सुनियोजित रुपमा विद्यार्थी गिरफ्तार गरिएको कांग्रेसको आरोप

सुनियोजित रुपमा विद्यार्थी गिरफ्तार गरिएको कांग्रेसको आरोप


शान्तिपूर्ण प्रदर्शनमा रहेका नेपाल विद्यार्थी सङ्घका नेता, कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै नेपाली कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा दुई विद्यार्थी समूहबीचको सामान्य विवादलाई मिलाउन क्याम्पस प्रशासनले दुवै समूहका प्रतिनिधिलाई क्याम्पसमा बोलाएको अवस्थामा क्याम्पस परिसरबाटै नेवि सङ्घका रोशन हमाललाई प्रहरीले सुनियोजित रुपमा गिरफ्तार गरेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

नेवि सङ्घले बिनाकारण गिरफ्तार गरिएकोमा विरोध जनाउँदै हमालको रिहाइको माग गरी गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा जथाभावी बल प्रयोग गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयभित्रै प्रवेश गरी सुरक्षाकर्मीद्वारा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गरी सख्त घाइते बनाएको र विष्णु पहारी, सुमन विमली, निर्दोषविक्रम पौडेल, असिम सुवेदीलगायतलाई गिरफ्तार गरेको विज्ञप्तिमा जनाइएको छ ।

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि प्रहरीले हस्तक्षेप गरेको आरोप लगाउँदै कांग्रेसले उक्त घटनाको निन्दा र भत्सर्ना गरेको छ । कांग्रेसद्वारा घाइते विद्यार्थी नेताहरुको उपचारको व्यवस्था गर्न र गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाइ गर्न माग गरिएको छ ।

ज्ञातव्य छ, सत्तारुढद दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनबीच पोखराको पृथ्वीनारायण क्याम्पसमा गत ८ गते झडप भएको थियो । दुवै विद्यार्थी संगठनले उक्त घटनामा आफू निर्दोष रहेको र अर्को पक्षको ज्यादतीका कारण घटना भएको आरोप लगाउँदै आएका छन् ।