एमसिसी कार्यदलले प्रतिवेदन बुझायो : नसच्याई संसदबाट अनुमोदन नगर्न सुझाव

एमसिसी कार्यदलले प्रतिवेदन बुझायो : नसच्याई संसदबाट अनुमोदन नगर्न सुझाव


मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले शुक्रबार (९ फागुन) अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।

कार्यदलका संयोजक एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल तथा सदस्यद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाललाई उक्त अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

नेकपाको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।

दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाई थप दश दिन माग गरेको थियो । कार्यदलको गत माघ २९ गते नै समय सकिएको थियो । पछि नेकपाले थप दश दिनको समय थपेको थियो ।

ज्ञातव्य छ, कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता जस्ताको तस्तै पास गर्न नहुने, संसदबाट अनुमोदन गर्नुअघि यसका कतिपय बुँदा सच्च्याउनुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिएको बुझिएको छ ।