संस्कृति जोगाएरै सम्पन्न बनेको छ जापान

संस्कृति जोगाएरै सम्पन्न बनेको छ जापान


■ मोहनप्रसाद खतिवड, टोकियो (जापान)

हरेक वर्ष शिवरात्रिको दिन पशुपतिमा विशेष मेला लाग्ने गर्दछ। यस वर्ष पनि लाग्यो । महाशिवरात्रीको अवसरमा भारतबाट आउने नागा बाबाहरुलाई लिएर हरेक वर्ष नेपालमा ठूलै बहस हुने पनि गर्दछ– ठीक या बेठिक भनेर ।

तर परापूर्व कालदेखि चलिआएका यस्ता सीमित अनि अमूल्य पर्वहरुको बारेमा यति धेरै बहस गर्नु त्यति खास नहुन पनि सक्छ । यसमा विकृति नफैलियोस् भनेर राज्यले सुरक्षा र सावधानी अपनाउनु त अति नै राम्रो पक्ष हो, तर यस्ता रितीरिवाज वा परम्परालाई जोगाइराख्नु चाँहि राज्यको गम्भीर दायित्व पनि हुन आउँछ।

सन्दर्भलाई कोट्याउने हो भने सामाजिक सञ्जालमा भाइरल भएको एउटा विषय जोड्न मन लाग्यो । जेलमा परेका आफ्ना बाबुलाई एउटी छोरीले आफ्नै स्तन चुसाई बाबुमाथिको प्रेम देखाएर जीवनदान दिएको उदाहरण त त्यति पुरानो विषय बनेको छैन । अनि एऊटी बेस्या स्त्रीले आफ्नो कामुकता प्रदर्शन गर्न खुल्ला गरेको सर्टका बटनबाट देखिएको वक्षस्थल अनि एऊटी निर्दोष आमाले सन्तानलाई स्तनपान गराउँदा देखिएका उनका स्तनहरुलाई कसरी एउटै तराजुमा जोख्न मिल्ला र ?

परम्परा र मान्यतालाई बचाउनु आजको नेपालको लागि अपरिहार्य आवश्यकता हो । हामी आधुनिकताको खोल ओढेर आफ्ना निकै लोभलाग्दा अनि महत्वपूर्ण परम्परालाई भुल्न खोज्दैछौँ, जो भावी सन्ततिका लागि दुष्कर या खराव परिणाम सावित हुनेछ ।

यसै संस्कार परम्पराको सन्दर्भलाई यहाँनेर जोड्न चाहेँ कि जापानलाई संसारको अति विकसित मुलुकको रुपमा लिइन्छ, तर यहाँ विकासको नाममा आफ्ना पौराणिक संस्कृति, परम्परा या पुरातन चाडपर्व रितीरिवाजलाई मासिएको छैन । आफ्ना मौलिक परम्परा यहाँ विद्यमान छँदैछ । त्यसैले त भनिन्छ पनि कि जापान संस्कृतिलाई जोगाइ राख्ने मुलुक हो, जसले आधुनिकताको खोलभित्र आफ्नो परम्परा किमार्थ भुल्दैन ।

पशुपतिमा शिवरात्रिमा आयोजना हुने जस्तै प्रकारको मेला जापानमा कावासाकीको खानायामा भन्ने मन्दिरमा लाग्ने गर्दछ । जुन मेलाको मुख्य विशेषता नै पुरुषको उत्तेजित लिङ्गको पुजा तथा दर्शन गर्ने अनि सन्तान–सुखलाई लिने गरिन्छ । सन्तान नभएकाहरुले दर्शन गर्दा सन्तानसमेत प्राप्त हुने र त्यस पर्वका दिन विभिन्न मिष्टान्न परिकार पनि लिंगको आकारमा बनाइने गरिएको बताऊँछन् चिवा मुवारा निवासी एक जापानी नाकामुरा ।

देश जतिसुकै विकासको गतिमा पुगे पनि आफ्नो परम्परा रितीरिवाज संस्कार त्याग्नु हुन्न, पुराना मान्यता नै देशको सम्पति हो र देश चिनाउने पनि यिनै संस्कार मूल्य–मान्यताले हुन् भन्छिन जापान चिवा इचिहाराकी एक महिला कुनितो पनि ।