‘नेपाल’ नामप्रति सीके राउतको गम्भीर आपत्ति !

‘नेपाल’ नामप्रति सीके राउतको गम्भीर आपत्ति !


देश विखण्डनको आपराधिक सोच परित्याग गरेर राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आएको दाबी गरिएका सीके राउतले एकपटक फेरि देशविरुद्ध विष वमन गरेका छन् । राउतलाई नेपाल भन्ने नामसँग नै यति वैरभाव देखियो कि शहरको नाम नेपालगञ्ज राखेकोमा समेत उनले चरम आक्रोश प्रकट गरेका छन् ।

राउतले सामाजिक सञ्जालमा एक आक्रोशपूर्ण टिप्पणी लेख्दै भनेका छन्, ‘भूमि हमारी, जल, जमिन, जङ्गल हमारी, साधन–स्रोत हमारा, जनता हमारी, और नाम नेपालगञ्ज ? बाँके, बर्दिया, कैलाली, कञ्चनपुर कञ्चनपुर को तो नयाँ मुल्क कहा जाता है, और वह इसिलिए कि जिले सिर्फ डेढ सौं साल पहले ही नेपाल में जबरदस्ती जोड दिया गया । और आज वह भूमि नेपालगञ्ज हो गया… ?’

बाँके जिल्लाको हाल नेपालगञ्ज भनिएको स्थानमा पहिले खासै मानवबस्ती थिएन । जंगबहादुर राणाको समयमा बाँकेमा बडाहाकिम रहेका लेफ्निेन्ट कर्णेल सिद्धिमान राजभण्डारीले नेपालगञ्ज नामाकरण गरी त्यहाँ बस्ती बसाएका थिए । राजभण्डारीको यही कामबाट प्रसन्न भएर जंगले वि.सं. १९१८ मा उनलाई कर्णेल बनाइदिएका थिए । सुगौली सन्धिका कारण गुमेको भूभागमध्ये बाँके र त्यसदेखि पश्चिमको केही भूभाग जंगबहादुरको कूटनीतिक प्रयासबाट वि.सं. १९१६ मा नेपालले फिर्ता पाएको थियो । नेपालको भूभाग नेपालले फिर्ता पाउनु स्वाभाविक पनि हो ।

तर, सीके राउतले नेपालगञ्ज नेपालको स्वामित्वमा नभएको र नहुनुपर्ने आशयको गम्भीर आपत्तिजनक अभिव्यक्ति दिएका छन् । ‘एमसीसी अनुदान सम्झौता’लाई संसद्ले अनुमोदन गर्ने कि नगर्ने भन्ने बहस चलिरहेका बेला सीके राउतले नेपालविरुद्ध अभिव्यक्ति दिनुलाई अर्थपूर्ण मानिएको छ । एमसीसी अनुमोदनमा अनेक झमेला पैदा भएसँगै सीके राउतको नेपालप्रति आक्रोश पुनः उत्पन्न हुनुलाई संयोग मात्र मानिएको छैन । राज्यसँग बार्गेनिङ गर्ने टुल्सको रूपमा ‘स्थापित’ गरिएका राउतको भूमिकालाई समयमै व्यवस्थित गर्न सकिएन भने त्यसले थप सङ्कट निम्त्याउन सक्ने सम्भावना फेरि पनि देखिएको छ ।