वाग्मती प्रदेशका ज्येष्ठ पत्रकारलाई पेन्सन योजना

वाग्मती प्रदेश सरकारले पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको छ । वाग्मती प्रदेश सरकारको प्रेस रजिस्टारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिने व्यवस्था शुरु गर्ने लागेको हो ।



वाग्मती प्रदेशका ज्येष्ठ पत्रकारलाई मासिक तीन हजारका दरले पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको प्रेस रजिस्टारको कार्यालयले जनाएको छ । पेन्सनका लागि सरकारले १५ लाख बजेटसमेत छुट्याइएको बताइएको छ ।

त्यस्तै, दुर्घटनामा मृत्यु भएका पत्रकारलाई ५० हजार आर्थिक सहायता दिने कार्यविधिसमेत पारित भएको प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिनुभयो । ‘दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई ३० हजार दिने र क्यान्सर तथा मिर्गौला रोगबाट पीडित पत्रकारलाई ७५ हजारसम्म सहयोग गर्ने योजना सरकारले अगाडि सारेको छ’, उहाँले भन्नुभयो, ‘सुत्केरी पत्रकारलाई प्रोत्साहनस्वरुप ३० हजारका दरले चार वटा फेलोसिप दिने योजना पनि प्रदेश सरकारको छ ।’

प्रेस रजिस्टारको कार्यालयबाट हालसम्म करिब सय पत्रकारले परिचयपत्रसमेत प्राप्त गरेको बताइएको छ ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले पत्रकारको हकहितका लागि कानून निर्माणका साथै विभिन्न कार्याक्रम ल्याएको जानकारी दिनुभयो । राससले दिएको जानकारीअनुसार प्रदेश सरकारले पत्रकार कल्याणकरी कोषको स्थापना गर्ने तयारी गरेको मन्त्री जमरकट्टेलको भनाई छ ।

प्रतिक्रिया