बन्दीपुरको मुकुन्देश्वरी क्षेत्रमा ‘ग्रेटवाल’ निर्माण आरम्भ

बन्दीपुरको मुकुन्देश्वरी क्षेत्रमा ‘ग्रेटवाल’ निर्माण आरम्भ


तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले पहल थालेको छ । ऐतिहासिक महत्व बोकेको उक्त ठाउँलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ गाउँपालिकाले मुकुन्देश्वरी डाँडामा उत्खननका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको हो ।

पुरातात्विक विभागको सहकार्यमा मुकुन्देश्वरी डाँडाको संरक्षण र उत्खननका लागि सम्भाव्यता अध्ययन थालिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिएका छन् । उक्त ठाउँको सम्भाव्यता अध्ययनका लागि विभागका मन्जुसिं भण्डारीको नेतृत्वमा टोली बन्दीपुर पुगेको छ । सो टोलीले आइतबार (११ फागुन) त्यस क्षेत्रको स्थलगत अवलोकन गर्दै तथ्याङ्क सङ्कलन र सर्भे गर्ने काम शुरुआत गरेको थापाले जानकारी दिएका छन् ।

मुकुन्द सेन राजाले शासन गरेको यस ठाउँको महत्वलाई प्रचारप्रसार गर्न र संरक्षणका लागि उत्खनन गर्ने कामको थालनी गरिएको बताउँदै अध्यक्ष थापाले विभागको टोलीले बन्दीपुर गाउँपालिका–५ स्थित चन्द्रकोट र हुस्लाङकोटको पनि स्थलगत अध्ययन गर्ने र गाउँपालिकाले चन्द्रकोटमा गढी निर्माण गरिसकेको समेत जानकारी दिए ।

‘बन्दीपुर गण्डकी प्रदेशको राजधानी पोखरापछिको दोस्रो पर्यटकीय गन्तव्य हो, यहाँ आउने पर्यटकलाई भुलाइ राख्नका लागि नयाँ–नयाँ गन्तव्य पहिचान गर्न लागिएको छ, त्यसकै लागि मुकुन्देश्वरी क्षेत्रको उत्खननको प्रयास थालेका हौँ’, गाउँपालिका अध्यक्ष थापाको भनाई छ । राससले दिएको जानकारीअनुसार नेपाल भ्रमण वर्ष २०२० को अवसरमा उक्त क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक त्यस ठाउँमा भित्र्याउने सो गाउँपालिकाको योजना छ ।

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । यस ठाउँमा मुकुन्देश्वरी मन्दिर पनि छ । गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि पदमार्ग पर्खाल निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ ।

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । गत आर्थिक वर्षमा दश लाखको लागतमा ३०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र चालु आवमा ६० लाखको लागतमा एक हजार ३०० मिटर पदमार्ग पर्खाल निर्माण गरिनेछ । करिब तीन किलोमिटर दूरी रहने उक्त पदमार्ग पर्खाल निर्माणका लागि करिब दुई करोड बजेट अनुमानित गरिएको छ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । पदमार्ग पर्खालले राजा मुकुन्द सेन बसेको ठाउँको प्रचारसँगै बन्दीपुरको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास अध्यक्ष थापाले प्रकट गरेका छन् ।

pict: rss