन्त्य भयो । धेरैका लागि श्रीकृष्णको व्यक्तित्व आफैँमा भगवत् प्राप्ति थियो भने केहीका लागि नकारात्मक साबित भयो ।

संसारको नियम र कालको नियति नै यस्तै छ । उज्यालोसँगै अँध्यारो पनि पछि लागेको हुन्छ भन्नेमा दुईमत नरहला । राज्य हरण भएर अन्यायमा परेका पाण्डवहरूले राज्यसत्ता पाए । कृष्णका वचन पालना गर्ने र उपदेश मान्नेहरूले पछुताउनुपरेन ।

भनिन्छ, कृष्ण आफैँ धामी आफैँ बोक्सीको भूमिका सहजै निर्वाह गर्न सक्ने चरित्रका थिए । विधिले कृष्णलाई जगतगुरु त बनायो, तर तिनै कृष्णका छपन्नकोटी यदुवंशीले कृष्णको वचन रत्तिभर पालना गर्दैन थिए । किनकि कृष्ण अरूका लागि जगत्गुरु भए तापनि परिवार र आफन्तका लागि पिता, परपिता, बन्धु र बान्धवभन्दा माथि परिवारको मानसपटलमा रहन सकेनन् । सकून् पनि कसरी ? कसैले माने मात्र जजमान हुने हो, नमाने केको जजमान !?

दर्जीको कट्टु फाटेको हुन्छ भने विश्वकर्माको भाँडो प्वाल परेको । यस्तै साबित भए भगवान् श्रीकृष्ण । उनका सन्तान–दरसन्तान एकदिने वनभोजमा आपसी घमण्डका कारण एक–आपसमा लडेरै मारिए । यता कृष्णको शहर द्वारका समुद्रमा विलीन भयो । अन्तमा श्रीकृष्णको पनि सामान्य व्याधाको वाणको कारणले देहावसान भयो । विक्षिप्त आत्माको श्राप र समयको नियति यस्तै हुने रहेछ ।

कार्लमाक्र्सको द्वन्द्ववादले पनि कुनै पनि भौतिक चिजवस्तुको अन्त्यको कारण उसैभित्रको अन्तरनिहित गुणका कारण मात्र सम्भव छ र बाहिरी तत्व निमित्त मात्रै हो भनेर व्याख्या गरिएको छ । कार्लमाक्र्सको जन्म हुनुभन्दा हजारौँ वर्षअघिको पूर्वीय दर्शनले यसको पुष्टि गरिसकेका कारण हामी कार्लमाक्र्सभन्दा अघि हुनुपर्ने हो । तर, तिनैको दर्शनलाई अङ्गीकार गर्ने हुन् वा अन्य कुनै राजनीतिक दर्शनलाई लिएर राजनीतिलाई पेसा बनाउने सबैको नियति उही छपन्नकोटी यदुवंशीको हविगत हुने छनक देखापरिरहेको छ ।

नेपाल भूमिका राजा–रजौटादेखि राणा, राजा हुँदै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रवादीसम्म आइपुग्दा आफैँभित्रको अन्तरद्वन्द्वको उचित व्यवस्थापन गर्न नसकेकै कारण द्वापरयुगीन छपन्नकोटी यदुवंशीको जस्तो हालत देखापर्दै छ भनियो भने पङ्क्तिकारको आलोचना हुनुभन्दा अगाडि देशको राजनीतिक वस्तुस्थिति मूल्याङ्कन गरियोस् । गणतान्त्रिक महाभोजमा सहर्ष समावेश भएका सबैजसो राजनीतिक दलहरू जनताको नजरबाट खुइलिसकेका छन् । आजको दिनसम्म आइपुग्दा गणतान्त्रिक पियूषले जनताको प्यास बुझेको हुनुपर्ने हो, तर त्यसो हुनुको सट्टामा जनता फेरि अर्काे वैकल्पिक राजनीतिक व्यवस्थातिर सोचमग्न हुन थालेको महसुस हुँदै छ ।

त्यो गणतान्त्रिक महाभोजको आयोजना सानातिना योगदानले भएन होला । यस्ता आयोजना सितिमिति चिताइएन पनि होला । तर, आउन नपाउँदै यसप्रतिको वितृष्णा जनमानसमा यतिबिघ्न किन उल्झियो आजसम्मको मूल र महाप्रश्न यही नै हो । यो महाभोजको सिर्जना होस् भन्ने नै जनताको चाहना थियो कि ? या त जनताले नचाहेको आयोजना भएको थियो ? यसको जवाफ जनताले दिनुभन्दा अगावै नेतृत्वले पुष्टि गरिसक्नुपर्ने थियो । अब ढिला हुँदै छ ।

अब महाभोज सक्नेले लुटेरै खाइसक्यो, नसक्ने भोकै चुर्मुराइरहेको छ । भोको पेट र नाङ्गो आङ लिएर बाँकी रहेकाहरूले सहभागिता मात्रै जनाइनरहलान् । अब त्यही गणतन्त्रको मुशल घोटिएको लौहजलबाट स्पातरूपी अस्त्र समयको बगर र बालुवामा पलाइसकेको छ । भाग नपाएका अधिकांश वनभोजेहरू लड्न तयार भइसकेको अवस्थामा अघाएर बलिया भएकाहरू युद्धको सामना गर्न तम्तयार भइसकेको अनुभव हुँदै छ । ढिलोचाँडो भोजमा युद्ध सुनिश्चित भइसक्यो । किनकि मादकपदार्थको भाँडोसमेत रित्तिइसकेको छ । अब कृष्णको उपदेशले भन्दा छपन्नकोटी यदुवंशीको अहमताले जग बसालिसकेको छ । कृष्ण हेरिरहलान् छपन्नकोटी यदुवंशी एक–आपसमा लडेरै समाप्त हुने लक्षण देखिँदै छ । जय होस् !